मङ्सिर र पुसमा बाघ गणनाको तयारी

 कात्तिक ८, २०७८ सोमबार १२:१५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै  - राष्ट्रिय निकुञ्जमा आउँदाे मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ ।

नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ । झाडी सुक्दै गए पछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने उहाँको भनाइ छ । क्याप्चर रिक्याप्चर विधिबाट बाघ गणना गरिन्छ ।

दुई/दुई ग्रिड अर्थात चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राख्ने गरिन्छ । गणनाका लागि कम्तीमा दुई हप्ता क्यामेरा राख्नुपर्ने उहाँको भनाइ छ । चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर गणना गरिँदै छ ।

सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ भेटिएको थियो । तत्कालीन समयमा चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लाफाँटामा १६ र बाँकेमा २१ बाघ थियो । यो सङ्ख्या बढेको अनुमान छ ।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सबग भएको बाघ पाइने १३ देशका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया