दशैँमा खर्च गर्दा यी कुरामा ख्याल गरौँ

 असोज २२, २०७८ शुक्रबार १२:३१:३८ | किरणकुमार श्रेष्ठ
unn.prixa.net

्परम्परागत शैली र मनाउने तरिकाले गर्दा पनि दशैँमा पैसाको काराेबार बढी मात्रामा हुने गरेको छ । 

टीकाटालो, नयाँ लुगा, घर सजाउने जस्ता कुराहरुमा हामीले धेरै खर्च गर्ने गरेका छौँ । तर हामीले हाम्रो आम्दानी हेरेर खर्च गर्नुपर्ने हुन्छ । फजुल खर्च नहुने गरी दशैँमा खर्च गर्ने गर्नुपर्छ । दशैँमा बच्चाहरुलाई खुशी पार्न उनीहरुले मागे अनुसारका कुराहरु दिनुपर्ने हुन्छ । यस्ता कुराहरुमा पैसाको बचत भन्दा पनि व्यावहारिक भएर हेर्नुपर्ने हुन्छ । त्यसकारण परिस्थिति अनुसार आफ्नाे बजेटको क्षमता अनुसार खर्च गर्नुपर्ने हुन्छ । 

हामीले हाम्रो क्षमता भन्दा बढी खर्च गर्छौँ भने त्यसले लामो समयसम्म समस्या सिर्जना गर्दछ । संस्कृति जोगाउँदै परम्परागत तरिकाले खर्च गर्नु पर्ने ठाउँमा खर्च गर्नु पनि पर्दछ  । 

आवश्यक कुरामा मात्र खर्च

आफ्ना नातागोताहरुमा खर्च गर्ने कुरामा हामीले नजरअन्दाज गर्नु हुँदैन । नयाँ लुगा किन्ने, मिठो खाने जस्ता कुराहरुमा खर्च नगर्न पनि सकिँदैन दशैँमा । यी सबै कुराहरुमा खर्च गरिरहँदा आफ्नाे क्षमता अनुसार खर्च गर्नु पर्दछ । कस्ता कुरामा खर्च नगर्ने, खर्च गर्नु पर्यो भने खर्च कसरी कम गर्ने भन्ने कुराको पनि ख्याल राख्नु पर्ने हुन्छ । 

हामीले हाम्रो संस्कृति जोगाउँदै अघि बढ्नु पर्छ । यसको लागि एउटा योजना बनाएर आफ्नाे मन र काममा लागू गर्न सके खर्च कम गर्न सकिन्छ । 

डिजिटल माध्यमको सीमित प्रयोग

पछिल्लो समय डिजिटल माध्यमको धेरै प्रयोग हुने गरेको छ । जसले गर्दा मुख्य सहरी क्षेत्रहरुमा काम गर्न धेरै सजिलो भएको छ । खल्तीमा पैसा बोकेर हिँड्न असुरक्षित र असहज हुुने गरेको छ । जसले गर्दा नयाँ पुस्ताहरु क्यासलेस समाजलाई मन पराउने र डिजिटल प्रविधिको प्रयोग गर्न रुचाउने भएका छन् । 

डिजिटल प्रविधिको प्रयोगले जुनसुकै कारोबार, व्यापार व्यवसाय र आफ्ना दैनिकीमा हुने सबै प्रकारका काम सहज ढङ्गले हुने गरेका छन् । बैंकिङ्ग  प्रणालीमा डिजिटल प्रविधिको प्रयोग धेरै नै अघि बढिसकेको छ । त्यसकारण अबका दिनहरुमा हामीले डिजिटल प्रणालीबाट बैंकिङ्ग कारोबार गर्नुपर्छ ।

हामीसँग खल्तीमा नगद पैसा नहुँदा, आफूसँग पैसै नभएको जस्तो महसुस हुने गर्दछ । तर आफूसँग एटीएम कार्ड छ भने जति बेला चाह्यो त्यति बेला पैसा निकाल्न सक्छौँ । तर, किनमेल गर्दा पैसाको बचत डिजिटल माध्यममा कम हुने गर्दछ । जति खर्च भए पनि आफूसँग पैसा छ भन्ने मानसिकता हुने भएकाले खर्च गर्दा एकदम ध्यान दिएर खर्च गर्नुपर्ने हुन्छ । अनलाइन कारोबार गर्दा आफूले प्रयोग गर्ने अनलाइन प्रणालीको बारेमा राम्रोसँग जानकारी लिनु पर्ने हुन्छ । 

अनलाइनबाट धेरै प्रकारका कारोबार हुने गरेका छन् । यसकारण यसको प्रयोग गर्दा कस्ता कम्पनीबाट सामान किनमेल गर्ने, त्यहाँ भएका सामानको गुणस्तर कस्तो छ र त्यसको मूल्य कति छ भन्ने कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ । यस्ता कुराहरुमा आफू विश्वस्त भएर मात्र कारोबार गर्नु पर्ने हुन्छ ।

अनलाइन कारोबार गर्ने सामग्री बोकेर हिँड्दा नगद बोकेर हिँडे जस्तो असुरक्षित होइँदैन । कहिलेकाहीँ कार्ड हराउने वा अन्य कुनै समस्या ने हुन सक्छ । 

कार्ड हराउँदा बैंकमा जानकारी दिनुपर्छ

त्यसो हुँदा आफूले कारोबार गर्ने बैंकमा सम्पर्क गरेर आफ्नाे समस्या टिपाउनु पर्छ ।

हराएको कार्डको कारोबार बैंकले बन्द गर्छ । त्यसपछि अन्य माध्यमबाट पुनः कारोबार गर्न सकिन्छ । त्यसकारण नगद बोक्दा जस्तो यो असुरक्षित हुँदैन । तर, आफ्नाे सामान हराए, चोरी भए  चुप लागेर बस्नु हुँदैन । त्यसो भयो भने आफ्नाे खाताको दुरुपयोग हुने सम्भावना बढ्न सक्छ ।

त्यसै गरी आफ्नाे पासवर्ड गोप्य राख्नु पर्दछ र एउटै पासवर्ड लामो समय सम्म राख्नु हुँदैन । अनलाइन कारोबार गर्दा यस्ता सुरक्षाका कुराहरुलाई ध्यान दिनु पर्ने हुन्छ । 

खामको प्रयोग

दशैँमा टीका लगाएपछि दक्षिणा स्वरुप नयाँ नोट दिने प्रचलन छ । त्यसको लागि अनलाइन पैसा पठाउने भन्ने कुरा त्यति व्यावहारिक हुँदैन । दशैँमा टीकाटालो गरिसकेपछि दक्षिणा दिन र अन्य पूजाआजाका काममा नयाँ नोट प्रयोग गर्ने हिसाबले वितरण गरिन्छ । 

पैसाको जतन गर्न यसलाई दशैँको टीकापछि खाममा हालेर दक्षिणा दिँदा रङ्ग लाग्ने सम्भावना कम हुन्छ । पूजाआजा गर्दा हामीले एकदम ख्याल राख्नु पर्ने हुन्छ । रङ्ग र पानीबाट यसलाई जोगाउनु पर्ने हुन्छ । त्यसैले खाममा राखेर पैसा दिँदा एकदम सुरक्षित हुने गर्दछ । तर बच्चाहरुलाई भने यो तरिका त्यति प्रभावकारी हुन सक्दैन । 

खर्चको हिसाब राख्ने

दशैँमा हुने हरेक खर्चको हिसाब राख्ने गर्नु पर्दछ । हिसाब राख्ने बानी भएन भने पैसा कमाउनुको कुनै अर्थ रहँदैन । आफूले जति सकिन्छ त्यति बचत गर्नुपर्छ । बचत भयो भने मात्र भोलि प्रयोग गर्न सकिन्छ । हामीले पैसा खर्च गर्छौँ तर खर्च भइरहँदा अर्को मानिसले जम्मा गरिरहेको हुन्छ । 

हामीले सामान किन्दा हाम्रो खर्च हुन्छ तर पसलमा पैसा जम्मा हुने भयो । यो लिने र दिने दोहोरो चलन पनि हो । दशैँमा पाएको दक्षिणालाई हामीले परिश्रम गरेर पाएको पैसाको रुपले सोच्दैनौँ । यस्ता सोचमा हामीले परिवर्तन ल्याउनु जरुरी छ । 

बचत गर्ने बानी

पैसा जसरी आए पनि त्यसको बचत गर्ने बानी बसाल्नु पर्छ । बचत नभए खर्च गर्ने  कुरा पनि हुँदैन । त्यसैले बचत गर्ने बानी बसालौँ र बच्चाहरुमा पनि यस्ता बानीको विकास गराउन सहयोग गरौँ । भोलिका दिनहरुमा यो बानीको रुपमा विकास हुँदै जानेछ ।

बचत गर्दा जुन पायो त्यही बचत संस्थाहरुमा पैसा जम्मा गर्नु पनि हुँदैन। नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त बैंकहरुमा नै पैसा बचत गर्नु पर्छ । पैसा जम्मा गरिसकेपछि ब्याजको पनि चासो लाग्ने गर्दछ । लामो समयसम्म प्रयोग नहुने पैसा हो भने मुद्दती निक्षेपमा बढी ब्याजमा जम्मा गर्न सकिन्छ । 

यदि बीच बीचमा प्रयोग गर्नुपर्ने पैसा हो भने ब्याज खातामा जम्मा गर्न सकिन्छ । जसमा बच्चा, महिला, वृद्धहरुमा लागि विभिन्न विशेष खाताहरुको व्यवस्था हुने गरेका छन् । पैसा जम्मा गर्दा पैसाको उपयोग हुने प्रकृतिलाई ध्यानमा राखेर बचत गर्नु पर्ने हुन्छ । 

त्यसैले बैंकबाट पाउन सकिने सेवाहरु बारे जानकारी लिनु पर्दछ । कुन कुन बैंकको ब्याजदर कति छ, कुन बैंक राम्रो वा नराम्रो भन्ने कुराहरुको बारेमा जानकारी लिनु पर्छ । यी सबै कुराहरु डिजिटल माध्यमबाट नै थाहा पाउन सकिन्छ । यस्ता सेवाहरुबारे घरमै बसेर टेलिफोनबाट पनि थाहा पाउन सकिन्छ । त्यसैले आफ्नाे पैसालाई बढी भन्दा बढी प्रतिफल आउने गरी र बढी भन्दा बढी सदुपयोग हुने गरी चलाउनु पर्छ ।

खर्चको जानकारी

आफूले बढी खर्च गरेको थाहा पाउनु नै सबैभन्दा ठूलो कुरा हो । बढी खर्च भएका विषयहरुमा के-के छन् भन्ने कुरा थाहा पाउनु पर्यो । त्यो कुरा थाहा पाएपछि अर्को पटक बजेट बनाउँदा ध्यान दिनु पर्छ । अर्को कुरा के भने आफूले गर्ने फजुल खर्चहरुमा पनि एकदम ध्यान दिनु पर्ने हुन्छ ।

हामीले पैसा कमाउन विभिन्न पेसा व्यवसाय गर्ने गरेका हुन्छौँ । पेसा व्यवसाय गर्दा अल्छी हुनु हुँदैन  । पेसामा आफूले रोजेको क्षेत्र नपाउन पनि सकिन्छ । तर, हामीले सुरुवात गर्नको लागि केही न केही त गर्नै पर्ने हुन्छ । केही नगरि आम्दानी हुँदैन, आम्दानी नभए बचत हुँदैन ।

(राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठसँगकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत १४, २०८०

किरणकुमार श्रेष्ठ

किरणकुमार श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकका सीईओ हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया