एक परदेशीको भोगाइमा २०२१

 पुस १६, २०७८ शुक्रबार १६:५०:११ | नारायण कोइराला
unn.prixa.net

अङ्ग्रेजी नयाँ वर्ष सुरु हुने दिन जनवरी एक । यसपालि पनि जनवरी आयो । यो आइरहन्छ ।

समय चक्रलाई कसले रोक्न सक्छ र ? हामी सोच्छौ हाम्रो हातमा सब थोक छ तर हाम्रो सोचलाई समयले नै गलत बनाइदिन्छ । 

नगएको समय फर्किएर आउँछ न त परिस्थिति । एकपल्ट गएपछि त्यो गइहाल्छ । फेरि फर्केर आउँदैन । 

अहिले म यूएईमा छु । यहाँ अङ्ग्रेजी नयाँ वर्षलाई नै नयाँ वर्षको रूपमा मनाइन्छ । तर ज्यान जहाँ भए पनि मन त नेपाली हो नि । हाम्रो नयाँ वर्ष त वैशाखमा हो । जे होस् सन् २०२१ हामीबाट बिदा लिएर जाँदै छ अथवा हामी २०२१ लाई बिदाइ गर्दैछौं ।

यो वर्ष पनि परदेशीहरूको लागि अर्थपूर्ण भन्दा पनि सङ्घर्षपूर्ण नै रह्यो । कतिले परदेशी भूमिमा नोकरी गुमाए । कतिले स्वदेश फर्कन पनि रुन पर्‍यो त कोरोना महामारीको कारण कतिपय दाजुभाइ दिदीबहिनीले अकालमै ज्यान गुमाउन पर्‍यो । कतिपय कम्पनीहरू बन्द हुँदा श्रमिकमा पिर चिन्ता रहिरह्यो । 

तर वर्षको मध्यतिर अवस्था केही सामान्य हुँदै जाँदा फेरि सुखी आफैँ फर्किए झैँ भयो । 

कतिपय श्रमिकहरूले घर बिदामा गएर आफ्नो परिवारसँग छुट्टी बिताउने सौभाग्य पनि पाए । घर जाँदा झेल्नु पर्ने समस्याभन्दा पनि घरपरिवार र आफन्तसँग भेट्न पाउँदा संसारै जीते सरह भयो । 

अब त कोरोना कालमा भोगेको त्यो कालो दिन भोग्न नपर्ला भन्ने आशा सबै नेपाली श्रमिकको मनमा थियो । पोहोरभन्दा यसपालि त नयाँ वर्षको खुसी पनि फरक होला भन्ने मेरो आस थियो । 

तर नयाँ वर्ष लाग्दै गर्दा कोरोनाको अर्को त्रास सुरु हुँदै छ यहाँ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले फेरि नियमहरू कडा बनाउँदै लगेको छ । मास्क अनिवार्य गरिएको छ । 

मास्क नलगाई हिँड्ने अनुमति कसैलाई पनि छैन । हिँड्नु पनि हुँदैन । आफ्नो ज्यान र जरिवाना दुवैको ख्याल गर्नपर्छ । यदि जरिवानामा परियो भने परदेशी भूमिमा तिर्नका लागि महिनौँ लाग्छ । 

यहाँका कानुन सजिलै मिच्न सकिँदैन । नियम यदि पालना नगरेमा लाग्ने जरिवानाबाट बच्न पनि सकिँदैन । 

नियम र कानुनको ख्याल गर्दै कोरोनाबाट बच्दै नयाँ वर्ष मनाउन पर्छ हामी परदेशीले पनि । तर हामीले नयाँ वर्षको नाममा मनपरी गर्न भने हुँदैन । हामी परदेशीको एउटा बानी छ बहाना जे सुकै होस् बोतल ल्याउने र खाने । 

हुन त यो नितान्त आफ्नो व्यक्तिगत इच्छाको कुरो हो । तर बोतलमा रम्दैमा खुसीयाली हुने र नरम्दा नहुने भन्ने हुँदैन । त्यसमाथि यो त परदेश हो नि । घर देश जस्तो कहाँ हुन्छ र । 

तर कतिपयले यसलाई स्वतन्त्रताको रूपमा पनि बुझ्छन् । न घर परिवारको कचकच न कसैको रोक तोक । यदि हामी दुःखले परदेशिएका हौ भने हामीले दुःख बुझ्न पर्छ । 

समय अनुकूल नभएको बेलामा आफैलाई बिन्दास बनाउनु भन्दा पनि समय अनुकूल चल्नुपर्छ । परदेशी भूमिमा खाने, होहल्ला गर्ने र झैँ झगडा गर्ने नगरौँ । 

बरु नयाँ वर्षमा केही नयाँ सङ्कल्प गरौँ । आफ्नो अधुरा सपना पूरा गर्ने अठोट राखौँ । 

अङ्ग्रेजी नयाँ वर्ष २०२२ को स्वदेश तथा विदेशमा रहनुभएका तपाईँ सबैमा शुभकामना ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया