भेरोसेल खोपको अभाव : बुस्टर डोजका रुपमा कोभिशिल्ड वा एस्ट्राजेनेका दिने तयारी

 माघ १५, २०७८ शनिबार ७:३४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर भेरोसेल खोपको अभाव भएको छ । खोप अभाव भएपछि पहिला तालिका निकालेका केही पालिकाले खोप अभियान स्थगित गरेका छन् ।

केन्द्रबाट खोप नआएको भन्दै पालिकाले अभियान स्थगित गरेका हुन् । यस्तै दूध उत्पादन, सङ्कलन, प्रशोधन तथा बिक्रीवितरणमा खटिने झण्डै ३० हजार जनालाई बुस्टर डोज दिने व्यवस्था मिलाइदिन सरकारलाई आग्रह गरेको भए पनि खोप नहुँदा समस्या भएको छ । उनीहरुमध्ये धेरैले यसअघि भेरोसेल खोप लगाएका थिए ।

भेरोसेलको बुस्टर डोज लगाउन चौतर्फी माग भए पनि आपूर्ति नहुँदा समस्या भएको हो । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागमा भेरोसेल खोपको बुस्टर डोज माग गर्नेहरु बढेका छन् । सरकारले माघ २ देखि अग्रपङ्क्तिमा खटिने, माघ १४ देखि ६० वर्षमाथि र पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिने भनी २०७८ पुस ९ गते निर्णय गरेको थियो ।

सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा एस्ट्राजेनेका खोप दिइने तयारी गरेको छ ।

कोरोना भाइरसविरुद्ध कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डाेजमा कोभिशिल्ड वा एस्ट्राजेनेकाको खोप दिइने भएको हो । विदेशमा पहिलो मात्रा कोभिशिल्ड, एस्ट्राजेनेका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकालाई पनि दोस्रो डोज कोभिशिल्ड दिइने मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया