बझाङ : बाढीले सेती नदीमाथिको झोलुङ्गे पुल बगाएपछि जोखिम मोलेर वारपार गर्दै स्थानीय

 माघ २९, २०७८ शनिबार १८:८:३९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – गएको असोजमा परेको अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले केदार स्युँ गाँउपालिका र थलारा गाँउपालिका जोड्ने झोलुङ्गे पुल बगाएपछि यहाँका स्थानीयवासीलाई समस्या परेको छ ।

वर्षौँ पुरानो झोलुङ्गे पुल बाढीले बगाएपछि थलारा गाँउपालिकाको वडा नम्बर १ र २ का सबै गाँउहरु र डोटी जिल्लाका केही स्थानीयवासीलाई समेत समस्या परेको छ । थलाराका रेगम, पिपलकोट, चुथी, बगडा, मोरायल, खरायल, थापागाँउ, तेलिमाडु लगायत गाँउका स्थानीयलाई सेती नदी वारपार गर्न समस्या भएको छ । यस्तै डोटीका सायल गाँउपालिका अन्तरगत पर्ने बनिया, छपाली, कौराडी, सिर्मा आदी गाँउका स्थानीय पनि यही बोटो भएर आफ्ना कृषिजन्य उत्पादन देउरा बजारमा बिक्री गर्दै आएका छन् । तर पक्की पुल नबन्दा यहाँका स्थानीयलाई दुःख खेप्नु परेको थलाराका स्थानीय देवराज जोशीले बताउनुभयो । 

‘केदार स्युँमा काम विशेषले हाम्रो आवतजावत भइरहन्छ, तर झोलुङ्गेपुल बगाएपछि साह्रै समस्या भएको छ’, उहाँले भन्नुभयो, ‘अहिले गाँउलेहरु मिलेर सेती नदीमा सामान्य काठेपुल त निर्माण गरेका छौँ तर यो पुल पनि निकै जाेखिममा छ । कुन दिन महिला, बालबालीकाहरु सेती नदीमा बगेर जाने हो भन्ने चिन्ताले सताइरहन्छ ।’

यही बाटो भएर थलाराका विभिन्न गाँउका झण्डै ९० जना भन्दा बढी बालबालीकाहरु केदार स्यँु गाँउपालिकामा रहेको बेताल माविमा अध्यनरत छन् । अहिले त जाेखिम मोलेर भए पनि काठेपुलबाट ओहोर दोहोर गरी रहेका भए पनि नदीमा पानीको सतह बढेपछि समस्या हुने थलारा गाउँपालिका–१ का स्थानीय लालबहादुर बोहरा बताउनुहुन्छ ।

‘अब सेती नदीमा पानीको सतह बढ्ने बित्तीकै अहिलेको काठे पुल बगाउँछ, त्यसपछि त सबै बालबालीकाहरुको विद्यालय पढ्ने सपना नै अधुरो रहने देखीन्छ’, उहाँले भन्नुभयो, ‘ यस्तै उपचारका लागि पारी देउरा बजार जाने गरेकोमा पुल बगाएपछि त्यो सुविधाबाट पनि वञ्चित हुने देखिन्छ ।’

यस विषयमा थलारा गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष धर्मराज भट्टले भने पालिकाले यसको समस्या समाधानका लागी पहल गरिरहेको बताउनुभयो  । जिल्ला प्रशासन कार्यालयमा रहेको विपद् व्यवस्थापन समितिको बैठेकमार्फत प्रदेश र संघीय सरकारसँग पुल निर्माणका लागी बजेट माग गरिसकेको उहाँको भनाइ छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया