भारतले नेपालकाे स्वतन्त्रता र सार्वभाैमिकताकाे सम्मान गर्नुपर्छ : प्रचण्ड

 कात्तिक ८, २०७८ सोमबार १७:५६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताउनुभएको छ । 

आज सोमवार नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल अहिलेसम्म स्वतन्त्र राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताउनुभएको हो ।

भारतीय प्रधानमन्त्रीले संविधान सभामा आएर नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दा नेपालका सांसदहरूले ताली बजाएको कुरालाई स्मरण गर्दै प्रचण्डले नेपाल स्वतन्त्र राष्ट्र हो भन्दा ताली बजाउनेहरूलाई ताली बजाइरहने बनाउन पनि उहाँले आग्रह गर्नुभयो । 

नेपाल–भारत सीमा समस्या रहेको उल्लेख गर्दै उहाँले सीमा समस्यालाई संवादको माध्यमबाट समाधान गर्न सकिने बताउनुभयाे । 

अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपुर्‍याएमा भारतसँग मित्रता हुने पनि बताउनुभयो । नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपुर्‍याइ सहयोग गर्ने प्रक्रियाको सुरुवात गरेमा दुई देशबीचको सम्बन्ध सुदृढ हुने उहाँले उल्लेख गर्नुभयो । 

कार्यक्रममा प्रचण्डले नेपालमा चलेको दश वर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउनका लागि भारतको सकारात्मक धारणा भएका कारणले सम्भव भएको पनि बताउनुभयो । भारतको सकारात्मक धारणा नभइ दिएको भए माओवादी वा तत्कालीन सात दलको चाहनाले मात्रै शान्ति प्रक्रियामा आउन सम्भव नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘एउटा के कुरा सत्य हो भने सबैको सहयोग नभइकन यो शान्ति सम्झौता भएको होइन । हुन त कतिपय शक्ति केन्द्रहरूले यो शान्ति सम्झौता हुनै नपाओस् भनेर अन्तिम समयसम्म बल गरेको पनि हामीलाई थाहा छ । तर पनि नेपालको राजनीतिक शक्तिहरू, लोकतान्त्रिक राजनीतिक शक्तिहरू र हाम्रा छिमेकीहरूकाे यो प्रक्रिया अगाडि आओस् भन्ने सहयोगको भावना नभएको भए हामी माओवादीले चाहेर मात्रै पनि यो ठाउँमा आउन सकिँदैनथ्यो । हाम्रा छिमेकीहरूको, अझ त्यसमा भारतको सकारात्मक धारणा हुनैपर्थ्याे, भयो । त्यस कारण हामी अहिले यहाँ छौँ ।’

अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध भारतको सहयोगमा भएको भन्ने प्रचारबाजी झुठो भएको पनि उल्लेख गर्नुभयो । माओवादी जनयुद्धलाई भारतको कुनै पनि प्रकारको सहयोग नरहेको उहाँले स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया