बझाङकाे साइपाल गाउँपालिकामा खाद्यान्न पुग्याे, स्थानीय बासिन्दा खुसी

 माघ २४, २०७८ सोमबार १४:१३:३२ | डीबी बिष्ट
unn.prixa.net

 बझाङ -  बझाङकाे विकट तथा दुर्गम साइपाल गाउँपालिकामा खाद्यान्न पुगेकाे छ । बाक्लाे हिमपातपछि खाद्यान्न ढुवानी हुनसकेकाे थिएन । साइपालका स्थानीय बासिन्दा खाद्यान्न पुगेपछि खुसी भएका छन् । 

खाद्य व्यवस्था कम्पनीले भेडा च्याङ्ग्रामार्फत चामल ढुवानी गरेकाे हाे । 

साइपाल गाउँपालिकाको वडा-३ मा पर्ने काँडा, चुकझाड, बाँझचौका, वडा-४ मा पर्ने धुली, लाफडी, सैनगाउँ र वडा-५ को न्युनामा भेडा च्याङ्ग्रामार्फत चामल ढुवानी गरिएको हो । साइपाल गाउँपालिकाका उत्तरी गाउँहरूलाई जोड्ने रस्यालेक पानी लोट्या ठाउँको करिब पाँच किलोमिटर बाटोमा बाक्लो हिउँ जमेको छ ।

हिमपातका कारण खच्चडबाट ढुवानी हुन नसकेपछि भेडा च्याङ्ग्रामार्फत चामल त्यसतर्फ पठाइएको थियो । अहिले सबै वडामा चामल पुगिसकेको ढुवानीको जिम्मा लिएका ठेकेदार कम्पनी कृष्ण भण्डार एन्ड सप्लायर्सका दलबहादुर विष्टले बताउनुभयाे । 

‘स्थानीय बासिन्दाको सहयोगमा भेडा हिँड्न सक्ने बाटो बनाएर चामल पठाइएको छ,’ विष्टले भन्नुभयाे ‘तल्कालका लागि साइपालमा खाद्यान्न अभाव हुने छैन।’

उहाँले खाद्य सङ्कटको सबैभन्दा बढी जोखिम रहेको वडा-५ मा पर्ने न्युना गाउँका ३५ परिवारलाई प्रति परिवार ६० किलो पुग्ने गरी चामल ढुवानी गरेर वितरण गरिसकिएको जानकारी दिनुभयाे । यस्तै धुली र काँडामा पनि केही महिनाका लागि पुग्ने पर्याप्त खाद्यान्न ढुवानी भइसकेको उहाँकाे भनाइ छ । 

माघको पहिलो हप्तामा चामल पुगेको भए पनि फेरि हिमपात भएका कारण चामल ढुवानी हुन नसकेकाे विष्टले बताउनुभयाे । 

‘भोकभोकै परिन्छ कि भनेर गाउँले चिन्तित भएका थिए'  साइपाल गााउँपालिका-४ की अमृता देवि विकले भन्नुभयाे, ‘गाउँमा चामल पुगेपछि अहिले सबैले राहत महसुस गरेका छन् ।’

खाद्यान्न अभावका कारण केही हप्तासम्म यहाँका स्थानीयहरूले दिउँसो एक छाक मात्र खाना खाने गरेको उहाँले बताउनुभयाे।

अहिले ढुवानी भएको चामलले एक महिनासम्म धान्न सक्ने भए पनि हिउँ पर्ने क्रम निरन्तर रहेकाले तत्काल थप खाद्यान्न नपुगे समस्या हुने वडा-५ का वडा अध्यक्ष धनञ्जय बोहराले बताउनु भयाे । 

‘न्यूनामा प्रतिपरिवार दुई बोरा (६० किलो) जति पर्ने गरी चामल पुगेको छ । फेरि हिमपात भएका कारण सामान ढुवानीमा समेत समस्या भएको छ ,’ उहाँले भन्नुभयाे, ‘हिउँ थपिँदै छ । अहिले पठाएको खाद्यान्नले एक महिनासम्म त धान्ला त्यसपछि समस्या हुने देखिन्छ ।’

मौसममा सुधार भए पनि पानलोट्या भन्ने ठाउँको हिउँ फागुन अन्तिम तिर मात्रै पग्लिन सुरु हुने भएकाले ढुवानी गर्न अप्ठ्यारो हुने उहाँले बताउनु भयाे ।

खाद्य व्यवस्था कम्पनीले यो वर्ष साइपाल गाउँपालिकाका लागि तीन हजार क्विन्टल चामलको कोटा छुट्याएको भए पनि अहिलेसम्म १ हजार २ सय क्विन्टल मात्र पुगेको र उत्तरी क्षेत्रमा खाद्य सङ्कटको जोखिम कायमै रहेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताउनु भयाे।

‘वडा-१ र २ सम्म खच्चड नै पुग्ने भएकाले यहाँ खाद्यान्नको समस्या छैन । समस्या उत्तरी क्षेत्रमा बढी हो,’ उहाँले भन्नुभयाे । उहाँले वडा-१ धलौनमा उत्तरी भेगमा पठाउनका लागि ३ सय क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी दिनुभयाे । उहाँका अनुसार चामल ढुवानीमा प्रयोग भएका भेडाहरू पनि बाक्लो हिउँमा हिँडाएका कारण केही मरेको र बाँकी रहेकाहरू पनि निकै थाकेकाले अहिले ढुवानीको काम फेरि बन्द भएको छ ।

गाउँपालिकाको उत्तरी क्षेत्रमा पर्ने काँडा, न्युना, धुली, बलौडी, काया आदि गाउँ जाने बाटोमा पर्ने रस्यालेक लगायतका ठाउँमा जमेको बाक्लो हिउँका कारण यहाँ खाद्यान्न ढुवानी गर्न सकिएको थिएन । हिमपातका कारण बाटो बन्द भएको र घरमा रहेको खाद्यान्न समेत सकिएपछि यहाँका स्थानीयहरू भोकमरी लाग्ने डरमा थिए । 

उच्च हिमाली क्षेत्र अन्तर्गत पर्ने र अन्न उत्पादन न्यून हुने यस गाउँपालिकामा स्थायी डिपो सञ्चालन गरिदिन गाउँपालिका र यहाँका बासिन्दाले प्रदेश सरकारका मुख्यमन्त्री र सङ्घीय सरकारका वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि पटक–पटक अनुरोध गर्दै आएका छन् । तर, सरकारले यस विषयमा सुनुवाइ नगर्दा बर्सेनि यहाँका स्थानीयले समस्या भाेग्नु परेकाे छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया