कांग्रेसको १४ औँ महाधिवेशन अनिश्चित बन्दै

 कात्तिक ७, २०७८ आइतबार ७:११:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पटकपटक गरी पाँच पटक अधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिकालाई धकेल्ने तयारी गरेको हो । तर, कहिले महाधिवेशन गर्ने भन्ने विषयमा कांग्रेसभित्र औपचारिक छलफल भने सुरु हुन सकेको छैन ।

कांग्रेसले यसअघि गएको साउनमा ९ देखि १३ मंसिरसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याएको थियो । अब मंसिरका लागि तय महाधिवेशन माघमा गर्ने कि वैशाखमा गर्ने  भन्ने विषयमा सभापति शेरबहादुर देउवा निकटका नेताहरूले आन्तरिक छलफल चलाएका स्रोतले जनाएको छ ।

महाधिवेशन अझै लम्ब्याउँदै जाने पक्षमा कांग्रेसभित्रको संस्थापन इतर समूह भने तयार देखिएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने भन्दै संस्थापन समूहलाई दबाब दिँदै आइरहेका छन् । निर्धारित मितिमा अधिवेशन हुन नसक्दा प्रदेश अधिवेशनका लागि तय मितिसमेत अब प्रभावित हुने क्रममा छ ।

कांग्रेसले प्रदेश तहको अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तय गरेको छ । यस्तै, १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु हुन सकेको छैन । रसुवा, रौतहट र बारा जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक नै भएको छैन ।

पछिल्लो पटक निर्धारित कार्यतालिकाअनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँ/नगर अधिवेशन २७ भदौ, प्रदेश सभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख थियो ।

यसैगरी, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आउँदो मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाण्डौमा हुने उल्लेख छ । तर, यीमध्ये धेरैजसो तालिका प्रभावित भइसकेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया