जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाइने

 माघ ७, २०७८ शुक्रबार १५:१७:४८ | एजेन्सी
unn.prixa.net

जापानमा कोरोना भाइरस विरुद्धकाे फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजर खोप लगाउने निर्णय गरेको  चिनियाँ समाचार संस्था  सिन्ह्वाले जनाएको छ । तथ्याङ्क अनुसार जापानमा ५ देखि ११ वर्षसम्मका बालबालिका ८० लाख रहेका छन् । उनीहरूलाई आउँदो मार्चदेखि खोप लगाउन सुरु गरिनेछ ।

फाइजर खोप अमेरिकी र जर्मनी कम्पनीले सहकार्य गरेर विकास गरेका हुन् । जापानले १२ वर्षभन्दा माथिको उमेर समूहका नागरिकलाई यसअघि नै खोप उपलब्ध गराइसकेको छ ।

कोरोना भाइरसका नयाँ नयाँ भेरियन्ट आइरहेकाले त्यसबाट जोगाउन खोप नै सबैभन्दा भरपर्दो र उपयुक्त उपाय भएकाले बालबालिकामा पनि खोप लगाउने निर्णयमा पुगेको जापानका मन्त्री नोरिको होरिउचीले बताउनुभएको छ ।

जापान सरकारले निर्णय गरे पनि बालबालिकालाई खोप लगाउनेबारे कतिपयले विमति पनि जनाएका खबरमा उल्लेख छ ।

विमति राख्नेहरु भए पनि सरकारले सरोकारवाला तथा विज्ञको रायका आधारमा बालबालिकालाई खोप लगाउने निर्णयमा पुगेको मन्त्री होरिउचीको भनाइ छ । अन्य देशहरूमा गरिएको परीक्षणका क्रममा फाइजर खोप बालबालिकाका लागि ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पनि उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया