लुम्बिनी यात्राको तीतो भोगाइ

 कात्तिक ३, २०७८ बुधबार १३:१४:० | नीलकण्ठ तिमल्सिना
unn.prixa.net

फाइल तस्बिर

दशैँ नहुने भएपछि यसपटक पश्चिम तराई घुम्न जाने निधो गरियो । परिवारको लुम्बिनी घुम्ने इच्छा तथा नवलपरासीको भुताहामा बस्नुहुने माइलाबालाई भेट्ने उद्देश्यले पनि यात्रा तय गरिएको थियो । 

उसै त दशैँ । त्यसमाथि टीकाको दिन गाडी पाइने आश थिएन । त्यसैले तीन जनाको लागि भैरहवाको एकतर्फी टिकट काटियो । काठमाण्डौको बसाइमा पिङमा धर्ती नछोडेकाले यो रहर पूरा गर्न पनि चिसो धर्तीबाट आकाशिँदै भैरहवाको न्यानो धर्तीमा झरियो । 

झर्नुअघि जहाजमा बाहिर तापक्रम ३३ डिग्री रहेको जानकारी गराएको थियो । २०/२२ डिग्रीबाट झरेकालाई त्यसै पनि पसिना छुट्यो । 

विमानस्थल बाहिर गाडी पाहुना कुरेर बसेका थिए । तर, ती गाडीमा त्यति विश्वस्त हुन सकिएन । तर पनि जानै पर्ने थियो । मैले बसमा लुम्बिनी जाने कुरा बताएपछि उनीहरुले बस नचलेको र बस समात्नका लागि ७/८ किलोमिटर पर बुद्धचोक भैरहवा जानुपर्ने बताए । प्रचण्ड गर्मीले पसिना छुट्यो । अनि १ हजार भन्दै गरेको अटोवालालाई मोलमोलाइमा ८ सयमा मनाइयो । 

तर, लुम्बिनी जाँदै गर्दा ५० मिटर पर बाटोमा स्थानीय बसहरु सडकभरि भेटिए । अटोवाला १६ सयमा लुम्बिनी घुमाएर ल्याउने कुरा गर्दै थिए । उसको कुरोमा सहमति नजनाएपछि ऊ रिसाएर ५ नम्बर गेट भन्दाभन्दै १ नम्बर गेटमा छोडेर हुइँकियो । पछि भाडा बुझ्दा लुम्बिनी सम्म ५ सय र, घुमाएको बढीमा ६ सय रहेछ । त्यो पनि २० प्रतिशत मन्दिर मात्र खुलेका रहेछन् । 

लुम्बिनीमा करिब ३/४ घण्टा बिताएर हामी नवलपरासी जान भैरहवा फर्कियाै‌ँ । फेरि गाडीको हालत उस्तै । खचाखच भिड । कसैले स्वाथ्य मापदण्डको पालना गरेको छैन । माक्स लगाउने हामी तीन जनालाई अरुले घुरेर हेरेजस्तो लाग्यो । हेरे पनि ठीकै भो अनुहार चिन्दैनन् भन्ने लाग्यो । 

बस भैरहवाको बुद्ध चोकमा रोकियो । अब हामीसँग दुई विकल्प थिए । पहिलो परासी भुमही हुँदै भुताहा जाने । जुन दूरीको हिसाबले छोटो थियो । बुटवल हुँदै जाँदा झन्डै २०/२२ किलोमिटर बढी पथ्र्यो । एक जना बुज्रुकले पनि परासी हुँदै गए सस्तो पर्छ भनेर सुझाए । 

भैरहवा मेरा लागि नौलो शहर, भित्री ठाउँकाबारे अनभिज्ञ नै थिएँ । छोरी र श्रीमती पहिलो पटक आएका हुनाले मलाई हेर्दै थिए । मलाई ती बुज्रुगले देवकोटा चोकबाट परासी जाने गाडी पाइन्छ भनेका थिए । 

तर, टीकाको दिन भएकाले भैरहवा बजार पुरै बन्द थियो । १५/१६ किलोमिटर लुम्बिनीतर्फ भने सबै पसल खुलेका थिए । मानिसको निधारमा टीका थिएन । तर, भैरहवा पुग्दा भने सबैको निधारमा टीका तथा जमरा थियो । मलाई लाग्यो हाम्रो विविधता पनि गज्जब छ । 

घडीमा दिउँसोको तीन बजेको थियो । नगर बस देखिएकोले दौडेर देवकोटा चोक गइयो । सडकछेउको पानी पसल खुलेको थियो । आमा छोरीलाई त्यहीं छोडें । तर बुद्ध चोक र देवकोटा चोकको दूरी निकै रहेछ । बाहिरको चर्को घाममा २० मिनेट हिँडियो । 

एउटा बस पूर्वी भागतर्फ फर्किएको देखेँ । सडकको बीचमा महाकवि देवकोटाको सालिक थियो । काठमाण्डौको चिसोमा हुर्किएका देवकोटा यो गर्मीमा भने मदन भोट होइन लाहोर जाने कविता लेखेर बसेको जस्तो लाग्यो मलाई ।

सहचालकलाई गाडी कहाँसम्म जान्छ भनेर सोधेँ । उसले परासीसम्म भनेर उत्तर दियो । जुन २१ किलोमिटर टाढा थियो । तर, भुताहा जानलाई परासीबाट ७ किलोमिटर टाढा भुमही हुँदै अर्को गाडीमा ५ किलोमिटर जानुपर्ने बतायो । जाबो ३०/३२ किलोमिटर बाटोमा ३ वटा गाडी बदल्नुपर्ने के होला यस्तो भन्ने लाग्यो । 

गाडी पाँच मिनेट रोकिने बताएपछि श्रीमती र छोरी लिन म बुद्ध चोक जाने अटो खोज्न थालेँ । हतार भएका कारण एउटा अटो समातेर बुद्ध चोकतिर लागियो । अटोवालाले हरेक चोकमा रोक्दै पैदलको गति नै बनाए । छोरी मलाई फोन गर्दै रहिछ । छिटो अटोमा नबसे परासीको बस छुट्छ भन्दै हतार गरियो । तर, पहिलेको बस छुटिसकेको थियो । 

छिटो जाने चक्करमा अटो चढेको ५० को साटो २ सय रुपैयाँ तिरियो । बस ४ बजे जाने बताए सहचालकले । चार बज्दा नबज्दै हर्न मार्दै गाडी हिँड्यो । दश वर्ष पहिले विदेशी परियोजना अन्तर्गत बनेको सडक हुनाले राम्रो छ भन्ने थाहा थियो । तर गाडी भने यात्रु खोज्दै कछुवा गतिमा हिंड्न थाल्यो । 

गर्मीले गाडी अलि हुइँक्याए पनि हुन्थ्यो भन्ने लागेको रहेछ छोरीलाई । शहर कटेपछि हुइँकेला भन्ने लाग्यो । २१ किलोमिटरको बाटोलाई डेढ घण्टा लगाएर गाडी परासी पुग्यो । 

सहचालकले ७० रुपैयाँका दरले भाडा मागे । तीन जनाको २ सय दिएपछि उनले १० रुपैयाँ थप्न भने । हामी नयाँ भएकोले १० रुपैयाँ दिन भनें । उनी हाँसेर अरूसँग पैसा उठाउन लागे । उनी यो यात्रा भरिका राम्रा सहचालक लाग्यो मलाई । 

परासी पुगेपछि भुमहीको गाडी पाइन्छ भने पनि गाडी भने थिएन । लुगाफाटाको पोका भारी भएका कारण एउटा अटोवालालाई भुमहीसम्मको ७ किलोमिटरको भाडा सोधेँ । ५ सय तिरेर हामी भुताहा पुग्यौं । दुई रातको भेटघाट र बसाईपछि हामीलाई समयमै घर फर्कनु पनि थियो ।

३१ गते बिहान झिसमिसेमै हामी काठमाण्डौका लागि गाडी चढ्न भुताहा चोकमा गयौं । त्यहाँबाट सिधै काठमाण्डौसम्म आउने बसमा चढ्ने योजना थियो । तर हामीलाई छोड्न आएकी बहिनी गाडी नचढी फर्कन नमानेपछि उनलाई ढिलो होला भनेर नारायणगढसम्म भए पनि जाने विचार गरियो । 

सहचालकलाई  काठमाण्डौ जाने गाडी बाटोमा पाए त्यही गाडीमा राखिदिनुस् भनेर भनें । बरु यहाँसम्मको लागेको भाडा पनि दिन्छु भनें । यस कुराले उनले म नयाँ भएको संकेत पाइहाले । 

त्यसैले उनले ५ सय रुपैयाँ भाडा मागे । त्यति महँगो होइन होला भन्दा श्रीमतीले खुरुक्क ५ सय झिकेर दिँदै भनिन् – 'भो नबोलम\ । मेरो मनमा आज ठगियो भन्ने लाग्यो ।' 

एकजना बहिनी दुम्कीबासदेखि केही अगाडिबाट त्यही गाडीमा चढिन् । उनले गैँडाकोटसम्मको भाडा १ सय १० दिइन । उनले मलाई कहाँबाट आउनु भएको भनेर सोधिन् । मैले हत्तपत्त भाडा महँगो भएछ बहिनी भनें । बर्दघाट भन्दा केही अघि लगभग ५ किलोमिटर परबाट गाडी चढेको ५ सय रुपैयाँ लिए भनें । 

उनले बसले जति दियो त्यति लिन्छन् भनिन् । भाडा त ३ सय पनि हो कि होइन, त्यसैले मैले खुद्रा दिएको भनिन् । म पक्क परिरहें । श्रीमती निरीह बनिन् । अगाडिको सिटबाट मलाई पुलुपुलु हेरिन् । शायद लाग्यो होला नेपालीलाई नेपालीले ठग्छन् !

तीन दिनको चर्को गर्मी सहेर केही शितल महसुस गर्दै नारायणगढ पुगियो । दशैँ मानेर कर्मथलो फर्कने र आफन्तकोमा टीका थाप्न जानेको घुइँचोले सडकपेटी, खानेठाउँ, फलफुल पसलमा पालो कुर्नुपर्ने अवस्था थियो । 

१ सय २० देखि ३० रुपैयाँमा पाइने चकलेटी स्याउ ३ सयमा घाटा भयो भनेर ठेलावाला खुलेआम हतारका ग्राहकलाई ठगिरहेका थिए । सडक छेउछाउमा बिना भाडा बिना कर यसरी बस्नेले त ग्राहकलाई मर्का पर्ने गरी असुल गर्छन् भने महँगो भाडा तिर्नेले कति असुल गर्छन् होला भन्ने मनमा कुरा खेलाउँदै अगाडि बढियो ।

झोलामा काठमाण्डौको थोक बजारबाट झण्डै एक कार्टुन नै किनेर केही स्याउ बोकेकाले त्यस्तो उग्र कालाबजारीबाट केही राहत महसुस गरियो । बाटोमा दाई कता जाने हो यति पैसा उति पैसा भनेर अटोदेखि म्याजिक भेन अनि ट्याक्सीसम्म बाटो छेक्न आउँथे । 

पुल्चोकमा काठमाण्डौ जाने बस लागेको थियो । बाटोमा १ सय ५० को खाना ४ सय तिर्नु नपर्ला भन्ने सोचेर फेरि पुतली बजारतिर गयाैँ । पसल भने खासै खुलेका थिएनन् ।

स्वास्थ्यमा असर देखिन थालेपछि मैले बाहिरको खान छोडेको थिएँ । आफूले नखाए पनि श्रीमती र छोरीलाई खुवाउने निधो गरें । हुन त छोरीले चितवनको ‘भेटघाट’तिर आँखा नलाएकी होइनन् । ‘

भेटघाट’को तास धेरैले सुनेकै हुन्छन् । तर, मैले भने खाना खाउँ भनें । उनीहरुले त्यति ध्यान दिएनन् ।

विकल्पमा बिहानको खाना जेरी पुरी तरकारी दुई प्लेट अर्डर गरियो । तर, आधा घण्टापछि कामदारले जेरी छैन भने । एकजनाले आँटाको पुरी खाएको देखेर अर्डर गर्दा मैदाको भटुरा बोकेर पो आए । 

मैदाको भएकोले अर्को प्लेट मगाइएन । हामी फेरि बस लाग्ने ठाउँतिर दौडियौँ । 

हामी नारायणगढमा बस कुर्दा ४/५ जना युवा देखिए । ७ सयबाट भाडा मोलमोलाई भयो । कस्तो दलाली गरेजस्तो गरेको भनें । यत्तिकै रातोपिरो भएर झण्डै मसँग जाइलागेका । 

दशैँमा गाडी कम हुने कारण मैले अन्तमा ४ सय दिने कुरा गरें । सिट नभए पनि हुन्छ भन्दै राखियो हामीलाई । श्रीमती र छोरी ममाथि खनिँदै थिए । भाग्यवश पछाडि उभिएका मेरी श्रीमती र छोरीलाई दुई सज्जनले सिट खाली गरिदिएछन् । 

उनीहरु देवघाट तीर्थको लागि बर्दियाबाट आएको रे ! नजिक छ हामी ओर्लि भनेछन् । अगाडि उभिएको हुनाले मलाई पत्तो भएन । पोखरा बसपार्क पुगेपछि अघिको ४/५ जना दलाल भएको कुरो बुझियो । चालक बाहेक सबै जना नारायणगढ पुगेपछि गाडीलाई दलालको जिम्मा लगाएर लुक्दा रहेछन् । 

दलालले गाडीमा मान्छे भरुञ्जेल देखा नपर्ने अनि पोखरा बसपार्क छेउ पुगेपछि जनही २ सयदेखि ३ सय रुपैयाँ दलाललाई दिएपछि गाडीमा छिरेर दलालको भागसहित भाडा असुल्दा रहेछन् । त्यो पनि गाडीमा ढोका लगाएर दादागिरी शैलीमा ! 

जनही ४ सय भनेर चढेको मैले जुगेडी नपुग्दै ६ सय रुपैयाँ नदिइकन सुखै पाइनँ । २ सय  त दलालले लियो रे ! दाई के गर्ने तपाईँको परिवार त सिटमा हुनुहुन्छ ? मैले उभिएर जनही ६ सयका दरले १८ सय बुझाएँ । 

यसपालि श्रीमती पछाडि सिटमा हुनाले केही पत्तो पाइनन् । दशैँको भिडमा जुगेडीमा झरेर अलपत्र पर्नु भन्दा तिनै चालक दलको मुख हेर्दै आएँ । 

श्रीमतीजीले भाडा कति हो भन्दा अहिलेसम्म बताउन सकिएको छैन । चुप्प लागेर बाफल चोकतिर झरेर घरतिर लागियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

4 Comments

  • MANNY

    Oct. 22, 2021, 6:08 a.m.

    This is the real situation of Nepal... everywhere anywhere peoples are rude and corrupted....And the article is well written and brief. Thank you 🙏

  •  0 Reply
  • गोपाल ब्यञ्जनकार

    Oct. 20, 2021, 4:47 p.m.

    मस्ती होइन " स्सस्ती " चै भोग्नु भएछ है सर ! बाटोमा जुनखाले प्राणिहरु द्वारा सरले सास्ती भोग्नु भयो नि त्यो खाले प्राणिहरुलाइ त म मान्छे नै गन्दिन ! त्यसैले त्यस्तोखाले जन्तुहरुसङ्ग त कहिल्यै व्यवहार गर्न न परोस भन्छु !

  •  0 Reply
  • Sudeep Thapa

    Oct. 20, 2021, 3:43 p.m.

    बुद्ध जन्मेको देशमा दलालको जन्म भयो , अब हामी सबैले यसरी नै दु:ख पाउने हो / धन्य नेपाल सरकार !

  •  0 Reply
  • शालिकरामम

    Oct. 20, 2021, 2:37 p.m.

    सरल र सिलसिलेबार लेख छ । राम्रो लाग्गो

  •  0 Reply

तपाईको प्रतिक्रिया