गाँजाको बहुप्रयोग : औषधि मात्र नभएर पैसाको बोट

 असोज ११, २०७८ सोमबार ९:३१:५४ | शेर बहादुर तामाङ
unn.prixa.net

देशलाई समृद्ध बनाउने एउटा कोशेढुङ्गा हुन सक्छ गाँजा खेती । हामीले सबै अध्ययन र विश्लेषणका आधारमा गाँजा खेतीलाई वैधानिकता दिँदा राम्रो हुन्छ भनेर गाँजा खेतीको अभियान चलाएका हौँ । 

गाँजा सम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको छ । यसलाई वैधानिकता दिँदा कुनै पनि अन्तर्राष्ट्रिय कानुनले छेक्दैन । संयुक्त राष्ट्रसङ्घले पनि यसलाई हानिकारक लागुऔषध नभएर औषधीय गुणसहितको वनस्पतिका रुपमा स्वीकार गरेको छ । 

राजनीतिक गतिरोध कायमै रहे पनि संसद्बाट विधेयक पास गरेर गाँजा खेतीलाई वैधानिकता दिने गरी हामी अगाडि बढेका छौँ । नेपालको राष्ट्रिय कानुनले गाँजा खेतीलाई प्रतिबन्धित सूचीमै राखेको छ ।

हामीले यो कानुनलाई हटाएर नयाँ कानुन बनाउन खोजेका हौँ । यसैको लागि अभियान चलाउँदा अभियन्ता राजीव काफ्लेलाई राज्यले नियन्त्रणमा लियो । उहाँलाई नियन्त्रणमा लिनु आवश्यक नै थिएन । राष्ट्रसङ्घले गाँजालाई हानिकारक नभएको भनेपछि गाँजाको बोट फाँड्दै हिँड्नु पर्ने आवश्यकता रहेन । लागुऔषध प्रतिबन्ध ऐनले गाँजालाई प्रतिबन्धित सूचीमै राखेको छ । 

यसको संशोधन गर्नु पर्ने कारणले नै नयाँ कानुन बनाउनु पर्ने आवश्यकता अगाडि बढाएका हौँ । युरोप र अन्य देशहरुमा पनि किसानले गाँजाका लागि ठूला आन्दोलन गरेका थिए । धेरै आन्दोलन सफल पनि भए । नेपालमा भने यो क्रम भर्खर सुरु भएको छ । यसलाई वैधानिकता दिन हामी नियमको अवज्ञा गर्न पनि तयार छौँ । 

अहिले भएका कानुनलाई तोड्न र संशोधन गर्न धेरै अभियन्ताहरु सबै मिलेर मैदानमा उत्रिनु पर्ने हुन्छ । त्यसैले यो अभियान सफल हुँदा राजीव काफ्लेको नाम इतिहासका पानामा लेखिने छ । अब धेरै किसानले विद्रोह गर्नु पर्ने आवश्यकता देखिएको छ । हामी संसद्बाट सजिलै बिल पास भएर अगाडि बढ्न सकिन्छ भनेर कोशिस गरिरहेका छौँ । 

तर, सफल हुन नसके किसानहरु विद्रोहमा जानुपर्ने स्थिति आउन सक्छ । संसदमा दर्ता भएको विधेयक छिटो भन्दा छिटो पारित नभए हामी सामुहिक विद्रोहमा जानेछौँ । नेपाली किसान र नागरिकलाई धनी बनाउने उद्देश्यमा हामी लागि परेका छौँ । 

हामीले विधेयक दर्ता गर्दा गाँजा सेवनका कुरा उल्लेख गरेका छैनौँ । हामीले सेवनलाई अझै पनि प्रतिबन्ध लगाउनु पर्छ भनेका छौँ । तर खेती गर्न पाउनु पर्छ भन्ने हाम्रो माग हो । यसका धेरै गुणहरु छन् । तर, यसलाई नसाको रुपमा भने सेवन नगरौँ। नसाको रुपमा प्रयोग गरे पनि यसबाट हानी नहुने विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरिसकेको छ । गाँजामा यस्तो तत्व छ जस्को प्रयोगबाट बनेका औषधिहरु लामो समयसम्म प्रयोग गर्न सकिन्छ । 

अहिले गाँजामा रहेको तत्वबाट बनेका धेरै औषधिहरु बजारमा आइसकेका छन् । यसबाट खर्बौँको व्यापार वा व्यवसाय हुन सक्छ । नेपालका हरेक ठाउँमा गाँजा पाउन सकिन्छ । त्यसैले यसबाट खर्बौंको आम्दानी हुन सक्ने सम्भावना रहेको छ । यसकारण पनि गाँजाबाट आर्थिक क्रान्ति सम्भव छ भन्ने हाम्रो सोच हो । 

गाँजा खेतीको लागि चाहिने हावापानी नेपालमा छ । यहाँका हरेक ठाउँमा गाँजा खेती हुन सक्छ । अन्य देशहरुले ग्रिन हाउस बनाएर गाँजा उत्पादन गरिरहेका हुन्छन् । जस्ले गर्दा उनीहरुको उत्पादन मूल्य बढी हुन जान्छ । तर नेपालमा केही नगरि गाँजा उत्पादन हुन्छ । केही खर्च नलाग्ने हुनाले नेपालीहरुले राम्रो लाभ लिन सक्ने हाम्रो विश्लेषण रहेको छ ।

नेपालमा झण्डै चार अर्ब भन्दा बढीको कागज बाहिर बाट आयात हुने गरेको छ । देशभरि उत्पादन हुने गाँजाबाट कागज बनाउँदा चार अर्ब बराबरको कागज आयात रोकिन्छ । गाँजाबाट बनेको कागज टिकाउ र उच्च गुणस्तरको हुने गरेको छ । यसबाट कागज उद्योग चलाउन सकिन्छ । यसको रेसाबाट कपडा समेत बनाउन सकिन्छ । 

विश्व बजारमा गाँजाको रेसाबाट बनेको कपडाको महँगो मूल्यमा व्यापार हुने गरेको छ । यसबाट बनेका कपडा गुणस्तरीय हुन्छन् । देशभरि उत्पादन भएका गाँजा सङ्कलन गरेर राम्रा कपडा उत्पादन गर्न सकिन्छ । 

गाँजाको डाँठ, बाँस भन्दा बढी बलियो हुन्छ । जसको प्रयोगबाट फर्निचर र अन्य धेरै कुराहरु बनाउन सकिन्छ । जसलाई किराले पनि असर गर्न सक्दैन । हामीले नेपालको विकासलाई थुनेर राखेका छौँ । विकासको बाटो खुलाउन हामी अगाडि बढेका हौँ । त्यसैले सरकारले यो विधेयक छिटो भन्दा छिटो पारित गर्नु पर्छ । 

विश्वका ठूला र धनी राष्ट्रहरुका पक्षमा अन्तर्राष्ट्रिय कानुन बन्ने गर्छ । जस्ले गर्दा तेस्रो राष्ट्रले आफ्ना देशभित्रका प्राकृतिक स्रोतहरुलाई पूर्ण रुपले सदुपयोग गर्न पाएका हुँदैनन् । त्यही अन्तर्राष्ट्रिय कानुन अनुसार तेस्रो राष्ट्रहरुले आफ्नो कानुन बनाएका हुन्छन । यस्ता कानुनहरुलाई स्वीकार नगरे प्रतिबन्ध लगाउने धेरै अन्तर्राष्ट्रिय कुराहरु आई राखेका हुन्छन् । 

यस्ता कानुनहरु हाम्रो देशका लागि भने हानिकारक छन् । हामीले हाम्रा प्राकृतिक स्रोतहरुको पूरा उपयोग गर्न सक्यौँ भने कुनै देश भन्दा गरिब हुने छैनौँ । नेपाल धनी देश हो । हामी पनि धनी हौँ । ठूला देशहरुले आफू सम्पन्न हुन र अरु देशहरुलाई कमजोर बनाउन कानुन बनाएर पेल्ने गरेका कारण नेपाल पनि त्यसको चपेटामा परेको छ ।

कानुनले प्रतिबन्ध लगाएको कार्य गरेमा त्यसलाई अपराध मानिन्छ । अहिले गाँजा कानुन अनुसार प्रतिबन्धित छ । त्यसकारण गाँजा खेती अहिले गैरकानुनी मानिन्छ । गाँजा ओसारपसार गर्नु आपराधिक काम मानिन्छ । 

अपराधी ती हुन जो राज्यलाई छलेर कर नतिरी रातारात धनी हुन चाहन्छन । यसलाई खुला गर्नासाथ यसबाट राज्यले कर पाउँछ । राज्यले वैधानिक रुपमा खर्बौंको कर असुल गरेपछि यसलाई अपराध मानिन्छ र ? किसानले वार्षिक लाखौँ कमाएपछि यसलाई अपराध मानिन्छ र ?

नसाको रुपमा केही मानिसहरुले गाँजा सेवन गर्ने गरेका छन् । तर गाँजाको सेवन गर्नेहरु कुनै पनि आपराधिक गतिविधिमा संलग्न रहेको तथ्याङ्क पाइँदैन । गाँजा खाएकाहरु आक्रामक भएर कुनै पनि अपराधमा सहभागी भएको देखिँदैन । त्यसैले गाँजा सेवन गर्ने मानिसहरु आपराधिक कुरामा लाग्दैनन् । 

यो प्रमाणित कुरा हो । गाँजा खुला भएपछि केही मानिस सेवनतर्फ लागे पनि उनीहरु आपराधिक काममा लाग्दैनन् । गाँजा सेवन गर्नाले कुनै प्रकारको रोग लाग्दैन । गाँजा प्रयोग गरेर अपराध बढ्छ भन्ने गलत कुरा हो । गाँजालाई पर्यटनको क्षेत्रमा खुलाउन सके २/४ लाख नभएर २/४ करोड पर्यटक नेपाल भित्रिने सम्भावना रहन्छ । 

संसदमा यो विषयमा छलफल भयो भने सम्भवतः सर्वसहमत रुपमा पास हुनेछ । धेरै सांसदहरुले यस कुरामा साथ दिन्छाैँ भनेर भन्नु भएको छ । हरेक सांसदको जिज्ञासा यो विषयमै केन्द्रित रहेको छ । यसमा नागरिकको पनि समर्थन रहेको छ।

हामी छिटो भन्दा छिटो गाँजा खेतीलाई वैधानिक बनाउन चाहन्छौँ । तर राजनैतिक घटनाक्रमहरु सहज तरिकाले अगाडि बढिरहेका छैनन् । त्यसैले यसलाई संसदमा यो दिन छलफल हुन्छ, यो दिन पास हुन्छ भनेर भन्न सकिने अवस्था छैन । तर, पनि हाम्रो प्रयत्न जारी छ । यो वर्षको वैशाखदेखि यसको खेती सुरु गर्छौँ भनेर लागेका थियौँ । तर सबै सकारात्मक हुँदा पनि पास गरौँ भन्न सकिरहेका छैनौँ । दलहरु फरक भए पनि, दृष्टिकोण फरक फरक भए पनि सबैले मुलुककै समृद्धिको लागि काम गर्ने हो । त्यसैले फरक कित्तामा उभिनु पर्ने कारण छैन । यो गैरसरकारी विधेयक हुन्छ । सबैबाट समर्थन हुनेछ । 

यससँग सम्बन्धित कुराकानी बदलिँदाे नेपालमा सुन्नुहाेस् । 

(गाँजा खेतीलाई वैधानिक दिनुपर्छ भन्ने अभियानमा लागेका एमाले सांसद तामाङसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत १५, २०८०

शेर बहादुर तामाङ

शेरबहादुर तामाङ नेकपा एमालेका सांसद हुनुहुन्छ । 

1 Comments

  • अरुन खवास

    Sept. 28, 2021, 5:02 p.m.

    गाजा खायेर आज सम्म एक नि मान्छे मरेको छैन ।बरु जाड रक्सी बन्द गर नेपाल मा त्यो उत्तम हुन्छ तर गाजा खान देउ ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया