‘थ्री फेज’ लाइन विस्तारमा सहयोग गरिदिन गण्डकीका ऊर्जा मन्त्रीसँग लमजुङ फेदीकुनावासीको माग

 असोज १४, २०७८ बिहिबार १४:३६:३ | श्यामशितल परियार
unn.prixa.net

गण्डकीका ऊर्जा मन्त्री स्थानीयवासीसँग कुराकानी गर्नु हुँदै

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका ६ फेदीकुनाका बासिन्दाले ‘थ्री फेज लाइन’ विस्तारका लागि अनुरोध गरेका छन् । आज बिहीवार फेदीकुना आउनुभएका गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य समक्ष स्थानीयवासीले यस क्षेत्रमा ‘थ्री फेज’ लाइन विस्तारका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरण, मध्य मर्स्याङ्दी जलविद्युत् केन्द्रको कर्मचारी आवास क्षेत्र फेदीकुनामै पर्छ । फेदीकुना प्रभावित क्षेत्र रहेकाले पनि यहाँ ‘थ्री फेज’ लाइन विस्तारका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको फेदीकुनाका अगुवा गिरबहादुर तामाङले बताउनुभयो ।

‘थ्री फेज’ लाइन विस्तार हुन नसक्दा मिलका साथै विद्युतीय सामग्री सञ्चालनमा समस्या हुने गरेको र  लाइन विस्तार भएमा यस क्षेत्रका झन्डै एक सय ५० सय घरधुरी लाभान्वित हुने उहाँले बताउनुभयो ।

स्थानीयवासीको मागलाई सम्बोधन गर्दै मन्त्री आचार्यले नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखासँग यसबारेमा समन्वय गर्ने र मन्त्रालयमा छलफल गरी बजेट व्यवस्थापन गरी तयारी अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

‘तपाईँहरूको समस्या बुझ्न हामी गाउँ–गाउँमा आएका छौँ । समन्वय, छलफल गरी तत्कालै काम गर्ने तयारी गर्छाैँ’, उहाँले भन्नुभयो, ‘विद्युतका साथै खानेपानी, सिँचाइलगायतका अन्य योजनामा पनि तपाईँहरूसँग छलफल गरी विकास निर्माणमा सहभागी हुन्छौँ ।’ 

यस क्षेत्रमा ‘थ्री फेज’ लाइन विस्तार भएमा साना घरेलु उद्योग सञ्चालन गरी स्वरोजगार बन्न सकिने स्थानीयवासीले बताएका छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया