‘अष्टलक्ष्मी शाक्यविरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो’

 कात्तिक ४, २०७८ बिहिबार १८:५२:४५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – नेकपा एकीकृत समाजवादी पार्टीका वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकाे छ ।

आज बिहीवार मुख्यमन्त्री शाक्यले पेस गर्नुभएकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता पाण्डेले मुख्यमन्त्री शाक्य अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेमा ३९ दिन भइसकेको बताउनुभयाे । 

मुख्यमन्त्रीमा प्रस्तावितसमेत रहनुभएका पाण्डेले संविधानतः सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताउनुभयाे । उहाँले वर्तमान मुख्यमन्त्री सत्तामा टाँसिएर बस्न खोजेको आरोप पनि लगाउनुभयाे । 

नेता पाण्डेले शाक्यलाई विश्वासको मत दिन नसकिने बताउँदै अब प्रतिगमनकारीहरूको चाँडै अन्त्य हुने बताउनुभयाे । मुख्यमन्त्री शाक्यले प्रतिगमनकारीकै पक्षमा उभिएर मुख्यमन्त्रीको भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले आफूहरू पनि प्रतिगमनकै पक्षमा रहेको भए मुख्यमन्त्रीलाई विश्वासको मत दिइन्थ्यो तर आफूसहितको गठबन्धन अग्रगमनको पक्षमा, यो व्यवस्था र संविधानको पक्षमा भएकाले विश्वासको मत दिन नसकिने प्रस्ट पार्नुभयाे । उहाँले भन्नुभयाे, ‘अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो ।’

आफूहरूले नै तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर शाक्यलाई प्रस्तावित मुख्यमन्त्रीका रूपमा अघि सारेको स्मरण गराउँदै पाण्डेले भन्नुभयाे, ‘अहिले मुख्यमन्त्री शाक्य नै डोरमणि पौडेलको सरकारले गरेको उपलब्धि सुनाउँदै हुनुहुन्छ ।’ 

मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेश सभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया