दक्षिण अफ्रिकामा कोरोनाकाे नयाँ भेरियन्ट भेटिएपछि बेलायद्वारा ६ देशसँगको हवाई उडान बन्द

 मंसिर १०, २०७८ शुक्रबार १८:४६:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – दक्षिण अफ्रिकामा धेरै 'म्युटेशन' भएको कोरोना भाइरसको नयाँ रूप भेटिएपछि बेलायतले दक्षिण अफ्रिकासहित ६ देशसँगको हवाई उडान बन्द गरेको छ । निकै घातक र अहिले भइरहेका खोपको प्रभावलाई जित्न सक्ने ठानिएको नयाँ भेरियन्ट भेटिएपछि बेलायतकाे ६ देशसँगकाे उडान बन्द गरेको बीबीसीले जनाएको छ ।

उडान बन्द गरिएका देशहरूमा दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटी रहेका छन् । नयाँ भेरियन्ट अहिलेसम्म दक्षिण अफ्रिका, हङकङ र बोत्स्वानामा गरी ५९ जनामा पुष्टि भएको छ ।

नयाँ भेरियन्ट अर्थात् रूपलाई विज्ञहरूले अहिलेसम्मको सबैभन्दा खराब रूप भनेका छन् । बेलायतका स्वास्थ्यमन्त्री शाजिद जाभेदले वैज्ञानिकहरू नयाँ भेरिअन्टका कारण चिन्तित भएको भन्दै यसबारे थप अध्ययन आवश्यक रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का विज्ञहरूले दक्षिण अफ्रिकाका विज्ञहरूसँग नयाँ भेरियन्टबारेमा छलफल गरिरहेका बीबीसीले जनाएको छ । जर्मनीले पनि नयाँ भेरियन्टको सङ्क्रमण दर रोक्न दक्षिण अफ्रिकाबाट हुने अरू देशका नागरिकको यात्रामा प्रतिबन्ध लगाएको छ भने आफ्नो देशका नागरिकलाई १४ दिन क्वरेण्टीन अनिवार्य गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया