प्रधानन्यायाधीशले राजीनामा दिन धेरै समय लगाउनु हुँदैन : पूर्वमहान्यायाधिवक्ता श्रेष्ठ

 कात्तिक ८, २०७८ सोमबार १७:२९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वमहान्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले अब ढिलो नगरि दुई/तीन घण्टाभित्रै राजीनामा दिनुपर्ने बताउनुभएकाे छ ।

पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले भन्नुभयाे,‘उहाँले आजै राजीनामा दिनुपर्छ । व्यक्तिगत रूपमा पनि यसले हित हुँदैन, उहाँ जति बस्नुहुन्छ, उहाँलाई त्यति ठूलाे क्षति हुन्छ । न्यायालय र व्यक्तिगत क्षति रोक्ने हो भने तत्काल राजीनामा दिनुपर्छ । १४ जना न्यायाधीशले विद्रोह गर्नुभयो । कमान्डरमात्रै बाँकी भएको युद्ध कस्ताे हुन्छ ? धेरै समय नलगाउनुहोस्, अब दुई/चार घण्टाभित्रै राजीनामा दिनुपर्छ ।’

आज साेमवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएकाे हाे । पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले प्रधानन्यायाधीशले स्वेच्छाले राजीनामा नदिए संविधानअनुसार चल्ने भन्दै महाभियोगको सङ्केत गर्नुभएकाे छ । उहाँले भन्नुभयाे,‘उहाँले राजीनामा दिनुभएन भने हामीसँग संविधान छ । उहाँको कमी कमजोरी रहे, संविधानअनुसार हुन्छ । प्रतिनिधिसभा छ, सांसद छन् । जनताको लेभलमा यत्रो कुरा उठेको छ । अझै धेरै प्रश्न उठ्नेवाला छ । अहिले बाहिर–बाहिरको कुरा आएको छ, भित्री कुरा प्रवेश गरेपछि अझै छताछुल्ल हुन्छ । धेरै घण्टा पनि नलगाउनुहोस् । तत्काल राजीनामा दिनुहोस् ।’

उ​हाँले न्यायालयको आजको अवस्था बिग्रँदो अवस्थामा रहेको टिप्पणी गर्नुभयाे । पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले भन्नुभयाे, ‘न्यायालय आजको ठाउँमा जो आइपुगेको छ, यो थोरै समयमा आएको होइन । हिजैदेखिको देन हो । न्यायाधीश नियुक्तिमै विवाद रहँदै आएको छ । प्रधानन्यायाधीश न्याय सम्पादनमा चुक्नुभयो, संविधानले परिकल्पना नगरेको विषयमा प्रवेश हुनुभयो । उहाँले संवैधानिक निकायमा आफ्नो मान्छे नियुक्ति गर्नुभयो । मन्त्री पनि बनाउनुभयो । न्यायालय स्वतन्त्र हुनुपर्छ । यसमा राजनीतिक गन्ध आउनु पनि हुन्न । हिजो राजाको पालामा न्यायालयमा त्यति अधिकार थिएन । तर अहिले २०७२ को संविधानपछि न्यायालयलाई धेरै अधिकार छ । सरकार नै परिवर्तन गर्न सक्ने न्यायालय आज कुन ठाउँमा पुग्यो ?’
श्रेष्ठले अहिलेका प्रधानन्यायाधीशले पदको गरिमालाई कायम गर्न नसकेको पनि आरोप लगाउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘राष्ट्रपतिले गरिमा कायम गर्न नसकेको जस्तै अहिलेको प्रधानन्यायाधीशले पनि नसकेको हो । न्यायालय सम्पादन गर्ने कुरामा पनि प्रधानन्यायाधीशले ठिक काम गर्नुभएन । हरिकृष्ण कार्कीको नेतृत्वको समितिले रिपोर्ट ल्यायो, त्यो कार्यान्वयन भएको छैन । उहाँले जुनियर न्यायाधीशलाई साथमा लिएर महत्त्वपूर्ण फैसला गर्ने काम पनि गर्नुभयो । उहाँ विवाद विवादैमा पर्नुभयो । राजदूत, मन्त्री, संवैधानिक निकायमा कोटा खोज्नुभयो । त्यस्तो कोटा चाहिने मान्छेले दल खोज्नुपर्छ । न्यायालयमा अनियमितता र भ्रष्टाचार भएको छ, कमजोरी भएको छ भन्ने कुरा छ । राजनीतिक दलकोजस्तो व्यक्ति प्रधानन्यायाधीशमा रहनुहँदैन ।’

अर्का वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्यायालयमाथि देखिएको जोखिम टार्न पनि प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र विकल्प खोज्न ढिला गर्न नहुने तर्क गर्नुभएको छ । 

विवादमा मुछिएका कारण प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आएको वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले बताउनुभयो । 

यसैबीच सर्वोच्च अदालतका न्यायाधीशहरूले भोलि मङ्गलवार प्रधानन्यायाधीशलाई भेटेर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका छन् । 

आज साेमवार १३ जना न्यायाधीशले सामूहिक छलफल गरी भोलि बिहान ११ बजे प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेटेर कुरा राख्ने र राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका हुन् ।  

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया