'माउन्टेन फ्लाइट' पछि शाहिद अफ्रिदीले भने– ‘सुन्दर, शान्त देशमा घुम्न पाउँदा खुसी लाग्यो’

 असोज १०, २०७८ आइतबार १६:२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेट खेल्न काठमाण्डौ आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदीले 'माउन्टेन फ्लाइट' मार्फत नेपालको हिम शृङ्खला अवलोकन गरेका छन् । यती एअरलाइन्सको जहाजमा अफ्रिदीले आज आइतवार बिहान माउन्टेन फ्लाइट गरेका हुन् । 

सुन्दर, शान्त हिमाली देश नेपालमा आएर पहिलो पटक पर्वतीय उडान गर्न पाउँदा आफूलाई खुसी लागेको र दृश्यावलोकनले रोमाञ्चित बनाएको अफ्रिदीले प्रतिक्रिया दिए । 

‘कोरोना भाइरसको जोखिम नेपालमा अत्यन्त कम रहेकाले ढुक्कसँग नेपाल घुम्न सकिने अनुभव मैले गरेको छु’, अफ्रिदीले भने । उडानपछि प्रतिक्रिया दिँदै उनले महत्त्वपूर्ण अवसर र आकर्षक दृश्यावलोकनका लागि यती एअरलाइन्स परिवार र चालकदललाई धन्यवाद व्यक्त गरे । 

अहिले हरेक आइतवार पर्वतीय उडानको सुरुवात गरे पनि यात्रुको मागअनुसार उडान सङ्ख्या र तालिका परिवर्तन हुने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।  

हिमाल चढ्न नसक्ने र ट्रेकिङ जान नसक्ने व्यक्तिहरूका लागि पर्वतीय उडान आकर्षक मानिन्छ । पर्वतीय उडानमार्फत यात्रुहरूले लाङटाङ, गौरीशङ्कर, मेलुङ्छे, चोयु, नुप्त्से, लोत्से, आमादब्लम, मकालु, सगरमाथालगायत विश्वका आठ वटा अग्ला हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यसप्रति यात्रुहरूको आकर्षण बढेको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया