साढे सात प्रतिशत भन्दा धेरैले घट्यो रेमिट्यान्स

 कात्तिक ३०, २०७८ मंगलबार १७:३६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स सात दशमलव ६ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि असाेजसम्म देशको रेमिट्यान्स सात दशमलव ६ प्रतिशतले घटेर दुई खर्ब ३९ अर्ब ३२ करोडमा सीमित भएको हो । अघिल्लो वर्ष त्यही अवधिमा रेमिट्यान्स १२ दशमलव सात प्रतिशतले बढेको थियो ।

तीन महिनाको अवधिमा  अमेरिकी डलरमा प्राप्त रेमिट्यान्स पनि सात दशमलव सात प्रतिशतले घटेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेको छ । यसैबीच चालु आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ५८ दशमलव तीन प्रतिशतले बढेको छ । निर्यात एक सय नौ दशमलव पाँच प्रतिशतले बढ्दासमेत व्यापार घाटा बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन, भदौ र असोजको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार व्यापार घाटा चार खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको त्यही अवधिमा यस्तो घाटा १५ दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा देशबाट ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात भएको छ भने चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसैबीच साउनदेखि असोज तीन महिनाको अवधिमा विदेशी मुद्राको सञ्चिति घटेर १३ खर्ब १९ अर्ब रुपैयाँमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी मुद्राको सञ्चिति समीक्षा अवधिमा पाँच दशमलव सात प्रतिशतले घटेर १३ खर्ब १९ अर्ब ३२ करोडमा झरेको हो ।  
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया