पद्मश्री साहित्य पुरस्कार ‘मोक्षभूमि’ उपन्यासलाई, पद्मश्री साधना सम्मान गायक भक्तराज आचार्यलाई

 असोज १२, २०७८ मंगलबार १०:५२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ले पाउने भएको छ । त्यस्तै पद्मश्री साधना सम्मान गायक तथा सङ्गीतकार भक्तराज आचार्यलाई दिइने भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिनु भएको थियो ।

मोक्षभूमि उपन्यासमा लेखक तथा राजनीतिक सामाजिक अभियन्ता केशव दाहालले आज भन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिञ्जा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गर्नु भएको छ ।

त्यस्तै पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्त्वपूर्ण योगदान पुर्याएका गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई दिइने निर्णय गरिएको छ ।

गायक तथा सङ्गीतकार आचार्यले १६ वर्षको छोटो अवधिमा दर्जनौँ कालजयी सिर्जना गर्नु भएको छ । क्यान्सर रोगका कारण जिब्रो काटिएपछि आचार्यको  गायनयात्रामा पूर्णविराम लागेको छ। पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशि तीन/तीन लाख रुपैयाँको रहेको छ ।

२०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिँदै आएको छ । त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नेे वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिँदै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन दिने आएकोमा यसपालि अनुकूल समयमा दिइने  खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया