एनभीए क्लब भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मीले कर्णालीलाई हरायाे

 असोज १०, २०७८ आइतबार १२:६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विभागीय टिम त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा बिहान भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो ।

जितसँगै आर्मीले पहिलो खेलमै ३ अङ्क जोडेको छ । कर्णालीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

अहिले दोस्रो खेलमा एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लब खेल्दै छन् । यस्तै, वाग्मती प्रदेश र गल्कोट स्पोर्ट्स क्लब दिउँसो १ बजे खेल्ने छन् भने दिउँसो साढे ३ बजे नेपाल पुलिस क्लब र दावाली मिलन क्लब खेल्ने छन् ।

महिलातर्फको खेल भने पर्सिदेखि सुरु हुनेछ । नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।

विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख रुपैयाँ पाउने छन् । तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार रुपैयाँ पाउने छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया