दशैँमा झन् धेरै दुर्घटना, दुर्घटना हुन नदिन के गर्ने ?

 कात्तिक ३, २०७८ बुधबार १५:५७:१५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै – दशैँको अवधिभर देशका विभिन्न ठाउँमा भएका दुर्घटनामा एक सयभन्दा धेरैको ज्यान गएको छ । ती दुर्घटनामा नाै सयभन्दा धेरै घाइते भएका छन् ।  

घटस्थापनाको दोस्रो दिन असोज २३ गते शनिवार सङ्खुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो । त्यही दिन सप्तरीको रुपनीमा जीपको ठक्करबाट एक जना बालकको ज्यान गयो ।

असोज २४ गते आइतवार स्याङ्जाकाे वालिङमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो भने १६ जना घाइते भए । त्यही दिन दैलेखमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो भने नाै जना घाइते भए । 

त्यस्तै  रोल्पा तथा रुकुम पश्चिममा भएको छुट्टाछुट्टै जीप दुर्घटनामा दुई जनाको ज्यान गयो भने तीन जना घाइते भए । दुर्घटनाको कारण थियो 'ब्रेकफेल' । 

असोज २५ गते अर्थात् फूलपातीको अघिल्लो दिन कास्कीको घान्द्रुकमा भएको जीप दुर्घटनामा काठमाण्डौबाट घुम्न गएका सातसहित आठ जनाले ज्यान गुमाए । त्यही दिन अछाममा भएको जीप दुर्घटनामा चार जनाको ज्यान गयो भने १३ जना घाइते भए । 

असोज २६ गते मङ्गलवार फूलपातीको दिन मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको ज्यान गयो भने १३ जना घाइते भए । त्यही दिन डडेल्धुरामा भएको बस दुर्घटनामा १६ जना घाइते भए ।

यस्तै असोज २९ गते टीकाको दिन गुल्मीमा भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गयो भने ६ जना घाइते भए । त्यही दिन ताप्लेजुङमा भएको जीप दुर्घटनामा १८ जना घाइते भए । 

असोज ३० गते मकवानपुरमा भएको जीप दुर्घटनामा चार जनाले ज्यान गुमाए । त्यसै दिन स्याङ्जाको गल्याङमा भएको जीप दुर्घटनामा पाँच जना घाइते भए । 

कात्तिक १ गते नुवाकोटको किस्पाङमा भएको बस दुर्घटनामा २० जना घाइते भए । त्यही दिन नवलपरासीको नवलपुरमा भएको अर्को बस दुर्घटनामा ४२ जना घाइते भए । 

दशैं अवधिभर सबैभन्दा धेरै दुर्घटना कर्णाली प्रदेशमा भएको छ । कर्णाली प्रदेशमा मात्रै ३७ जनाले ज्यान गुमाए भने ६४ जना घाइते भए । 

हरेक वर्ष दशैँकै बेला धेरै दुर्घटना हुने  गरेका छन् । गाडीमा क्षमताभन्दा धेरै यात्रु राख्ने गरेकाले दशैँ लगायतका चाडपर्वमा धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । एउटै गाडी धेरै सञ्चालनमा ल्याउँदा पनि दुर्घटना हुने गरेको छ ।

चाडपर्व तथा अन्य समयमा हुने यस्ता दुर्घटना रोक्न सम्बन्धित सबैको आ–आफ्नै जिम्मेवारी हुन्छ । दुर्घटना रोक्न चालक–सहचालक, यातायात व्यवसायी र यात्रुले के–के कुरामा ध्यान दिने त ? 

ट्राफिक प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासको सुझाव यस्तो छ :  

चालक–सहचालक 

सबैभन्दा पहिले चालकले मादक पदार्थ सेवन गरेर गाडी नचलाउने । चालक तथा सहचालकले गाडी गुडाउनु अगाडि आफ्नो गाडीको ब्रेकलगायत अन्य पार्टपुर्जा ठिक छ/छैन जाँच गर्ने । 

गाडीको भारवहन क्षमताभन्दा धेरै यात्रु नराख्ने । 

गाडी चलाउँदा मोबाइल फोनको प्रयोग नगर्ने, आफ्नो लेनबाट मात्र हिँड्ने गरेमा पनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । 

गाडीलाई अत्यधिक गतिमा नदौडाउने । छिटो पुग्ने नाममा हतारिएर अनावश्यक ओभरटेक नगर्ने । लामो दुरीमा यात्रा गर्दा तीन/चार घण्टा यात्रा गरिसकेपछि एकछिन आराम गर्ने । 

साँघुरो बाटोमा यात्रा गर्दा गति सीमित गर्ने । बाटोमा राखिएका ट्राफिक सङ्केत तथा नियमको राम्रोसँग पालना गर्ने । साथै यात्रामा अपनाउनुपर्ने नियम तथा सावधानीलाई के हुन्छ र भन्दै हेलचेक्रयाइँ नगर्ने । 

अत्यधिक खुशी वा मानसिक तनाव र अस्वस्थ भएका बेला चालकले गाडी चलाउने गर्नु हुँदैन । गाडीमा यात्रुसँग अनावश्यक कुरा नगरि ध्यान बाटोमा केन्द्रित गर्ने गर्नुपर्छ । साथै गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने पनि गर्नु हुँदैन ।

गाडी सडकको बीचमा रोकी अन्य गाडी चालकसँग कुरा गर्ने पनि गर्नु हुँदैन । 

सहचालकले अनावश्यक भिड हुने गरी यात्रु तथा सामान नराख्ने । चालकले गाडी चलाउँदा राम्रोसँग बाटो हेर्ने तथा गाडी ब्याक गर्नुपरेको खण्डमा ठाउँ पुग्छ/पुग्दैन हेर्ने । 

गाडी ब्याक गर्दा वर्षाले जमिन गलेका कारण भासिएर दुर्घटना हुन सक्ने हुनाले त्यस्ता कुरामा विशेष ख्याल गर्ने । सह–चालकले अनावश्यक कुरा गरी चालकको ध्यान अन्यत्र मोड्ने गर्नु हुँदैन । 

कोरोनाको जोखिम कायमै रहेकाले गाडीमा चढ्ने यात्रुलाई मास्कको प्रयोग गर्न लगाउने । गाडीमा स्यानिटाइजरको व्यवस्था गरेर गाडी चढ्नु अगाडि यात्रुलाई स्यानिटाइजर प्रयोग गरेर मात्र गाडी चढ्न लगाउने । 

व्यवसायी 

व्यवसायीले आफ्नो गाडीको अवस्था कस्तो छ हेरेर बेलाबेलामा मर्मत गराउने तथा चुस्त दुरुस्त राख्ने । गाडी ड्राइभरले चलाउने त हो नि भनेर ड्राइभरको भरमा छोड्दा दुर्घटना भइ स्वयम् व्यवसायीले पनि मानसिक तनाव तथा धनको नोक्सानी बेहोर्नुपर्ने हुन्छ । 

गाडीमा सुविधा तथा आरामदायी बनाउन आवश्यक उपकरण राख्ने । लामो दुरीमा यात्रा गर्दा दुई जना चालकको व्यवस्था गर्ने । एक जनाले पनि भइहाल्छ भनेर हेलचेक्रयाइँ नगर्ने । 

अग्नि नियन्त्रकलगायत प्राथमिक उपचारका सामान्य औषधिको व्यवस्था गर्ने । ड्राइभरले आफ्नो गाडी कसरी चलाउँदैछ, कहाँ लग्योलगायत जानकारी राख्ने गरेमा पनि ड्राइभरले गाडी जथाभाबी चलाउने गर्दैनन् । 

गाडी तथा यात्रुको बीमा गर्नुपर्छ ।

यात्रुको जिम्मेवारी

यात्रुले पनि गाडीमा चढ्दा आफ्नो अनुशासन कायम राख्नुपर्छ । गाडी चढ्दा अनावश्यक भिड नगर्ने । ठाउँ नै नभए पनि कोचिएर यात्रा नगर्ने । हतार छ भन्दैमा छतमा यात्रा नगर्ने । साथै ढोकामा झुन्डिएर पनि यात्रा नगर्ने । 

गाडीमा अनावश्यक हो–हल्ला नगर्ने । हो–हल्ला गर्दा चालकको एकाग्रता भङ्ग हुने डर हुन्छ । यात्रा गर्दा चालकलाई यो गीत र त्यो गीत लगाउनुस् भनेर चालकको ध्यान अन्यत्र मोड्ने काम पनि यात्रुले गर्नु हुँदैन । 

यात्रा गर्दा हतार भयो अलि छिटो गरौँ न गुरुजी भनेर चालकलाई गाडी दौडाउन दबाब दिने काम पनि दुर्घटनाको कारण हुन सक्छ । बरु चालकले तीव्र गतिमा गाडी चलाएको छ भने त्यसरी नचलाउनुस् भनेर सम्झाउने गर्नुपर्छ । 

चालकले गाडी ब्याक गर्दा गाडीबाट निस्किएर यसो गर्नुस् र त्यसो गर्नुस् भनेर नभन्ने । त्यसो गर्दा चालक अनावश्यक रूपमा झर्किने, रिसाउने गर्छन् । जसले गर्दा केही तनाव पनि सृजना भइ गाडी दुर्घटना हुने सम्भावना हुन्छ । 

गाडीमा चढ्दा टाउको, हातजस्ता अङ्गहरू झ्याल बाहिर ननिकाल्ने । साथै यदि चालकले रक्सी तथा लागुपदार्थ खाएकाे थाहा भएमा त्यस्ता चालकलाई गाडी चलाउन नदिने गर्नाले पनि दुर्घटना रोकथाम गर्न सकिन्छ । 

ट्राफिक प्रहरीको भूमिका

सम्भावित दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । चालकले रक्सी खाएकाे छ/छैन, गाडी तीव्र गतिमा चलाएको छ/छैन भन्नेबारेमा पनि ट्राफिक प्रहरीले ध्यान दिनुपर्छ । 

ट्राफिक नियमको पालना नगरि चालकले गाडी अगाडि बढाएमा उसलाई अघिल्लो स्टेशनमा कारबाहीका लागि आफ्ना सहकर्मीलाई खबर गर्ने गर्नुपर्छ । 

लामो दुरीका चालकलाई अहिले विश्रामस्थलको समेत व्यवस्था गरिएकाले यस्तो अवस्थामा चालकलाई तीव्र गतिमा गाडी नचलाउन अनुरोध गर्ने । 

साथै लामो दुरीमा एक जना मात्रै चालक भए वा शारीरिक थकान वा निद्रा आदि लागेको छ भने उसलाई गाडी चलाउन नलगाइ अर्को चालकको व्यवस्था गर्न लगाउने गर्नुपर्छ ।  

अन्तिम अपडेट: कात्तिक ३०, २०७८

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया