दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्

 असोज १२, २०७८ मंगलबार १६:४३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

चाडबाड नजिकिँदै छ । विदेशमा रहेका तपाईँहरूले स्वदेशमा पैसा पठाउँदै हुनुहुन्छ होला ।  यदि पठाउँदै हुनुहुन्छ भने वैधानिक हिसाबले पैसा पठाउनुहोस् ।

कहिले काहीँ धेरै पैसा आउने आसमा पर्दा पठाएको पैसा घरसम्म नपुग्ने जोखिम हुन्छ ।

आफूले रगत पसिना बगाएर कमाएको रकम घरमा पठाउँदा सबैभन्दा पहिला त आफ्नो नजिकको एक्सचेन्ज हाउसबाट पठाउनुहोस् । एक्सचेन्ज हाउसबाट पनि विभिन्न तरिकाले पैसा पठाउन सकिन्छ । 

१. विदेशमा भए पनि नेपालमा भएको बैङ्क खातामा सिधै रकम पठाउन सकिन्छ । बैङ्क अकाउण्ड आफ्नो या परिवार जसको छ उनीहरूको खातामा पनि पठाउन सकिन्छ । यो सुरक्षित छ र सिधै बैङ्क खातामा रकम आउँछ । बैङ्क खातामा पटाउँदा बैङ्क अकाउण्ड, ठेगाना, मोवाइल नम्बर जस्ता कुराहरूमा ध्यान दिनुपर्छ ।

२. क्यास पिक अप । क्यास पिक अप अर्थात् तपाईँले विदेशबाट पठाएको पैसा तपाईँका आफन्तले विभिन्न रेमिटका काउन्टरमा गएर नगद नै हातमा लिने हो । नगदमा पैसा पठाउँदा पाउने व्यक्तिको नाम ठेगाना, नागरिकतामा भएको नाम नै उल्लेख गर्नु पर्छ । अर्को नाम भयो भने समस्या हुन सक्छ ।

३. मोबाइल वालेटमा पनि पठाउन सकिन्छ ।

सही तरिकाले पैसा पठाउनका विभिन्न फाइदा छन् । एक त तपाईँले कसैको भर पर्न पर्दैन । तपाईँलाई नेपालमा पैसा दिन्छु भनेको मानिस भाग्यो कि भन्ने डर हुँदैन । जब एक्सचेन्ज हाउसबाट पैसा पठाउनुहुन्छ त्यसको रेकर्ड पठाएको एक्सचेन्ज हाउसमा हुन्छ । हराउने, चोरी हुने डर हुँदैन । अर्को कुरा तपाईँको आम्दानी कतै लगानी गर्दै हुनुहुन्छ या घर जग्गा किन्नुभयो भने पनि भोलि आवश्यक परेको बखतमा तपाईँले आम्दानीको स्रोत देखाउन सक्नुहुन्छ ।  

तपाईँले विदेशबाट वैधानिक हिसाबले रकम देशमा पटाउँदा देशलाई पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा तपाईँले सहयोग पुर्‍याइरहनुभएको हुन्छ । तपाईँले पठाएको रकमको गलत प्रयोग पनि हुँदैन ।  

मेहनत गरेर कमाएको रकमको अरूले फाइदा उठाउन पाउँदैन । तपाईँको आम्दानीको स्रोत पनि खुल्छ र सहज रूपमा तपाईँको आफन्तको हातमा पुग्छ ।  भविष्यमा झमेलामा पर्ने सम्भावना पनि हुँदैन । 

(आइएमई रेमिटका यूएई प्रमुख उत्तम बस्नेतसँग गरिएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया