पाँच मुख्य राजमार्गसहित नाै वटा सडक अवरुद्ध : लगातारको पानीका कारण तत्काल खुलाउन समस्या

 कात्तिक ३, २०७८ बुधबार ७:४७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – निरन्तरको वर्षाले मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन् । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका गरी ९ वटा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका हुन् ।

सिन्धुली, म्याग्दी, दैलेख, जुम्ला, कैलाली, डोटी, अछाम, बझाङ, बाजुरालगायतका जिल्लामा यातायात सेवा प्रभावित भएको छ । जयपृथ्वी राजमार्ग, महाकाली राजमार्ग, धनगढी–डडेलधुरा सडक, कर्णाली राजमार्ग, वीपी राजमार्ग, नाग्मा–मुगु सडक, भीमदत्त राजमार्ग, चौखुट्टे–बाजुरा–अछाम सडक बन्द छ । बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सडक बगाउँदा कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड पनि अवरुद्ध भएको छ ।

लेउतीको बाढीले झण्डै २ सय मिटर सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दिपककुमार रायले बताउनुभयो । वैकल्पिक सडक बनाएर सडक खुलाउने प्रयास गरिएको पनि उहाँले जानकारी दिनुभयो । पूर्ण रुपमा बन्द भएका, आंशिक क्षति पुगेका र मर्मत गर्नुपर्ने सडकको काम तत्काल सुरु हुने सडक विभागले जनाएको छ ।

सडक खुलाउन सेना, प्रहरी र सडक विभागको टोली खटाइएको छ । निरन्तर पानी परेका ठाउँमा सडक खुलाउन समस्या भैरहेको विभागको मर्मत महाशाखाका उपमहानिर्देशक भिमार्जुन अधिकारीले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया