व्यक्ति हत्याको धम्की दिने मन्त्री यादवलाई पदमुक्त गर्न नागरिक समाजको अपिल

 माघ ७, २०७८ शुक्रबार १३:३२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिक समाजले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सरकारसँग माग गरेको छ ।

माघ ५ गते बुधबार मधेश बलिदानी दिवसको दिन रौतहटको गौरमा भएको कार्यक्रममा मन्त्री यादवले व्यक्तिहत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकोप्रति नागरिक समाजले आपत्ति प्रकट गरेको छ । डा. केदारनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले निकालेको संयुक्त अपिलमा बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतको हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु देशमा देखिएको दण्डहीनताको प्रतिफल भएको उल्लेख छ ।

वि.स. २०६३ साल चैत ३ गते भएको गौर हत्या काण्डमा २८ जना माओवादी समर्थकको ज्यान गएको थियो । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत) को नाम लिएर गौर हत्याकाण्ड जसरी नै घेरा हाली डाक्टर राउतको ज्यान लिने धम्की दिएको सार्वजनिक भएको र यस्तो धम्की दिने व्यक्ति पदमा रहन अयोग्य रहेको नागरिक अगुवाको भनाइ छ । उनीहरुले मन्त्री यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।  
 

अन्तिम अपडेट: चैत १५, २०७८

तपाईको प्रतिक्रिया