रायन बर्ल र रहमान उल्लाहको अर्धशतकमा काठमाण्डौको विजयी सुरुवात

 असोज ९, २०७८ शनिबार १५:४३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा काठमाण्डौले ललितपुरलाई ७ विकेटले हराएको हो ।

साविक विजेता ललितपुर प्याट्रीयट्सले दिएको १ सय ५८ रनको लक्ष्य काठमाण्डौ १४ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो । काठमाण्डौका लागि रायन बर्ल र रहमान उल्लाह गुर्बाजले अर्धशतकीय पारी खेले । बर्लले अविजित ७३ रन र गुर्बाजले ५९ रन जोडे ।

काठमाण्डौका सुवास खकुरेल शून्य र अमित श्रेष्ठ ४ रनमा आउट भए । ललितपुरका पवन सर्राफले एक विकेट लिए । कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । ललितपुरका सर्राफले ६१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । यस्तै  योगेन्द्र सिंह कार्कीले ३३ रन जोडे । काठमाण्डौका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन बर्ल र गुलशन झाले २/२ विकेट लिए ।

कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन दिए भने शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट आजदेखि सुरु भएको हो । ६ टिमले खेल्ने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउनेछ ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया