आफ्नै बुवाले क्यानडा भनेर पठाएका प्रवीण यूएईमा ६ महिना अलपत्र परेपछि नेपाल फर्किए

 मंसिर १२, २०७८ आइतबार १०:४४:१९ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – ‘छोरा क्यानडाबाट राम्रो कामको अवसर आएको छ, तिमी अब अस्ट्रेलिया हैन, क्यानडा जाऊँ,’ अस्ट्रेलिया जाने तयारी गरिरहेका काठमाण्डौ कीर्तिपुरका प्रवीण डंगोललाई आफ्नै बुवाले भने ।

प्रवीणलाई लाग्यो ‘पढेर आइइएलटीएसमा राम्रो अङ्क ल्याउँदा पनि अस्ट्रेलियाको भिसा लाग्छ लाग्दैन, वर्किङ भिसामै क्यानडा जान पाइन्छ भने त किन दुःख बेसाउनु ।’

प्रवीणका बुवा म्यानपावरमा एजेण्टको काम गर्थेँ । बुवाले पठाएका धेरैले राम्रो काम र कमाइ गरेको देख्नुभएका प्रवीण आफूले पनि कमाइ गर्नेमा विश्वस्त हुनुहुन्थ्यो । उहाँको विश्वासको पछाडिको एउटै कारण एजेण्ट आफ्नै बुवा हुनु थियो ।

‘आफ्नै बुवामाथि अविश्वास कुन छोराले गर्छन् र,’प्रवीण प्रश्न गर्दै भन्नुहुन्छ,‘मैले पनि बुवाले भनेको कुरामा विश्वास गरेँ, तर म्यानपावरले मलाई मात्र होइन मेरो बुवालाई समेत ठगिदियो ।’

क्यानडाको आसमा...

कुरा करिब डेढ वर्ष अघिको हो । कोरोनाको पहिलो लहर केही कम हुँदै थियो । प्रवीण लकडाउनको सदुपयोग गर्दै अस्ट्रेलियाको तयारी पनि गरिरहनुभएको थियो । त्यही बेला प्रवीणलाई बुवाले क्यानडामा कामको अवसर आएको कुरा गर्नुभयो । 

म्यानपावरले पनि सबै प्रक्रिया दुबईबाट गर्न मिल्ने भनेर विश्वस्त बनायो । 

अस्ट्रेलियाको लामो प्रक्रिया र झन्झटमा फस्नुभन्दा क्यानडा नै जाने पारिवारिक सहमति भयो । बुवाले एजेण्टको काम गर्ने न्यू एसओएस म्यानपावरमार्फत क्यानडा जाने प्रक्रिया अघि बढाउनुभयो । 

म्यानपावरले प्रवीणलाई भन्यो,‘पहिला दुबई जानुपर्छ, नेपालबाट भिसा लगाउन समस्या हुन्छ, दुबईबाट वर्किङ भिसा लगाएर क्यानडा पठाउँछौँ ।’

जहाँबाट भए पनि पठाए त भइहाल्यो नि । प्रवीणलाई त्यो बेला यस्तै लाग्यो ।

म्यानपावरले पनि सबै प्रक्रिया दुबईबाट गर्न मिल्ने भनेर विश्वस्त बनायो । 

‘त्यहाँ मेरो आफ्नै छोराहरू छन्, उनीहरूले काम गरिहाल्छन्, केही पिर लिन पर्दैन, यहाँबाट नमिल्ने भएर मात्र हामीले दुई ठाउँमा अफिस राखेर काम गरेका हौँ भन्यो,’ प्रवीण म्यानपावरले भनेको कुरा सुनाउनुहुन्छ ।

प्रवीणले म्यानपावरलाई ९ लाख ५० हजार रुपैयाँबुझाउनुभयो । पैसा बुझाएको केही समयमा भिसा पनि आइहाल्यो । पोहोर सालको दसैँ आउनै लाग्दा प्रवीण भिजिट भिसामा दुबई उड्नुभयो । 

नेपालबाट उड्दा देखेको क्यानडाको सपना दुबई विमानस्थल पुगेपछि सकिए बराबर भयो । 

विमानस्थलमा ओर्लनु त भयो । तर नयाँ ठाउँ, नयाँ परिवेश । कहाँ जाने थाहा छैन । लिन कोही आएनन् । 

साथमा लगेको एक हजार अमेरिकी डलर पनि म्यानपावरले दुबई एयरपोर्टमा मानिस लिन आउँछ दिनु भनेको थियो । 

नभन्दै पैसा लिन मान्छे आयो । म्यानपावरले भने झैँ प्रवीणले पनि साथमा भएको एक हजार डलर त्यही मानिसलाई दिनुभयो । 

‘त्यहाँ पैसा लिन त मान्छे आयो तर मलाई लिन आएन, त्यो बेला नै मलाई लाग्यो कि, यिनीहरूको चाला ठिक छैन, म ठगीमा परेँ,’ प्रवीण त्यो दिन सम्झनुहुन्छ । 

विमानस्थल बाटै बुवालाई फोन गर्नुभयो । बुवाले म्यानपावरमा कुरा गरेपछि बल्ल त्यहाँका स्थानीय एजेण्टको नम्बर मिल्यो । 

एजेण्टलाई फोन गर्नुभयो । त्यसपछि बल्ल उहाँ विमानस्थलबाट निस्किएर एजेण्टले भनेको ठाउँतिर लाग्नुभयो । 

क्यानडा भनेर गएको मानिसले दुबई एयरपोर्टमा भोगेको समस्याले नै प्रवीणको मन खल्लो भयो । 

भन्नुहुन्छ,‘मसँग जाने अरू कोही पनि थिएनन्, एक्लै थिए, कहाँ जाने थाहा छैन, एउटाले के भन्छ अर्कोले के भन्छ, त्यो दिन सम्झँदा त अहिले पनि नरमाइलो लाग्छ ।’

एजेण्टले भनेको ठाउँमा पुग्दा त अझ अर्कै दृश्य देख्नुभयो । उहाँजस्तै कामको खोजीमा, एजेण्टको विश्वासमा, भिजिट भिसामा पुगेकाहरू थुप्रै थिए । साँचेका सपना र जाने गन्तव्य भने फरक फरक बोकेर उनीहरू एउटै कोठामा थुनिएका थिए ।

एजेण्टले कहिले पठाउँछ पनि थाहा छैन । काम पाइन्छ या पाइँदैन त्यसबारे पनि जानकारी छैन । छ त केबल एक दिन त काम पाइएला भन्ने आशा मात्रै ।

त्यही सङ्ख्यामा थपिनुभयो प्रवीण पनि । 

‘बुवाले नै चिनेको म्यानपावरले मलाई चाहिँ यस्तो झुलाएर नराख्ला भन्ने सोच्थेँ, मन बुझाउँथेँ,’ प्रवीण भन्नुहुन्छ,‘अन्य साथीहरूले त भन्थेँ कि हामी यति महिनादेखि यहाँ आशै आसमा बसेका छौँ, खै केही भएको छैन, उनीहरूको कुरा सुन्दा मेरो त त्यस्तो नहोला जस्तो लाग्यो ।’

एजेण्टले त्यहाँ पुगेको १५ दिनभित्र क्यानडा उडाउँछु भनेका थिए भन्न त । त्यही आसमा दिनहरू बित्दै गए । प्रवीणसँग अरूको भन्दा फरक भरोसा म्यानपावरमै एजेण्टको काम गर्ने आफ्नो बुवा थिए । 

‘बुवाले नै चिनेको म्यानपावरले मलाई चाहिँ यस्तो झुलाएर नराख्ला भन्ने सोच्थेँ, मन बुझाउँथेँ,’ प्रवीण भन्नुहुन्छ,‘अन्य साथीहरूले त भन्थेँ कि हामी यति महिनादेखि यहाँ आशै आसमा बसेका छौँ, खै केही भएको छैन, उनीहरूको कुरा सुन्दा मेरो त त्यस्तो नहोला जस्तो लाग्यो ।’

आज, भोलि भन्दा भन्दै एक महिना बित्यो । एजेण्टले राखेको भाखामा पनि थप १५ दिन बित्यो । पासपोर्टमा लागेको भिसा सकियो । तर न क्यानडा जाने कुनै प्रक्रिया भयो न त यूएईमै बस्नेबारे कुनै ठेगान । 

कामको आसमा लाखौँ रुपैयाँ फसाएर अर्काको देशमा पुगिसकेपछि एजेण्टको भरोसा गर्नुबाहेक अर्को विकल्प बाँकी हुँदैन । त्यही बाध्यतालाई हतियार बनाएर एजेण्टहरुले पनि आश्वासन दिन छाड्दैनन् । 

अनेक कुरा सुनाउँछन् । अनेक आश्वासन दिन्छन् । उनीहरू जान्छन् । अनि उनीहरूले दिएको आश्वासन पनि उनीहरूसँगै जान्छ । कामको आशामा बसेकाहरू कोठामै हुन्छन् । यो क्रम लामो समयसम्म चल्यो । 

‘सुरुमा जानेसँग मिठा कुरा गर्छन्, हुन्छ भन्छन्, राम्रो होटेलमा या राम्रो सुविधा भएको कोठामा राख्छन्, त्यसपछि अर्को ठाउँमा सार्छन्,’ प्रवीण सुनाउनुहुन्छ,‘उनीहरूले त्यहाँ पुगेपछि पैसाको अर्को बार्गेनिङ पनि गर्न थाल्छन्, जति समय बित्दै गयो उनीहरूले गर्ने व्यवहार पनि बद्लिँदै जान्छ ।’

आफूले क्यानडाकै लागि भनेर म्यानपावरलाई साढे ९० लाख रुपैयाँ बुझाएको कुरा पटक पटक राख्नुभयो त्यहाँका एजेण्टसँग पनि । 

प्रवीणलाई पनि क्यानडाको वर्क परमिट आयो भनेर केही कागजात देखाए । त्यो परमिट देखाउँदै अब क्यानडा जाने हो भने पैसा थप्नु पर्छ भनेर दबाब दिन थाले एजेण्टले । तर प्रवीण आफ्नो कुरामा अडिग रहनुभयो । 

आफूले क्यानडाकै लागि भनेर म्यानपावरलाई ९ लाख ५० हजार रुपैयाँ बुझाएको कुरा पटक पटक राख्नुभयो त्यहाँका एजेण्टसँग पनि । 

यहीबिचमा दसैँ आयो । दसैँ तिहारको बहानामा एजेण्टले दुई महिना यसै झुलाइदिए । भिसा सकिएपछि यहाँ बस्न हुँदैन भन्थेँ कतिपयले  । कतिपयले चाहिँ आफ्नै पैसामा भिसा थप काम भइहाल्छ कि भनेर सुझाव पनि दिन्थेँ । तर प्रवीणसँग पैसा थिएन । सहकारीबाट निकालेको ऋणको ब्याज तिर्नै धौ धौ भइसकेको थियो घरमा ।

‘पैसा त कसरी दिने, भिसा थपेर पनि के गर्ने, तिनीहरूको पारा देखेर मलाई त्यो बेलासम्म लगभग यिनीहरूले काम गर्दैनन् भन्ने लागिसकेको थियो,’ प्रवीण भन्नुहुन्छ ।

क्यानडाको सपना देखाएर दुबईमा चार महिना अलपत्र पारेपछि एजेण्टले दुबईमै काम खोज्दिन्छु भन्न थाले । 

‘क्यानडा भनेर हिँडेको मानिस, दुबईमा किन काम गर्नु, मैले त हुन्न भने,’ त्यो बेलामा प्रवीणलाई दुबईमा काम गर्नुभन्दा नेपाल फर्कनु नै उत्तम लाग्यो । 

दुबई मै काम गर्न गएकाले पनि काम नपाएको आफ्नै आँखाले देखेपछि प्रवीणले एजेण्टको अर्को झुटमा नफस्ने निधो गर्नुभयो ।

नेपाल नै फर्कने निधोपछि म्यानपावर मालिका छोरा भनिएका व्यक्तिसँग कुरा गर्नुभयो । तर उनीहरूले सधैँ झुटकै खेती गरे । 

नेपालमा पाइला टेकेको दिनदेखि प्रवीण फसेको ९ लाख ५० हजार रुपैयाँ फिर्ता लिन वैदेशिक रोजगार विभागमा धाइरहनुभएको छ । 

भिसा छैन । ओभरस्टे बसेबापतको पैसा तिर्ने हैसियत पनि बाँकी रहेन । एजेण्टले नेपाल फर्काउनेवाला थिएन । तर त्यही बेला यूएई सरकारले ओभरस्टे भएर बसेकाहरूलाई बिना जरिवाना स्वदेश फर्कन सक्ने अवसर दियो ।

त्यसका लागि आवश्यक प्रक्रिया गर्नुभयो प्रवीणले पनि । टिकटको बन्दोबस्तो घरबाट बुवाले नै गरिदिए । ६ महिना यूएईमा बिताएर प्रवीण २०७७ चैतमा घर फर्कनुभयो । 

क्यानडाको आसमा पढाइ छुट्यो । नेपालमा गरिरहेको जागिर पनि गुम्यो । पैसा फस्यो । यूएईमा अनेकन् दुःख र कष्ट भोग्न पर्‍यो ।

६ महिनाको भोगाइले प्रवीणलाई वैदेशिक रोजगारीको नाममा आफ्नैले आफ्नालाई ठग्दा रहेछन् भन्ने पाठ सिकाएको छ ।

प्रवीण भन्नुहुन्छ,‘आफ्नै बुवालाई अविश्वास कसरी गर्नु, बुवाले भनेपछि मैले पनि होला भन्ठाने, किनभने यसअघि बुवाले पठाएका अरू मान्छेले यस्तो समस्या भोग्न परेको थिएन, तर म्यानपावरका मान्छेले बुवालाई नै ठगिदिए ।’

नेपालमा पाइला टेकेको दिनदेखि प्रवीण फसेको ९ लाख ५० हजार रुपैयाँ फिर्ता लिन वैदेशिक रोजगार विभागमा धाइरहनुभएको छ । 

झण्डै ९ महिना लाग्यो नेपाल फर्किएको पनि । प्रवीणलाई अहिले त फसेको पैसा फिर्ता आउला भन्ने आशा पनि मर्न थालेको छ, तर हार भने मानेको छुइन ।’

अन्तिम अपडेट: पुस ९, २०७८

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया