विदेशमा रहेका आफ्ना परिवारका सदस्यलाई जनगणनामा नछुटाउन एनआरएनएको आग्रह

 कात्तिक २९, २०७८ सोमबार १७:२३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गैर आवासीय नेपाली संघ एनआरएनएले विदेशमा रहेका आफ्ना परिवारका सदस्यलाई जनगणनामा नछुटाउन आग्रह गरेको छ ।

अहिलेसम्म नेपाल बाहिर कति नेपाली छन् भन्ने आधिकारिक तथ्यांक नभएकाले यस जनगणनाले विदेशमा रहेका नेपालीहरुको आधिकारीक तथ्यांक प्राप्त गर्न ठूलो सहयोग पुग्ने संघले जनाएको छ ।

अहिले नेपालमा बाह्रौँ  जनगणना हुँदै छ । यही कात्तिक २५ देखि मंसिर ९ गते सम्म हुने यो गणनामा गणकहरु प्रत्येक घरमा पुग्नेछन् । व्यक्तिगत पारिवारिक गरी ८० वटा प्रश्नहरु सोधिने छन् । यसैको आधारमा देशको सबै क्षेत्रको गुरु योजनाहरू निर्माण हुने गर्दछ । 

विभिन्न विषयमा सोधिने प्रश्नहरुमध्ये विदेशमा बस्नेहरुको बारेमा पनि एउटा छुट्टै खण्ड राखिएको छ । मुख्य प्रश्नावलीमा परिचयात्मक खण्डबाट शुरू हुन्छ । एउटा खण्डमा अनुपस्थित विवरण राखिएको छ । प्रश्न नं १६ मा ‘तपाईंको परिवारका कुनै अनुपस्थित सदस्य हाल विदेश गएका छन्’  मा ‘छन्’ भन्ने जवाफ दिनेले प्रश्न १७ को जवाफ दिनपर्ने छ । जसमा विदेश जानेको नाम, लिंग, जाँदाको उमेर, शिक्षा, कहिले गएको, विदेश जानुको कारण, देशको नाम भर्नुपर्ने हुन्छ । यस जनगणनाबाट कुन देशमा कति के गरेर बसेका भन्ने तथ्यांक प्राप्त हुनेछ । यी विवरणहरू सबैले नछुटाइ भरेमा अन्दाजमा सधैँ असी लाखभन्दा बढी नेपालीहरु विदेशमा छन् मात्रै भनिरहन नपर्ने एनआरएनएको भनाइ छ । 

संघले सुरु देखि नै विदेशमा रहेका नेपालीहरुको आधिकारिक तथ्यांक संकलन गर्नको लागि नेपाल सरकार समक्ष पहल गर्दै आएको थियो ।  नेपाल सरकारले यस वर्षदेखि जनगणनामा विदेशमा रहेका नेपालीहरुलाई पनि समेटेको हुँदा संघले नेपाल सरकार प्रति हार्दिक आभार व्यक्त गरेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया