धानलगायत सबै बाली तथा पशुधनको बीमा हुन्छ, बीमा गर्ने गरौँ

 कात्तिक ८, २०७८ सोमबार ९:४६:४ | राजुरमण पौडेल
unn.prixa.net

यदि अहिले धानको बीमा गरिएको भए किसानले सजिलै क्षतिपूर्ति पाउँथे । तर, धानको बीमा हुन्छ भन्ने धेरै किसानलाई थाहा नै भएन । किसानलाई थाहा नहुनुमा बीमा कम्पनी तथा अन्य जिम्मेवार निकायले पनि आफ्नो भागमा परेको दोष स्वीकार गर्नुपर्छ । 

अहिलेको बेमौसमी वर्षाले किसानको धानबालीमा धेरै नै नोक्सान पुर्यायो । यदि धानबालीको बीमा गरिएको भए बीमा कम्पनीले अवश्य नै क्षतिपूर्ति दिन्थे । 

बीमा कसरी गर्ने के गर्ने भन्ने सम्बन्धमा थाहा नभएको पनि हुनसक्छ । बीमा कम्पनीले देशभर कृषि बीमा सम्बन्धी शाखाहरु खोलेका छन् । ती शाखामा सम्पर्क गरेर कृषि सम्बन्धी वा भनौँ आफूले लाएको बालीनाली वा पशुपालनको बीमा गर्न सकिन्छ । व्यावसायिक रुपमा यसलाई अघि बढाउनका लागि राज्यले अनुदान पनि दिएको छ । 

प्रतिस्थापित बजेट भाषणमा पनि राज्यले बीमा शुल्कमा ८० प्रतिशत अनुदान दिएको कुरा उल्लेख छ । २० प्रतिशत अनुदानका लागि हामीले स्थानीय सरकारलाई त्यहाँ पनि बजेट छुट्याउनुस्, अनुदान राख्नुस् भनेका छौँ । र किसानलाई अघि बढाउनु पर्छ भनेका छौँ। अहिलेको क्षतिलाई यदि बीमा गरेको छ भने बीमा कम्पनीले क्षतिपूर्ति दिन्छन् । हामी पनि प्रचार प्रसारमा जान सकेनौँ। हाम्रा बीमा कम्पनीले पनि त्यति प्रचार प्रसार गर्न नसकेको हो कि । किनकि सबै कुराको बीमा हुन्छ । धानको नहुने भन्ने कुरै भएन । 

चैते धानको त हामीले वेदर इन्डेक्स बनाएका पनि छौँ। त्यो बाहेक धानको बीमा गर्न सकिन्छ । हामीले जनताको माझमा पुर्याउनका लागि बीमा समितिले यस वर्षदेखि नै स्थानीय निकायमा निर्वाचित भएर आएका जनप्रतिनिधिलाई कुरा बुझाउनका लागि हामी नगरपालिका तथा गाउँपालिकामा गइरहेका छाैँ। 

सबैको बीमा हुन्छ

बालीनाली, तरकारी, पशुधन लगायत सबैको बीमा हुन्छ । किसानले लगाएको वा लगानी गरेको सबै चिजको सुरक्षाको लागी बीमा कम्पनीले बीमा गर्छन् । बीमा गर्नका लागि हरेक जिल्लाको सदरमुकाम वा अन्य ठाउँमा बीमा कम्पनीहरु तथा तिनका शाखा कार्यालय रहेका छन् ।

बीमा गर्न जाने किसानले आफूले के को बीमा गर्ने हो त्यसका बारेमा प्रष्ट हुनुपर्छ । यदि धानको बीमा गर्नु परेमा कति जमिनमा लगाएको धानको बीमा गर्ने हो त्यो बीमा कम्पनीलाई जानकारी गराएपछि उसले निरीक्षण गर्छ । 

अहिले पालिकामा पनि प्राविधिकहरू रहेका छन् । प्राविधिकले त्यसको उपज कति हुन्छ हिसाब गरेर छुट्याइ दिन्छन् । प्राविधिकको सिफारिशमा बीमा कम्पनीहरुले बीमाङ्क यति राख्ने तथा बाली हेरेर कस्तो जोखिम हुन सक्छ भनेर निकाल्छन् । अनि आएको रकम बराबरको किसानले बीमा गर्न सक्छन् । 

८० प्रतिशत अनुदान

बीमाको लागि प्राविधिकले बीमाङ्क निर्धारण गरे पछि बीमा गर्न सकिन्छ । अहिलेको प्रस्तावित बजेटमा नेपाल सरकारले बीमा शुल्कमा ८० प्रतिशत अनुदान दिएको छ । जस्तो १ सय रुपैयाँ बीमाङ्क निर्धारण गरियो भने त्यसमा ८० रुपैयाँ नेपाल सरकारले बेहाेर्छ । बाँकी २० रुपैयाँ किसानले बेहाेर्ने हो । तर, त्यसमा पनि स्थानीय सरकारले बेहाेर्नका लागि हामीले कुरा गरिरहेका छौं । कतिपय स्थानीय निकायले २० प्रतिशतमा पनि अनुदान दिएर बजेट निर्माण गरेका छन् । 

अब किसानले बुझ्नु पर्ने कुरा के हो भने बीमा शुल्कको ८० प्रतिशत नेपाल सरकारले बेहाेर्ने गरी बजेटमा नै व्यवस्था गरेको छ । अर्को कुरा बीमा गर्नका लागि किसानले स्थानीय निकायसँग सम्पर्क गरेमा उहाँहरुले आफ्नो ठाउँमा बजेट छुट्याएर राख्नु भएको छ । 

बीमा यसरी गर्ने 

बीमा गर्नका लागि भने किसानले जिल्लाको बीमा कम्पनीमा जाने । र, कम्पनीले पालिकामा रहेको प्राविधिकको मूल्याङ्कन बराबरको रकमको बीमा गर्नुपर्ने हुन्छ । त्यो कुरा बीमा लेखमा तोकिएको पनि छ । कृषि तथा पशुपक्षी मन्त्रालयका प्राविधिकले एउटा चार्ट नै बनाएर हामीलाई दिनु भएको छ । त्यसै चार्ट अनुसार बीमा लेखमा उल्लेख छ । 

बीमा लेखमा भए बमोजिमको बीमा गरी सकेपछि किसानले पनि पानी लगाउनेदेखि गोडमेल तथा रोग लागेमा औषधि हाल्नेसम्मको सबै काम भने गर्नुपर्छ । बीमा गरेको छ भनेर बालीनालीलाई त्यसै छोड्नु भने हुँदैन । गर्दा गर्दै भएन भने त्यसको क्षतिपूर्ति पाइन्छ । 

यस प्रक्रियालाई यदि आवश्यक्ता छ भने झन्झटिलो मान्नु भएन । किनभने किसानलाई आफूले लगाएको धानबाली वा अन्य अन्नबाली तथा पशुपक्षीको नोक्सान भएका खण्डमा क्षतिपूर्ति चाहिएको हो भने बीमा त गर्नै पर्यो । बीमा गर्नका लागि बीमा कम्पनीमा जानै पर्यो । 

हाम्रा बीमा कम्पनीले आफ्ना एजेन्ट वा प्राविधिकलाई सम्बन्धित ठाउँमा खटाउँछन् । गएको वर्षदेखि हामीले घुम्ती बीमाको योजना पनि ल्याएका छौँ। सम्बन्धित ठाउँमा गएर बीमाको फर्म भरेपछि बीमाको प्रक्रिया सुरु हुन्छ । 

प्राकृतिक प्रकोप जस्तै बाढी पहिरोले खेतबारी बगाउन सक्छ, अहिलेको जस्तो बेमौसमी पानीले काटेको धानबाली डुबान परेको खण्डमा त्यो सबै क्षतिको बीमाले क्षतिपूर्ति गर्छ । 

क्षतिपूर्तिको प्रक्रिया

प्राविधिकले क्षतिको मूल्याङ्कन गरेर आएको रकम बीमा कम्पनीले किसानलाई दिन्छन् । जति क्षति भएको छ त्यो बराबरको रकम किसानले पाउँछन् ।  बाहिर देशमा भने वेदर इन्डेक्सका आधारमा बीमा गर्ने चलन छ । तर, हामीकहाँ भने बीमा लेखमा लेखिएका चिजको मात्र बीमा हुने गरेको छ । 

यदि अहिले बीमा गरेको भए बाढीले क्षति गरे जतिको धानको रकम किसानले पाउँछन् । यदि दाना नलागेको बीमा गराएको छ भने क्षति बराबरको रकम किसानले पाउँछन् । आधा मात्र उत्पादन भयो भने र बीमा गरेको छ भने क्षति बराबरको रकम किसानले पाउँछन् । 

हाम्रा बीमा कम्पनीले यस्ता दाबीमा छिटो फर्छ्यौट समेत गर्ने गरेका छन् । यस्तोमा १५ दिनमा फर्छ्यौट भएको छ । यसले किसानलाई तुरुन्तै राहत भयो भने अर्को बाली लगाउन पनि सजिलो भयो । 

यदि बैंकको ऋण छ भने पनि उसले प्रिमियम तिरे पछि फेरि तिर्न सक्छ । यसलाई झन्झटिलो मान्नु भएन । र, छिटो भन्दा छिटो आफूले लगाएको फसल तथा पशुधनको बीमा गर्नुपर्यो भन्ने मेरो अनुरोध हो । 

बीमामा बढ्दो आकर्षण

बीमामा किसान आकर्षित हुने क्रम क्रमशः बढ्दै गएको छ । तथ्याङ्क हेर्दा पनि बीमामा ६२ प्रतिशतले बढेको छ । पशुधनमा बीमा गर्ने किसानको सङ्ख्या बढेको छ भने बाली बीमा गर्ने सङ्ख्या कम छ । कतिपय किसानलाई आफूले लगाएको बालीको बीमा हुन्छ भन्ने नै थाहा छैन । 

अहिले धानको प्रसङ्ग चलेको हुँदा धानको बीमा हुन्छ भन्ने कुरा धेरै किसानलाई थाहा नै छैन । त्यसकारण हामीले तराईका जिल्लामा सञ्चारका माध्यमबाट प्रचार प्रसार अगाडि बढाएका छाैँ । अर्को भनेको हामी बीमा समितिका सदस्यहरुले पनि पालिकामा गएर जानकारी गराएका छौँ । 

हाम्रा बीमा कम्पनीले पनि आफ्नै किसिमले प्रचारप्रसार गरेका छन् । तर पनि हामीले जति गर्नुपर्ने हो त्यति गर्न सकिएको छैन । क्रमशः बढेको छ । र, किसानलाई मैले लगाएको अन्नबाली तथा फलफूलको बीमा हुन्छ भन्ने कुराको बोध गराउन सक्यो भने यो सङ्ख्या बढ्छ । 

हामी अलि परम्परावादी पनि छौँ त्यसकारण पनि बीमा नगरेको होला । मैले लगाएको धान तथा मकैको पनि के बीमा गराउनु भनेर पनि होला । तर, सरकारले व्यावसायिक रुपमा उत्पादन बढाउन नै अनुदानको व्यवस्था गरेको होला । बीमा शुल्कमा अनुदान आएको एउटा प्रमुख कारण त्यो पनि हो । 

निर्वाहमुखी अन्नबाली तथा तरकारी फलफूलको पनि बीमा हुन्छ भन्ने कुरा बुझ्नु पर्यो । हामीले असारमा धान रोपे पछि मंसिरमा भित्र्याउने समयावधि सम्मको मात्र बीमा गर्ने हो । र, त्यस बीचमा पर्ने जोखिमको क्षतिपूर्ति गर्छ भन्ने कुराको बोध किसानले गर्नुपर्यो । 

बीमा गर्दा उसको जीवन हेरेर बीमा गर्ने हो । अर्थात पशुको बीमा गर्दा हामीले यसको जीवन हेरेर गर्छौँ भने धानबालीको समय छोटो हुने हुनाले त्यसको पनि त्यसैगरी बीमा हुने हो । 

धानबाली लगाउँदा किसानलाई मलबीउदेखि पानीसम्मको चिन्ता हुन्छ । तर, चिन्ता भयो भन्दैमा नोक्सान नहुने त होइन नि । त्यसकारण पनि बीमा गरेको रहेछ भने त क्षतिपूर्ति त किसानले पाउँछ नि । 

यसमा राज्यले पनि अनुदान दिएको छ । यसमा थोरै आफूले योगदान गर्यो भने आइपर्ने नोक्सानीबाट बच्न सकिन्छ । तर, फसलको जीवन अनुसारको बीमा हुने हुनाले यसलाई लामो अवधिको लागि गरौँ भन्दा त्यो सम्भव छैन । हामीकहाँ मौसम भविष्यवाणी गर्ने संयन्त्रहरुको अलि राम्रो विकास भएको छैन । सरकारले यसका लागि ठाउँ ठाउँमा उपकरण पनि राखेको छ । 

चैते धानको सन्दर्भमा हामीले यसको अभ्यास पनि गरिसकेका छौँ । त्यसकारण पनि झन्झटिलो नमानिकन बीमा गर्नुपर्यो भन्ने मेरो अनुरोध मात्र हो । प्राविधिक कृषि तथा पशुपक्षी मन्त्रालयबाट भेटेरिनरी डाक्टर उत्पादन पनि भएको छ । र, ठाउँ ठाउँमा कृषि सम्बन्धी प्राविधिक पालिकामा हामीले व्यवस्था पनि गरेका छौँ। 

हामी जुन जुन पालिकामा जान्छौँ त्यस्तो पालिकामा त्यहाँ उहाँहरुको प्राविधिकलाई हामी अभिकर्ताको तालिम त्यही आएर दिन्छौँ भनेर भनेका छौँ । उहाँहरुले हुन्छ पनि भन्नु भएको छ । 

प्राविधिकको अभाव

हामी कहाँ प्राविधिकको अभाव पनि छ भने अर्को कारण भौगोलिक कारणले पनि अप्ठ्यारो परेको छ । डाँडाकाँडाले सम्बन्धित ठाउँमा पुग्न पनि अप्ठ्यारो छ । हामीले प्राविधिकलाई सहज बनाउन बाली तथा पशुपक्षी निर्देशिका पनि जारी गरी सकेका छौँ । 

तालिम दिने काम जिल्ला जिल्लामा भइरहेको पनि छ । एकातिर कृषि तथा पशुपक्षी मन्त्रालयले काम गरिरहेको छ भने हामीले पनि त्यसमा सहजीकरणका लागि समन्वय गरिरहेका छौँ।

किसानलाई चेतना बढाउने काम पनि हामीले गरिरहेका छौँ । किसानसम्म पुग्नका लागि नै हामी पालिकामा गएका हौँ । साथै किसानलाई आफूले लगाएका बाली तथा पालेका गाईबस्तु सम्पूर्णको बीमा गर्नुस् र ढुक्क भएर बस्नुस् भोलि केही क्षति भएका खण्डमा हाम्रा बीमा कम्पनीले क्षतिपूर्ति दिन्छन् भन्ने कुराको आश्वासन गराउन चाहन्छु । त्यसकारण बीमा गर्नुस् । 

पौडेलसँगको थप कुराकानी बदलिँदाे नेपालमा सुन्नुहाेस् । 

अन्तिम अपडेट: कात्तिक २२, २०७८

राजुरमण पौडेल

राजुरमण पौडेल बीमा समितिका प्रवक्ता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया