कुन सडक बन्द, कुन सडक खुला ?

 कात्तिक ३, २०७८ बुधबार १९:३९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वर्षाका कारण देशभरका आठ ठाउँको सडक बन्द भएका छन् । पुष्पलाल राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, राप्ती राजमार्गलगायतका राजमार्गमा बाढी र पहिरोका कारण सडक बन्द भएको छ । 

पुष्पलाल राजमार्गअन्तर्गत ओखलढुङ्गाको हिलेपानी–जयरामघाट–हलेसी खण्ड र सिन्धुलीको खुर्कोट–घुर्मी खण्डको अक्करे भिर तथा सोखु खोलामा सडक बन्द छ । डुम्रे–बेँसीसहर–चामे सडक मनाङको विभिन्न खण्डमा बन्द छ ।

बझाङमा खोड्पे–चैनपुर सडक जालीबगर र नारुघाटमा र धनगढी–सहजपुर–बुडर सडक र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक पनि बन्द छ ।  

कालीकोटमा सुर्खेत तल्लो डुङगेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक विभिन्न ठाउँमा बन्द रहेको सडक विभागले जनाएको छ । 

गएको आइतवारपछि १२ ठाउँको सडक बन्द भएकामा अहिले चार ठाउँको सडक खुलाइसकिएको विभागले जनाएको छ । कोसी राजमार्गअन्तर्गत धनुकटामा लेती खोलामा ४० मिटर सडक कटान भएकोमा एकातर्फबाट खुलाइएको छ ।

राप्ती राजमार्गअन्तर्गत सल्यानमा अरिङ्गलेफेदीमा बन्द भएकामा एकातर्फबाट सञ्चालनमा आएको छ । सल्यानको कपुरकोट गाउँपालिकाले पहिरो सफा गरेपछि एकातर्फबाट चल्न थालेको हो । 

वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमेरे फाँटमा पनि एकतर्फी सडक खुलेको छ । भालुवाङ–लिवाङ रोल्पा माडीचौर दारबोट सडक प्युठानको गनाहा चकचके खण्डमा बन्द भएकामा अहिले खुलेको छ । 

यस वर्षको वर्षा सुरु भएपछि दुई सय ३८ ठाउँको सडक बन्द भएकोमा अहिले आठ ठाउँमा बन्द छ । एक सय ३४ ठाउँको सडक एकतर्फी र ९६ ठाउँको सडक पूर्ण रूपमा सञ्चालनमा आएका सडक विभागले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया