दशैँको बेला बसपार्कमा छैन भिड

 असोज २०, २०७८ बुधबार १०:३२:३३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डौ – कामकाज तथा पढाइको सिलसिलमा काठमाण्डौ उपत्यकामा बसोबास गर्ने धेरै जना दशैँ मनाउन गाउँघर जाने गर्छन् । दशैँमा घर फर्कनेको सङ्ख्या ठूलो हुने भएकाले सरकारले बसको अग्रिम टिकट बुकिङदेखि अनलाइन टिकेटिङसम्मको व्यवस्था गर्ने गरेको छ । 

पहिले–पहिले दशैँमा घर जाने यात्रुको चाप हेर्दा नयाँ बसपार्कमा मेला लागेझैँ लाग्थ्यो । तर, यस पटक भने गोङ्गबुको बसपार्कमा त्यस्तो भिडभाड छैन । 

पहिले दशैैँमा टिकट काउन्टरसम्म पुग्नै नसकिने र खुट्टा टेक्ने ठाउँ नै नहुने बसपार्क यस पटक होलो देखिएको छ । काउन्टरसम्म पुगेरै कसैले टिकट काट्छु भने पनि सजिलै सकिन्छ । बोल्नै फुर्सद नहुने टिकट काउन्टरका कर्मचारी पनि अहिले फुर्सदिला देखिन्छन् ।  

‘दशैँ लागिसकेपछि पनि काउन्टर खाली छ, कुरा गर्नेसम्म फुर्सद छ भनेपछि आफैँ बुझ्नुस् अवस्था कस्तो छ’, काउन्टरमा टिकट काट्न बस्नुभएका प्रचण्ड श्रेष्ठ भन्नुहुन्छ । 

पहिलेको तुलनामा बसपार्कमा भिडभाड एकदमै कम छ । कोरोना सङ्क्रमणका कारण धेरै मानिस पहिले नै गाउँ गएका कारण यस पटक बसपार्कमा भिड नदेखिएको हो । 

‘धेरैजसो स्कुल, कलेज बन्द भए । स्कुले विद्यार्थी परीक्षा सकाएर गाउँमा नै बसे । कोरोनाका कारण पहिले नै गाउँ गएका कारण पनि भिडभाड नभएको हुनुपर्छ’, श्रेष्ठ भन्नुहुन्छ । 

पहिला–पहिला बसपार्कमा टिकट काट्नकै लागि भनेर चार/पाँच घण्टा लाइन बस्नुपर्थ्यो । तर, अहिले भने काउन्टर नै खाली छन् । 

‘अहिले त दैनिक गुड्ने गाडीलाई पनि मान्छे छैन’, श्रेष्ठ भन्नुहुन्छ, ‘अन्तिम सिट, क्याबिन सबै खाली छ ।’

पहिले काउन्टरबाट दशैँकै लागि सात÷आठ लाख सङ्ख्यामा टिकट काट्ने गरिएकोमा अहिले दिनको एक लाख टिकट काट्न पनि मुस्किल रहेको भन्नुहुन्छ श्रेष्ठ । 

अहिले कलङ्की, कोटेश्वर, चावहिल, सुन्धारा, बौद्ध, जोरपाटीलगायतका ठाउँमा पनि टिकट काउन्टर छन् । काउन्टर खाली हुनुको एउटा कारण यसलाई पनि मानिएको छ । 

‘पहिले मान्छे–मान्छे धेरै भएर मान्छे ठोकिन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन’, श्रेष्ठ भन्नुहुन्छ । 

‘खासै गाह्राे छैन टिकट काट्न’ 

टीकापुर कैलाली जान लाग्नुभएकी रेजिना तिमल्सिनाले दशैँका लागि अग्रिम टिकट बुकिङ गरेको बताउनुभयो । 

‘अहिले यहाँ आएर हेर्दा काउन्टर नै खाली रहेछ, अचम्म लाग्यो । अग्रिम बुकिङ नगरेको भए पनि हुने रहेछ’, उहाँ भन्नुहुन्छ, ‘अहिले अफिसहरू पनि छुट्टी नभइसकेको तथा केही स्कुल बन्द नभएकाले पनि भिड नभएको हो कि !’  

इशा थापा प्युठान जानका लागि बसपार्कमा आउनुभएको हो । उहाँले काउन्टरमा नै आएर सहजै टिकट काट्नुभएको छ । 

बसपार्कमा भिड छैन भन्ने सुनेर अग्रिम टिकट नकाटेको भन्नुहुन्छ, थापा । साथै बसपार्कको व्यवस्थापन तथा अन्य कुरामा पनि सन्तुष्ट रहेको उहाँले बताउनुभयो । ‘घर पुग्न भने सात दिन लाग्छ । अब घर कसरी पुगिन्छ हेरौँ’, उहाँ भन्नुहुन्छ । 

कृष्ण लिम्बु झापा जान लाग्नुभएको हो । उहाँ काउन्टरमा नै टिकट काट्ने सोचका साथ बसपार्क आउनुभएको हो । ‘काउन्टर खासै भिड छैन, त्यस कारण पनि यहाँ नै टिकट काट्न आएको हो’, उहाँ भन्नुहुन्छ । 

‘कोरोनाका कारण त्यति भिड नभएको होला । बाटो बिग्रिएका कारण पनि पैसा हुने मान्छे सकेसम्म प्लेनबाट गइरहेकाले पनि भिड कम भएको हुनसक्छ’, लिम्बुले सुनाउनुभयो । 

यस्तै जंगबहादुर कँडारा दशैँ मनाउन जुम्ला जान लाग्नुभएको हो । उहाँले भने टिकट बुक गरे पनि चार दिनपछि मात्रै टिकट पाउनुभयो । ‘जुम्ला जाने गाडी हुँदैन भनेर अग्रिम टिकट काटेको हो, तीन दिन लाग्छ घर पुग्न’, कँडारा भन्नुहुन्छ । 

सफल लामा भने मुगु जान लाग्नुभएको हो । उहाँले अग्रिम टिकट काट्नुभएको हो । तर, टिक केही महँगो भएको गुनासो गर्दै उहाँ भन्नुहुन्छ, ‘सजिलो हुन्छ भनेर अग्रिम टिकट काटेको थिएँ, महँगो पर्यो । पहिले १२ सयमा गएकोमा अहिले १८ सय पर्यो ।’ 

बसपार्कमा पसल गर्ने राजेन्द्र थापा यसपालिको जस्तो सुनसान बसपार्क आफूले कहिल्यै नदेखेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिले–पहिले भए यहाँ थामिनसक्नु भिड हुन्थ्यो, हामीलाई पनि व्यापार गर्न भ्याइ–नभ्याइ हुन्थ्यो । अहिले त सुनसानजस्तै छ ।’   

अन्तिम अपडेट: बैशाख ६, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया