कतारमा पेट्रोल भर्ने कामदेखि दुबईमा आफ्नै व्यवसायसम्मको यात्रा

 मंसिर ९, २०७८ बिहिबार १५:५०:७ | बेदानन्द जाेशी
unn.prixa.net

धन कमाउने सपना बोकेर दैनिक सयौँ नेपाली श्रमिक खाडीलगायत विश्वका विभिन्न देशमा पुग्छन् । राहदानीका पानामा भविष्यको सपना बुन्दै विदेश पुग्नेहरु सुख दुःख काम गर्छन् । कमाउँछन् । करार अवधि सकिएपछि घर फर्किन्छन् । घर फर्केर पनि कोही फेरि विदेशको बाटो तताउँछन् भने कोही आफ्नै देशमा उद्यमको बाटो अँगाल्छन् । तर थोरै मात्र हुन्छन् जो गन्तव्य देशमै व्यवसाय गर्ने हिम्मत गर्छन् । त्यही देशमा उद्यमी बन्छन् । तिनै कममध्येका एक हुन्, जे सागर अर्थात जयराम पराजुली ।

जे सागरले यूएईको बरदुबईमा क्याफे खोल्नुभएको तीन महिना भयो । सामान्य कामदारको रुपमा कतारबाट वैदेशिक रोजगारीको यात्रा गर्नुभएका जे सागर अहिले दुबईमा एउटा नेपाली क्याफेका सञ्चालक हुनुहुन्छ ।
सिन्धुपाल्चोकमा जन्मनु भएका जे सागरको  स्थायी ठेगाना अहिले काठमाण्डौको पेप्सिकोला हो ।

वैदेशिक रोजगारीको यात्रा गर्नुभन्दा पहिले जे सागर काठमाण्डौमै काम गर्नुहुन्थ्यो । पकेटखर्च चल्थ्यो । घरखर्च चलाउन गाह्रो हुन थालेपछि उहाँलाई लाग्यो, अब विदेश जानुपर्छ ।

रोजगारी खोज्न विदेश

कसैलाई विदेश जान केही न केही कुराले प्रेरित गरेकै हुन्छ । सुरुमा त कोही किन विदेश जान्छन् भनेर प्रश्न गर्ने जे सागर पनि, पछि आफै वेदेशिक रोजगारीमा होमिनुभयो ।

‘जब काठमाण्डौमा पैसा कमाएर जीवनमा पुग्दैन भन्ने लाग्न थाल्यो, त्यसपछि आफै विदेश हिँडेँ’, उहाँ भन्नुहुन्छ, ‘काठमाण्डौमा छँदा गोजीमा पाँचदश हजारको पनि अभाव हुन्थ्यो । दुईचार लाख रुपैयाँ भए त के–के नै गर्न सकिहालिन्छ नि भन्ने लाग्थ्यो । त्यही सपना बोकेर म पनि कतारतर्फ लागेँ ।’

उहाँ पहिलोपटक सन् २००६ मा कतार जानुभएको थियो । त्यहाँ पेट्रोल पम्पमा गाडीमा पेट्रोल हाल्ने काम गर्नुभयो । भन्छन् नि आफूसँग क्षमता भएपछि अवसर खोज्दै आउँछ । जे सागरले पेट्रोल पम्पमा काम गरेको ६ महिना नबित्दै उहाँ त्यहाँको क्यासियर बन्नुभयो । फेरि बढुवा भएर टिम लिडरको जिम्मेवारीमा पुग्नुभयो । 

विस्तारै कतारको कामको करार पनि सकियो । कतारमा सोचेकोभन्दा पनि राम्रो सफलता मिल्यो उहाँलाई । उहाँलाई लाग्यो, ‘यति भए अब पुग्छ, घर फर्कन्छु ।’

‘विदेश मेरो लागि ठिकै रह्यो, एकै साल दुई पटक बढुवा भएँ, छोटो समयमा सोचेभन्दा बढी कमाइ भयो’, उहाँ भन्नुहुन्छ, ‘त्यसपछि लाग्यो, अब त मेरो भाँडो भरियो, अब घर फर्किनुपर्छ ।’

उहाँले नेपाल आएर काठमाण्डौमा घडेरी किन्नुभयो । घर बनाउनुभयो । त्यतिबेला काठमाण्डौमा जग्गाको कारोबार गर्नेहरुसँग मिसिनुभयो उहाँ पनि । जग्गाको कारोबार गर्ने, घर घडेरी किन्ने बेच्ने गर्दा नि राम्रै कमाइ हुन्छ भन्ने सोचेर त्यसमै अल्झिनुभयो । त्यतिबेला साढे दुई वर्ष नेपालमै बित्यो । विदेशको जस्तो नेपालमा यो पेसा सम्मानित छ जस्तो पनि लागेन उहाँलाई । त्यसपछि उहाँ फेरि परदेशकै बाटोमा लाग्नुभयो । 

आफूसँग ‘दलाली’ किसिमको सोच–विचार, बानी नभएकाले नेपालमा बस्न नसकी फेरि परदेश लाग्नुपरेको बताउनुहुन्छ उहाँ ।

‘कालोलाई सेतो भन्नुपर्ने रहेछ, सेतोलाई कालो भन्नुपर्ने रहेछ, त्यो मेरो मनले मानेन’ उहाँले भन्नुभयो, ‘अनि यो पाराले यहाँ गरिखान सकिन्न जस्तो लाग्यो र फेरि विदेश गएको हुँ ।’

यसपटक उहाँ कतार हैन यूएईतर्फ लाग्नुभयो । अग्लो, चौडा कद भएका जे सागर यूएईमा पीएसबीटी सेक्युरिटीमा भर्ती हुनुभयो । साढे पाँच वर्ष त्यहीँ काम गर्नुभयो । सेक्युरिटीमा पनि उहाँ चारपटक बढुवा हुनुभयो र त्यो काम पनि छाड्नुभयो ।

‘सुरुवातमा एक ठाउँमा रहेर गर्ने सेक्युरिटी, त्यसपछि सहायक सुपरभाइजर र त्यसपछि पेट्रोलिङ सुपरभाइजर बनेँ र त्यहीँबाट काम छोडेँ’, उहाँ भन्नुहुन्छ, ‘आफ्नो क्षमता, कामप्रतिको झुकाव र लगनशीलताका कारण नै कम समयमै आफ्नो बढुवा भएको हो कि जस्तो लाग्छ ।’

जे सागरको वैदेशिक रोजगारीको यात्रा यतिमै सकिएन । उहाँले आफ्नो सेक्युरिटीको त्यो अनुभवलाई अर्को त्यहीँको प्रतिष्ठित कम्पनीमा लगाउनुभयो । अल्नुबुँदा अटोमोबाइल्स कम्पनीमा एकोमोडेशन इन्चार्जको रुपमा काम गर्नुभयो । यसरी उहाँले वैदेशिक रोजगारीमा धेरै अनुभव बटुल्नुभयो ।

आफ्नै व्यवसायको यात्रा 

हुन त यूएईमा नेपालीहरु विभिन्न व्यवसाय गरिरहनुभएको छ । कोही ब्युटिपार्लर तथा सैलुन व्यवसायतिर लागेका छन् । कोही पर्यटन व्यवसायमा आबद्ध छन् । होटल क्षेत्रमै पनि धेरै नेपाली कार्यरत छन् । जे सागरलाई पनि होटल नै उपयुक्त लाग्यो ।

‘बरु घुमघाम बन्द होला, मान्छे श्रृङ्गार गर्न छोड्ला तर जस्तोसुकै महामारीमा पनि खाने काम बन्द हुँदैन’, जे सागरको तर्क छ, ‘हिजो पाँचसय रुपैयाँको खान्थ्यो भने आज २५ को खाला तर खाने काम बन्द हुँदैन, त्यसैले यो व्यवसाय डुब्दैन भन्ने लागेर मैले क्याफे नै रोजेँ ।’

उहाँले त्यहाँ चलिरहेको घान्तूत रेस्टुरेन्टलाई किन्नुभएको हो । सन् १९९५ बाट चालु रहेको घान्तूत रेस्टुरेन्टलाई नेपाली ‘फ्लेवर’सहित अघि बढाउने सोच्नुभयो । घान्तूत रेस्टुरेन्टलाई ‘घान्तूत नेपाली क्याफे’ भनेर नाम दिनुभयो । उसो त अरबतिर घान्तूत शब्द निकै प्रचलित छ । यो नाम राखेर धेरै व्यवसाय सञ्चालनमा छन् । जे सागरको भनाइमा ‘घान्तूत’ त्यहाँको कुनै प्रशिद्ध व्यक्तिको नाम थियो ।

रेस्टुरेन्ट व्यवसायमा आफ्नो अनुभव नभए पनि उहाँले अनुभवीहरुबाट सल्लाह लिएर व्यवसाय थाल्नुभयो । उहाँलाई व्यवसायमा साथ दिनुभयो, त्यहीँ सयपत्री रेस्टुरेन्ट चलाइरहनुभएका कुल लेप्चाले । अहिले दुवै जनाको पार्टनरशिपमा अघि बढीरहेको छ, घान्तूत नेपाली क्याफे । पाँच जना नेपालीलाई रोजगारी पनि दिनुभएको छ । क्याफेमा अरबीदेखि नेपाली परिकार पाइन्छन् । त्यहाँ पस्ने नेपालीहरुले ‘नेपालीपन’ महसुस गर्न सक्छन् ।

कयाफे दुबईको पनि बरदुबईमा छ । बरदुबई भनेको काठमाण्डौको रत्नपार्क जस्तै सबैतिरबाट पायक पर्ने ठाउँ भएकाले धेरै नेपाली आउने गरेको जे सागर बताउनुहन्छ । 

श्रममा विश्वास, साहित्यमा रुचि

जे सागर आफूलाई आफैभित्र रमाउन सक्ने मान्छे, जस्तो परिस्थिति छ त्यसैभित्र खुसी खोज्ने मान्छे भन्नुहुन्छ ।  उहाँको कामप्रतिको समर्पण उहाँको संघर्षको कथाले बोल्छ । सामान्य कामदारबाट व्यवसायी बन्नुभएका जे सागर केही प्राप्तीको लागि इच्छाशक्ति सँगसँगै परिश्रम पनि गर्नुपर्नेमा विश्वास गर्नुहुन्छ । 

भन्नुहुन्छ, ‘म अहिले पनि चियाको कप उठाइरहेको हुन्छु, आफ्नो काम गर्दा पनि श्रमिक नै भइने हो, काम गर्दा कोही सानो हुने होइन ।’ तर उहाँलाई भोलिको सुखको लागि अहिले दुःख भोग्नैपर्छ भन्ने मान्यता भने स्वीकार्य छैन ।

‘एकदमै धेरै सोचेर यस्तो गर्नुपर्छ भनेर राति नसुती नसुती योजना पनि कहिल्यै बनाउँदैन’, उहाँ भन्नुहुन्छ, ‘भोलिको लागि खुसी हुनुपर्छ भनेर आज दुःख काट्दै जानुभन्दा अहिलेको पललाई खुसी बनाउनुपर्छ भन्ने लाग्छ ।

जे सागरलाई हरेक कुरामा रमाउन मन लाग्छ । सुख, दुःख र संघर्षका भावनालाई शब्दमा बुनेर गजल भन्नुहुन्छ । उहाँकाे 'यत्ति भए पुग्छ' गजल संग्रह प्रकाशित भएकाे छ । हाँस्यभावलाई समेटेर फेसबुकमा ‘उटपट्याङ स्ट्याटस’ लेख्न पनि पछि पर्नुहुन्न । यस्तै यूएईमा हुने नेपाली समाजबीच भेटघाटलाई उहाँ उत्तिकै महत्व दिनुहुन्छ । यूएईमा साहित्यिक कार्यक्रमको चाँजोपाँजो मिलाउन होस् वा सहयोगका हातहरु उठाउन होस् जे सागर कम्मर कस्न कहिल्यै पछि पर्नुहुन्न ।

(तस्बिर : जे सागरकाे फेसबुकबाट)

अन्तिम अपडेट: बैशाख ३, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

2 Comments

  • Bishal Thapa Thapa

    March 31, 2023, 1:32 p.m.

    मेहेनत गरेपछि अवश्य फाईदा मिल्छ

  •  0 Reply
  • Ganesh Kathayat

    Nov. 25, 2021, 5:36 p.m.

    म युएई बसुन्जेल उहासङ्ग राम्रैभेटघाट भैरहन्थ्यो, बिभिन्न बिषयमा कुराकानि छलफल चलिरह्न्थ्यो , म देश फर्केपछि पनि कुराकानि भइरहन्छ । मेरो जिवनमा प्रभाव पार्ने ब्यक्तिहरुमध्यको उहा एक हुनुहुन्छ । बोलि, ब्यावहार, सहयोग, आत्मियता जस्ता धेरै गुण सम्पन्न भलाद्मी ब्यक्तित्व जे सर प्रति हार्दिक नमन 🙏

  •  1 Reply

तपाईको प्रतिक्रिया