'फुल काेर्ट' बैठकमा नजाने १४ न्यायाधीशकाे निर्णय

 कात्तिक ७, २०७८ आइतबार २०:११:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीश चेलेन्द्रशम्शेर जबराले भोलि साेमवारका लागि बोलाउनुभएको नेपाल बार एसोसिएशनसहितको 'फुल कोर्ट' को बैठकमा सर्वाेच्चका न्यायाधीशहरू सहभागी नहुने भएका छन् ।

१४ जना न्यायाधीशको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो । सर्वाेच्चका न्यायाधीशहरूले पनि केही दिनदेखि प्रधानन्यायाधीशलाई फूलकोर्ट बैठक राख्न अनुरोध गरिरहेका थिए ।

तर आफूहरूले प्रधानन्यायाधीशको सम्बन्धमा आएका खबरहरूको बारेमा छलफल गर्न 'फुल कोर्ट' माग गरेकोमा हरिकृष्ण कार्की संयोजक रहेको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने विषयलाई मात्रै एजेन्डाका रूपमा राखेर भोलिका लागि 'फुल कोर्ट' को बैठक आह्वान गरेपछि सहभागी नहुने निर्णय गरेको बैठकमा सहभागी एक न्यायाधीशले बताएका छन् ।

सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आज आइतवार भएको छलफलमा जबराले भाेलि सोमवार अदालतको 'फुल कोर्ट' बैठक बोलाउने सहमति जनाउनुभएको हो ।

भाेलि 'फुल कोर्ट' को बैठक बसेपछि पर्सि मङ्गलवारदेखि नमुना गोलाप्रथा सुरु गर्ने सहमति जुटेको भेटमा सहभागी नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । 

नेपाल बार र सर्वोच्च अदालतबीच विवाद बढ्दै गएपछि बारका प्रतिनिधिहरूले आज प्रधानन्यायाधीश जबरासँग भेट गरेका हुन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया