देशमा कमाएर ऋण तिर्न नसकेपछि श्रीमानलाई विदेश पठाउन पर्‍याे

 फागुन ११, २०७८ बुधबार ११:४३:१५ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

आरती साह/धनुषा ।

मेरो विवाह १७ वर्षकै उमेरमा भयो । मैले एक परदेशीसँग बिहेको हुँ । आज पनि मेरो श्रीमान् वैदेशिक रोजगारीमै हुनुहुन्छ । तर बिहे हुँदाको समय र अहिलेको समय अलिक फरक छ ।

त्यो बेला श्रीमान् साउदीमा हुनुहुन्थ्यो । अहिले कतारमा हुनुहुन्छ । म पनि अहिले त आफ्नो हातमा भएको सानोतिनो भए पनि सीपको प्रयोग गरेर व्यवसाय गरिरहेको छु । 

बिहे हुँदा म ९ कक्षामा पढ्दै थिएँ । एसएलसी दिँदा त छोरी जन्मिइन् । त्यसपछि मेरो पढाइ रोकियो । श्रीमान् पनि साउदीबाट फर्किएर यतै काम गर्न थाल्नुभयो । तर सोचेजस्तो नहुने रहेछ । यहाँ काम गर्दा घर चल्यो तर ऋण तिर्न सकिएन । किनकि घरको ऋण आठ लाख हाम्रो भागमा आयो । यहाँ कमाएर त्यो ऋण तिर्न नसक्ने अवस्था आएपछि के गर्ने भन्ने थियो । 

मलाई त श्रीमानले त्यति साह्रो कुरा गर्नुभएन । तर उहाँले भित्र भित्रै घर परिवारसँग सल्लाह गरेर विदेश पक्रिया गरिसक्नुभएछ । मलाई सोधेको भए त म जान दिने थिइनँ । त्यही भएर पनि होला उहाँले मलाई भन्नुभएन । जाने दिन मात्र भन्नुभयो । अब हिँड्न ठिक परेको मानिसलाई त कसरी रोक्ने र । 

कतारमा पिज्जा विभिन्न ठाउँमा पुर्‍याउने काम हो भनेका छन् । त्यो काममा जान पनि म्यानपावरलाई २ लाख ८० हजार रुपैयाँ बुझाउन पर्‍यो । अहिले त ऋण १० लाख रुपैयाँ भएको छ ।

यता म पनि केही न केही काम त गर्न पर्छ भन्ने लागेर व्युटिपार्लर र कस्मेटिक सामानको व्यवसाय गरिरहेको छु । मैले आप्रवासी नेटवर्कबाट परदेशीको श्रीमती भएकै कारणले एक महिनाको व्युटिपार्लरको सीप सिक्न पाएँ । त्यही सीप सिक्न पाएकाले आज आफ्नो खर्च चलाउने उपाय पनि निकालेको छु । 

मेरो पार्लरको नाम पनि आप्रवासी व्युटिपार्लर नै राखेको छु । यहाँ गाउँमा यसो थ्रेडिङहरु गर्न चाहिँ आउनुहुन्छ मानिसहरू । कपाल काट्ने यताउता काम चल्छ । ठिकै छ । यसबाट मैले यहाँ मेरो र बालबच्चाको खर्च पु¥याइरहेको छु । अहिले त छोरा पनि जन्मिएको छ । सानो बाबुलाई सासुले हेरिदिनुहुन्छ । त्यही भएर मैले पार्लर खोलेर बस्न पाएको छु । 

अहिले ११ कक्षामा भर्ना पनि भएको छु । मैले चाहेको कुरा चाहिँ घरबाट रोक्नुभएको छैन । त्यही भएर पनि मलाई सहज भएको छ । मन त पढेर टिचर बन्ने थियो । तर पढाइ छुटेपछि मन मार्न परिहाल्यो । महामारीकै समयमा श्रीमान् पनि परदेश जानुभएको छ । सम्झँदा त कति नराम्रो लाग्छ । देशमा अलिक राम्रो रोजगारी पाएको भए त आज साथमै भइन्थ्यो होला जस्तो लाग्छ । तर के गर्ने बाध्यताले थिचेपछि यस्तै हुँदो रहेछ ।

अब यो पार्लर व्यवसाय अलिक राम्रो चल्यो भने यसलाई निरन्तरता दिने र  पछि श्रीमानलाई पनि स्वदेश बोलाउने मेरो इच्छा छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

1 Comments

  • Nirmala

    April 2, 2022, 12:20 p.m.

    एस्तो ज्ञानी श्रीमती सबैको कहाँ हुन्छ र, धन्यबाद।

  •  0 Reply

तपाईको प्रतिक्रिया