सन् २०५० भित्रमा जलवायु परिवर्तनमा 'नेट जिरो' हासिल गर्ने बेलायतको लक्ष्य

 कात्तिक ७, २०७८ आइतबार १४:४४:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायत सरकारले हरित गृह ग्यास उत्सर्जन कटौती गर्ने विस्तृत योजना सार्वजनिक गर्दै सन् २०५० सम्ममा नेट जिरोको लक्ष्य हासिल गर्ने बताएको छ । जलवायु परिवर्तनसम्बन्धी शिखर बैठक कोप–२६ सुरु हुनु केही दिनअघि बेलायतले यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ । 

सन् २०१५ मा एक सय ९७ वटा देशले पृथ्वीको तापमान वृद्धिलाई एक दशमलव पाँच सेल्सियसभन्दा कममा राखेर जलवायु परिवर्तनका खराब असरहरू नियन्त्रण गर्ने सहमति गरेका थिए । त्यसका लागि जतिसक्दो छिटो नेट जिरो हासिल गर्नुपर्छ । 

नेट जिरो भनेको वायुमण्डलमा हरित गृह ग्यासहरूको मात्रा थप हुन नदिनु हो । यसका लागि हरित गृह ग्यासको उत्सर्जन जतिसक्दो घटाउने र बाँकी रहेकोलाई सन्तुलन मिलाउनुपर्छ । हरित गृह उत्सर्जनहरूलाई शून्यमा झार्न नसकिने भएकोले उत्सर्जनलाई सन्तुलनमा राख्नुपर्ने विज्ञहरू बताउँछन् ।

बेलायतले बिरुवा रोप्ने क्रमलाई बढाउने, विद्युतीय सवारी साधनको प्रयोग बढाउने, वैकल्पिक ऊर्जालाई प्राथामिकता दिने, उपकरणहरूमा आधुनिकीकरण गर्ने लगायतका काम गर्ने योजनामा उल्लेख छ । 

विश्वका एक सय ३२ देशले सन् २०५० अघि नै नेट जिरो हासिल गर्ने बताइरहेका छन् । चीनले सन् २०६० सम्ममा नेट जिरो हासिल गर्ने बताएको छ भने रुस, भारत र इन्डोनेसिया जस्ता विश्वका धेरै जनसङ्ख्या भएका देशहरूले नेट जिरोबारे केही प्रतिबद्धता जनाएका छैनन् ।   

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया