बजेट समाजवाद उन्मुख छ : अर्थमन्त्री खतिवडा

 जेठ २०, २०७५ आइतबार १८:३९:४३ | उज्यालो सहकर्मी

काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट राष्ट्रिय अर्थतन्त्र मजबुद बनाउने खालको रहेको बताउनुभएको छ ।

अर्थमन्त्री खतिवडाले बजेट दिशाहिन नरहेको दाबी गर्नुभयो । उहाँले बजेट समृद्धिमार्फत् समाजवाद निर्माण गर्ने दिशामा उन्मुख रहेको उललेख गर्नुभयो । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले बजेट उद्देश्यमूलक रहेको बताउनुभयो । अर्थमन्त्री खतिवडाले नागरिकको न्यूनतम आवश्यक्ता पूरा गर्दै बजेटले काम र रोजगारीलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले हरेकलाई उत्पादनसँग जोड्ने दर्शन बजेटमा उल्लेख गरिएको बताउनुभयो । भ्रष्टचारलाई रोक्न सुशासनको ब्रेकलाई बजेटमा उच्च प्राथमिकता दिएको अर्थमन्त्री खतिवडाको तर्क छ । उहाँले बजेट संघीयता विरोधी नरहेको बताउनुभयो । संघीयता अन्तरगत प्रदेश र स्थानीय तहको क्षमता अनुसार बजेट वियोजन गरिएको उहाँको भनाई छ । अर्थमन्त्री खतिवडाले आफूले सांसदहरुलाई अपमानित गर्ने कुनै नियत नराखेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री खतिवडाले बजेट कार्यान्वयमा ध्यान दिन सांसदहरुको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले सामाजिक सुरक्षाको कार्यक्रमलाई अघि बढाउने दृढता पनि व्यक्त गर्नुभयो । अर्थमन्त्री खतिवडाले  संघीयतालाई धान्नका लागि राजस्व संकलनलाई जोड दिइएको पनि बताउनुभयो ।

उहाँले सरकारले अर्थतन्त्रलाई अघि बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने पनि स्पष्ट पार्नुभयो । प्रदेश र स्थानीय तहमा संस्थागत संरचना नबनेकाले धेरै बजेट छुटयाउने गल्ती नगरिएको मन्त्री खतिवडाको स्पष्टिकरण छ ।

उहाँले बजेट प्रगतिशील कर प्रणालीमा आधारित रहेको दाबी गर्नुभयो । अर्थमन्त्री खतिवडाले लगानी बढाउनका लागि सरकारले सार्वजनिक निजी आर्थिक ऐन ल्याउने योजना पनि बजेटमा व्यवस्था गरिएको पनि बताउनुभयो ।

उहाँले प्रधानमन्त्री कार्यालयमा बजेट केन्द्रित भएको भन्ने भनाईमा सत्यता नरहेको दाबी गर्नुभयो । ८ प्रतिशतको आर्थिक वृद्धिदर गराउन आफू सफल हुने उहाँको भनाई थियो । अर्थमन्त्री खतिवडाले वित्त आयोगका सचिवालयको सुत्र अनुसार बजेट विनियोजन गरिएकाले यसमा विभेद भएको भन्न नमिल्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया