हाम्रो पात्रोकाे 'टेलीहेल्थ' सेवाबाट ३ महिनामा ५ सयभन्दा बढी कल सम्पन्न

 माघ २१, २०७८ शुक्रबार १४:३८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालकाे लोकप्रिय एप हाम्रो पात्रोले ल्याएको टेलीहेल्थ सेवामा तीन महिनामा पाँच सयभन्दा बढी कल सम्पन्न भएको छ । मात्र तीन महिनाअघि डाक्टरलाई कल गर्न सकिने यो सुविधा प्रयोगकर्ताहरूमाझ लिएर आएको हाम्रो पात्रोमा अहिले ५० भन्दा धेरै विशेषज्ञ डाक्टरहरू उपलब्ध छन् । आफ्नो स्वास्थ्य समस्याअनुसारको आवश्यक परामर्श घरमै बसेर सजिलै लिन मिल्ने अनि विशेषज्ञ डाक्टर खोज्दै अस्पताल जान नपर्ने भएपछि प्रयोगकर्ताहरूले छोटो समयमै यो सुविधालाई माया दिए । यसरी पाँच सय कल पूरा हुँदा बाल रोग विशेषज्ञ, आन्तरिक चिकित्सा र स्त्री रोग विशेषज्ञसँग धेरै परामर्श लिइएको देखिएको छ भने भक्तपुर, काठमाण्डाै र पोखराबाट धेरै कल आएको छ । 

यस अवसरमा हाम्रो पात्रो, इंक. का कार्यकारी निर्देशक (सीईओ) शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदारहरूलाई धन्यवाद व्यक्त गर्नुभएकाे छ । ‘यति छोटो समयमा प्रयोगकर्ताहरूले हामीलाई देखाउनुभएको विश्वास सराहनीय छ । म सम्पूर्ण प्रयोगकर्ताहरूलाई उहाँहरूको समर्थन र विश्वासका लागि आभार व्यक्त गर्दछु । उहाँहरूको सकारात्मक प्रतिक्रियाले टेलीहेल्थ सुविधामा नयाँ विशेषताहरू थप्न हामीलाई थप हौसला प्राप्त भएको छ । हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई आवश्यक हुँदा घरबाटै कम शुल्कमा विज्ञ डाक्टरको परामर्श दिनु हो ।’

स्वास्थ्य सेवा प्रविधि प्रयोग गर्दा सहज हुने, कम खर्च लाग्ने र धेरै कुरामा सीमितता नहुने हुँदा स्थानीय डाक्टर या क्लिनिकमा पहुँच नभएका ग्रामीण क्षेत्रका मानिसहरूलाई यो अत्यधिक उपयोगी हुने हाम्राे पात्राेले मानेकाे छ । त्यसबाहेक, प्रयोगकर्ताहरूले फलोअपकाे लागि डाक्टरसँग च्याट गर्न सक्ने र आफूले चाहेको मितिमा क्यालेन्डरमा नै समय लिएर डाक्टरसँग परामर्श लिन सक्ने सुविधा छिट्टै सञ्चालनमा आउँदै छ । साथै, प्रयोगकर्ताहरूले स्वास्थ्यसँग सम्बन्धित कुनै पनि विषयमा छलफल गर्न 'हेल्थ फोरम' र घरमै बसी ल्याब टेस्ट अनि औषधि मगाउन मिल्ने सुविधा पनि हाम्रो पात्रो हेल्थमा चाँडै नै प्रयोगकर्ताहरूले पाउने सीईओ उप्रेतीले बताउनुभयाे । 

टेलीहेल्थ सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरिरहेको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट मात्र दुई सय रुपैयाँमा विज्ञ डाक्टरसँग परामर्श लिन सक्नेछन् ।  

पात्रो हेर्ने, मिति परिवर्तन सुविधासँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो । त्यसपछि हाम्रो पात्रोले नेपाली एपहरूमा नयाँ रेकर्ड कायम गर्दै आएको छ । १० लाख अनि ५० लाख हुँदै एक करोड डाउनलोड पूरा गर्ने हाम्रो पात्रो पहिलो नेपाली एप हो । 

प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रो पात्रोको एप डाउनलोड अथवा अपडेट गर्न सक्नेछन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया