प्रधानन्यायाधीशले बोलाएको 'फुल कोर्ट' मा १४ न्यायाधीश नजाने

 कात्तिक ८, २०७८ सोमबार ८:३३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात 'फुल कोर्ट'मा १४ न्यायाधीश सहभागी नहुने भएका छन् ।

एजेन्डाबारे छलफलै नगरि प्रधानन्यायाधीशले बैठक बोलाएको भन्दै न्यायाधीशहरुले बहिष्कार गर्ने निर्णय गरेका हुन् । 'फुल कोर्ट' बहिष्कार गर्ने निर्णय गरेका सर्वोच्चका १४ जना न्यायाधीशले आज बिहान ११ बजेदेखि प्रधानन्यायाधीशका कामकारबाहीबारे आफ्नो छलफललाई निरन्तर दिने भएका छन् ।

छलफल नसकिएसम्म आज तोकिएका इजलासमा नबस्ने उनीहरूले बताएका छन् । न्यायाधीशहरू हिजो  छलफलमा रहेकै बेला प्रधानन्यायाधीश जबराले  आज १ बजे बारका पदाधिकारीसँगै 'फुल कोर्ट' बस्ने सूचना पठाउनु भएको थियो।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने र कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि वितरण गर्नेबारे एजेण्डासहित 'फुल कोर्ट' बस्ने प्रधानन्यायाधीशको सूचनाले न्यायाधीशहरूलाई थप आक्रोशित बनाएकाे छ ।

न्यायालयको गरिमा र स्वतन्त्रताबारे सर्वत्र बहस हुँदा सहकर्मी न्यायाधीशहरूसँग एक पटक पनि छलफल नगरेका प्रधानन्यायाधीशले वरिष्ठ अधिवक्ताको उपाधि बाँडेर विषयान्तर गर्न खोजेको भन्दै न्यायाधीशहरूले 'फुल कोर्ट' बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया