भिरबाट लडेर पत्रकार किसन राईकाे निधन

 कात्तिक ८, २०७८ सोमबार १३:५१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

खाेटाङ - हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भिरबाट लडेर ज्यान गएकाे छ । 

काठमाण्डौबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जाने क्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा रहेकाे पङ्खु खोलामा हिजाे बेलुका भिरबाट लडेर पत्रकार राई ज्यान गएकाे हाे । 

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइ सरेका पत्रकार राई नेपाल पत्रकार सङ्घ हङकङका अध्यक्ष हुनुहुन्थ्यो । राई दुई दशकदेखि हङकङबाट प्रकाशन हुँदै आएकाे एभरेष्ट साप्ताहिककाे सम्पादक हुनुहुन्थ्यो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहकाे नेतृत्वमा खटिएका प्रहरीले गएराति २ बजे शवलाई जिल्ला अस्पताल पुर्याएको थियो । राईलाई अस्पतालले मृत घाेषणा गरेकाे हाे ।

धरानबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव जिम्मा दिने तयारी गरिएको प्रहरी निरीक्षक शाहले बताउनुभयो। 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया