मौसम सफा हुन अझै केही दिन लाग्ने : चिसोसँगै प्रदूषण पनि बढेकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह

 मंसिर १२, २०७८ आइतबार ७:४०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मौसम धुम्मिएकाले देशभर चिसोसँगै प्रदूषण पनि बढेको छ । स्थानीय प्रभावका कारणले प्रदूषण बढेर आकाश खुल्न नसकेकाले मौसम धुम्मिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो ।

उहाँका अनुसार तत्काल हावा चल्ने र पानी पार्ने कुनै पनि मौसमी प्रणाली छैन । तत्काल पश्चिमी वायुको प्रभाव रहने नदेखिएकाले केही दिन मौसम धुम्म नै रहनेछ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । चिसो बढ्दै गएको छ । चिसोसँगै प्रदूषण पनि बढेको छ । सहरीकरण, जथाभाबी आगो बाल्नु तथा फोहोर जलाउनु, पानी नपर्दा धुलो बढ्दै गएकाले प्रदूषणको मात्रा बढेको वातावरण विभागले जनाएको छ ।

चिसो र प्रदूषण सँगसँगै बढेकाले स्वास्थ्यमा चुनौती थपिएको छ ।  यो बेला विशेषगरी बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी जोखिम हुने डाक्टरले बताएका छन् ।

यो बेला रुघाखोकी, घाँटी दुख्ने, निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी रोगले सताउन सक्ने भएकाले सावधानी अपनाउन वीर अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुङ्गानाको आग्रह छ। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया