भूकम्पले क्षति गरेकोमध्ये ५२ प्रतिशत सम्पत्ति पूर्ण रुपमा पुनरुत्थान भएको अध्ययन प्रतिवेदन सार्वजनिक

 मंसिर ११, २०७८ शनिबार १८:५७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भूकम्पले क्षति गरेकोमध्ये ५२ प्रतिशत सम्पत्ति पूर्णरुपमा पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ ।

२०७२ सालको भूकम्पपछि क्षतिग्रस्त सम्पतिको पुनरुत्थान  सम्बन्धी अनुसन्धान प्रतिवेदनमा अहिलेसम्म ५२ प्रतिशत सम्पत्ति पूर्णरुपमा पुनरुत्थान र ४८ प्रतिशत आधा मात्रै पुनरुत्थान भएको उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको नेतृत्वमा गरिएको अध्ययन प्रतिवेदन आज सार्वजनिक गरिएको हो । सम्पत्तिको पुनरुत्थानमा घर पुनर्निर्माण गर्न ९० प्रतिशत प्राधिकरणको सहयोग लिएको प्रतिवेदनले देखाएको छ।

रेमिट्यान्सबाट १८ प्रतिशत, २० प्रतिशत पुरानो सम्पत्ति बेचेर र ८५ प्रतिशत विभिन्न संघसंस्थाले दिएको सहयोगमार्फत पुनरुत्थान गरेको उल्लेख छ । त्यस्तै पुनरुत्थानपछि सम्पत्तिको मूल्य ४ गुणाले बढेको प्रतिवेदनले देखाएको छ । भूकम्पपछि ५ लाख ४ हजार रहेको सम्पत्ति अहिले ४ गुणाले बढेर २२ लाखसम्म पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

यसरी मूल्य बढ्नुमा भूकम्प भन्दा अगाडि सडक नपुगेका ग्रामीण क्षेत्रमा समेत सडक बाटो पुगेकाले तथा सामाजिक अर्थतन्त्रमा आएको परिवर्तन र बजारको विस्तारले सम्पत्तिको मूल्य ४ गुणाभन्दा बढीले बढेको छ ।

अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका विष्णु भण्डारीले भूकम्पपछि विभिन्न विषय र पक्षमा अध्ययन अनुसन्धान भए पनि अर्थतन्त्रसँग जोडिएको विषयमा अनुसन्धान नभएकाले यो एउटा महत्त्वपूर्ण दस्ताबेज भएको बताउनुभयो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख शिवप्रसाद अधिकारीले भूकम्पपछि सम्पत्तिको पुनरुत्थान अनुसन्धान गर्नु कठिन भए पनि अनुसन्धान प्रतिवेदन आएको बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया