पाँचथर : फालेलुङमा भएकाे आगलागीबाट १ करोड ९० लाख रुपैयाँ बराबरको क्षति

 पुस २२, २०७८ बिहिबार ११:१:५७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा भएको आगलागीबाट १ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

गएराति स्थानीय जितबहादुर मेयोङबा, रामजित राई र मनबहादुर राईको घरमा आगलागी हुँदा त्यति क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) राकेश थापाले बताउनुभयो । 

जितबहादुर मेयोङबाको घरमा विद्युत् सर्ट भइ आगलागी भएकाे प्रहरीले जनाएको छ। आगलागीबाट ३ वटै घर जलेर नष्ट भएको छ भने जितबहादुरको घरमा रहेको डेरी, किराना पसल जल्दा ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

उहाँकाे घरमा रहेको कांग्रेस वडा कार्यालयकाे फर्निचर, कागज–पत्र जल्दा ५७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ । यस्तै रामजित राईको तीन तले घर जल्दा ३५ लाख बराबरको र त्यही घरमा भएको टेलर्स जल्दा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

मनबहादुर राईकाे दुई तले घर जल्दा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ । उहाँकाे घरमा रहेको आईएमई मनिट्रान्सफरकाे कार्यालय जल्दा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जुत्ता पसल जल्दा १० लाख बराबरकाे तथा दुई तोला सुन र त्यही घरमा धनप्रसाद राईले सञ्चालन गर्नुभएकाे किराना पसल र कम्प्युटर सेन्टर जल्दा २१ लाख रुपैयाँ बराबरको क्षति भएको पाँचथर प्रहरीले जनाएको छ ।

सुरेन्द्र राईले मनबहादुरकाे घरमा सञ्चालन गर्दै आउनुभएकको फेन्सी पसल र अलैँची गोदाम जल्दा २० लाख बराबरको क्षति भएको छ भने रञ्जना राईको टेलर्स जल्दा १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

फिदिमबाट गएको दुई वटा दमकल, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आज बिहान १ बजे आगाे नियन्त्रणमा लिइएकाे थियाे । 

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया