प्रतिस्पर्धी तीन एसयूभी : टाटा नेक्सन, हुन्डाई भेन्यु र रेनो काइगर, कुनमा कस्ता विशेषता ?

 फागुन ७, २०७८ शनिबार १९:३१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

बजारमा विभिन्न कम्पनीका एसयूभी सेग्मेन्ट अन्तर्गत प्रतिस्पर्धा बढ्दो छ। धेरैको रोजाइ एसयूभी भएकोले कम्पनीहरू यसैको बिक्री तथा वितरणको लागि विशेष जोड दिँदैछन्।

यसैबीच नेपाली बजारमा रुचाइएका तीन एसयूभी हुन् टाटा नेक्सन, हुन्डाई  भेन्यु र रेनाेकाे काइगर । यी तीन माेडल एक अर्काका प्रतिस्पर्धी माेडल हुन् ।  

नेपाली बजारमा टाटा नेक्सनको प्रतिस्पर्धीको रुपमा हुन्डाई को भेन्यु र रेनोको काइगरलाई लिन सकिन्छ। टाटाको नेक्सन, हुन्डाई को भेन्यु र रेनोको काइगर तीनै गाडीमा बिएस–६ कम्प्लायन्टको इन्जिन जडित छ। कम्पनीहरूले गाडीको विशेषता अपग्रेड गर्न कुनै ठाउँ छाडेको छैनन् ।

यी तीन गाडीमा के–के छन् विशेषता र भिन्नता?

टाटा नेक्सनको तौलको कुरा गर्दा यो जम्मा १,२३७ केजी छ। हुन्डाई भेन्युको तौल भने १,११२ देखि १,२५१ केजी हुन्छ। यता रेनो काइगर यी दुईभन्दा कम तौलको छ। यो जम्मा १,०१२ केजी छ। भनेपछि नेक्सनको तौल दुईभन्दा बीचमा पर्ने हुँदा औसत मान्न सकिन्छ।

टाटा नेक्सनको लम्बाइ ३,९९३ एमएम, चौइाइ १,८११ र उचाइ १,६०६ एमएम छ। योभन्दा भेन्युको लम्बाइ बढी छ। यसको लम्बाइ ३,९९५ एमएम, चाैडाइ १,७७० एमएम र उचाइ १,६०५ एमएम छ। उस्तै, काइगरको लम्बाइ भने ३,९९१ एमएम, चौडाइ १,७५० एमएम र उचाइ १,६०० एमएम छ।

टाटा नेक्सनको ह्विलबेस २,४९८ एमएम छ भने भेन्यु र काइगरको ह्विलबेस २,५०० एमएम छ। भेन्युको ग्राउन्ड क्लेरेन्स जम्मा १९० एमएम र काइगरको ग्राउन्ड क्लेरेन्स २०५ एमएम छ। यता नेक्सनको ग्राउन्ड क्लेरेन्स भने यीदुईभन्दा धेरै छ । त्यो भनेको यसमा २०९ एनएम ग्राउन्ड क्लेरेन्स छ। 

बाहिरी आवरण 

५ सिटर नेक्सन, भेन्यु र काइगर तीनवटै एसयूभीको बाहिरी डिजाइन लोभलाग्दो छ। कम्पनीले आफ्नो उत्पादनको आवरणमा विशेष ध्यान पुर्याएको बुझ्न सकिन्छ।

नेक्सनको कुरा गर्दा यसको लुक्स निकै बोल्ड छ भने पछाडिको भागअलि स्लिम छ। नेक्सनको तुलनामा भेन्युको आवरण भिन्न छ। यसमा ठूलो रेडियटर ग्रिल छ र हेडल्याम्पको लागि स्प्लिट थिम छ। नेक्सन र भेन्युमा अगाडि भागमा फग लाइट छ। तुलनात्मक रुपमा काइगरमा भने फग लाइट छैन। त्यस्तै, भेन्यु र नेक्सनमा सन रुफ छ तर काइगरमा छैन। भेन्युको तुलनामा टाटामा डुअल–फङ्सन डे–टाइम रनिङ एलइडी लाइट छ।

तीनैवटा गाडीमा एड्जस्टेबल हेडल्याम्प र रिअर भ्यु ऐना भने पाउन सकिन्छ। यी गाडीहरूमा अलोयह्विलको प्रयोग गरिएको छ। भेन्यु र काइगरको तुलनामा नेक्सन बढी युवा पुस्ताले रुचाउने डिजाइनमा तयार पारिएको छ।

आन्तरिक विशेषता 

टाटा नेक्सन, हुन्डाई भेन्यु र रेनो काइगर तीनवटै गाडीको इन्टेरिअर आधुनिक डिजाइनमा तयार पारिएको छ।

गाडीहरूमा सफा र फराकिलो ड्यासबोर्ड पाउन सकिन्छ। तर तुलनात्मक हिसाबमा नेक्सनको क्याबिन फराकिलो र बढी विशेषताले भरिपूर्ण देखिन्छ। यसमा पूरै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, फराकिलो सेन्ट्रल कन्सोल र थप स्टोरेजको लागि ठाउँ पनि छ। यो डुअल–टोनथिममा आधार भएकोले पनि अझआकर्षक देखिन्छ। नेक्सनमा जस्तै काइगरमा पनि डुअल–टोन ड्यासबोर्ड भने पाउन सकिन्छ।

भेन्यु र काइगरको तुलनामा नेक्सनमालचालक र यात्रुलाई बस्नको लागि फराकिलो ठाउँ छ। त्यस्तै, यात्रु सुविधाको लागि नेक्सनमा अटोमेटिक क्लाइमेट कन्ट्रोलको सुविधा छ। जुन काइगर र भेन्युमा छैन।

सुरक्षा

सुरक्षाको हिसाबमा टाटा नेक्सनले वयस्क सुरक्षाको लागि ग्लोबल एनक्याप टेस्टमा ५ स्टार र बालबालिकाको सुरक्षाको हकमा ३ स्टार रेटिङ पाएको छ। भेन्यु र काइगरले ग्लोबल एनक्यापममा ४ स्टार रेटिङ पाएका छन्।
काइगरमा चार वटा एयरब्याग छन्। नेक्सन र भेन्युमा भने दुई वटा एयरब्याग छन्।

काइगरमा पंचर रिप्येर किटहरू पाइँदैनन् तर नेक्सनमा भने यो किट उपलब्ध गराइएको छ। त्यस्तै, नेक्सनमा हिलहोल्ड कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, ब्रेक असिस्ट र इलेक्ट्रोनिक स्टेबिलिटी जस्ता विशेषताहरू छन् जुन काइगर र भेन्युमा समावेश गरिएको छैन। नेक्सनमा ईबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सर जस्ता सुरक्षाविशेषता पनि छन्। 

यी तीनवटै गाडीमा चाइल्ड सेफ्टी लक विशेषता पाउन सकिन्छ।

इन्जिन र ट्रान्समिसन 

एकै सेगमेन्टको भेन्यु, काइगर र नेक्सनमा सबैभन्दा बढी डिस्प्लेसमेन्ट नेक्सनको छ । नेक्सन १ दशमलव २ लिटर टर्बो रिभोल्ट्रोन पेट्रोल इन्जिन र १ दशमलव २ लिटर टर्बो रिभोल्ट्रोन डिजेल इन्जिन विकल्पमा उपलब्ध छ।

१,१९९ सीसी डिस्प्लेसमेन्ट भएको नेक्सनको पेट्रोल इन्जिन विकल्पमा ३ सिलिन्डर, २ भल्भ, एसओएचसी इन्जिन जडित छ। जसले ५,५०० आरपीएममा १२० पीएस पावर र १,७५०–४,००० आरपीएममा १७० एनएम टर्क जेनेरेट गर्छ। उस्तै डिजेल विकल्पमा उपलब्ध नेक्सनमा १,४९७ सीसी डिस्प्लेसमेन्ट, ४ सिलिन्डर छ। जसले ४,०० आरपीएममा ११० पीएस पावर र १,५००–२,७५० आरपीएममा २६० एनएम टर्क जेनेरेट गर्छ। 

हुन्डाई भेन्यु पनि १ दशमलव २ लिटर कप्पा पेट्रोल र १ दशमलव ५ लिटर यू २ सीआरडीआई डिजेल विकल्पमा उपलब्ध छ। १,१९७ सीसी डिस्प्लेसमेन्ट भएको भेन्यु पेट्रोल इन्जिनमा ४ सिलिन्डर, ४ भल्भ, डीओएचसीइन्जिन जडित छ। जसले ६,००० आरपीएममा ८३ पीएस पावर र ४,००० आरपीएममा ११४ एनएम टर्क जेनेरेट गर्छ। 

यसको डिजेल भर्सनमा भने १,४९३ सीसी डिस्प्लेसमेन्ट छ जसले ४,००० आरपीएममा १०० पीएस पावर र १,५००–२,७५० आरपीएममा २४० एनएम टर्क जेनेरेट गर्छ। रेनोको काइगरमा ९९९ सीसी, ३ सिलिन्डर, ४ भल्भ, डीओएचसी इन्जिन जडित छ। यसले ६,००० आरपीएममा ८२ बीएचपी पावर र ४,००० आरपीएममा ११४ एनएम टर्क जेनेरेट गर्छ। 

पावरको हिसाबमा यी तीन एसयूभीमध्ये सबैभन्दा बढी पावर नेक्सनकै छ। यो पेट्रोल र डिजेल दुवैमा ६ गियर म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ। 

इन्धन क्षमता

नेक्सनको पेट्रोल संस्करणले प्रतिलिटर १७ दशमलव ४ किलोमिटर र डिजेल संस्करणले २२ दशमलव ४ किलोमिटर माइलेज दिन्छ। भेन्युको पेट्रोल संस्करणले प्रतिलिटर १७ दशमलव ५२ किलोमिटर र डिजेल संस्करणले २३ दशमलव ४ किलोमिटरको माइलेज दिन्छ। काइगरले भने प्रतिलिटर १९ दशमलव ३ किलोमिटरको माइलेज दिन्छ। 

अन्य विशेषता

टाटाको नेक्सनमा इको, सीटी र स्पोर्ट गरी तीन ड्राइभिङ मोड छ। भेन्यु र काइगरमा भने याे विशेषता उपलब्ध छैन । यसमा ३५० लिटरको बुट स्पेस छ। भेन्युमा पनि ३५० लिटरको बुट स्पेस छ। रेनो काइगरमा भने ४०५ लिटरको बुट स्पेस पाउन सकिन्छ। 

नेक्सनमा १६ इन्चको अलोय ह्विल छ। काइगरमा पनि १६ इन्चको ह्विल पाउन सकिन्छ। हुन्डाई भेन्युमा भने जम्मा १५ इन्चको ह्विल छ। नेक्सनमा सनग्लाँस होल्डर पनि दिइएको छ। जुन भेन्यु र काइगरमा छैन। 

मूल्य 

नेपालमा नेक्सनको मूल्य ४० लाख ३० हजारदेखि ५३ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ। यो हरियो, सेतो, रातो र ग्रे गरी चार रङ विकल्पमा उपलब्ध छ। 

हुन्डाई को नेपाली बजार मूल्य ३६ लाख ९६ हजारदेखि ५० लाख ५६ हजार रुपैयाँसम्म तोकिएको छ। यो ग्रे, सिल्भर, सेतो, निलो र सुन्तले रङ गरी पाँच रङ विकल्पमा उपलब्ध छ। 

नेपाली बजारमा २८ लाख ४९ हजारदेखि ३७ लाख ६९ हजार रुपैयाँसम्म उपलब्ध काइगर भने निलो, रातो, सिल्भर, ग्रे, सेतो र कालो गरी ६ विभिन्न रङ विकल्पमा उपलब्ध छ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया