राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने

 कात्तिक ४, २०७८ बिहिबार ९:४७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ ।

केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिएकाले राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले हिजो जारी गरेको सूचनाअनुसार बैंकले आउँदाे कात्तिक ११ गते परिपक्व हुने १० अर्ब रुपैयाँ बराबरको रिपो बोल कबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ ।

बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् । बजारमा तरलताको अभावले बैंक तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन गर्न ब्याजदर बढाउन थालेका छन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अङ्कको ब्याजदर कायम गरेका थिए ।

त्यसरी बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर असाधारणरूपमा बढाएको भन्दै ब्याजदर व्यवस्थित गर्न राष्ट्र बैंकले अस्ति तीन बुँदे निर्देशन जारी गरेको थियो । बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ ।

गएको असोज २० गते बैंकले  २० अर्ब रुपैयाँ बराबरको १४ दिन अवधिको रिपो जारी गरेको थियो । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुनसकेको छैन ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया