लेखक डा. बरालको ‘दर्शन, शिक्षा र आचरण’ पुस्तक बजारमा

 फागुन १७, २०७८ मंगलबार १३:३१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शिक्षा क्षेत्रमा नियमित कलम चलाइरहने डा. खगराज बरालको नयाँ पुस्तक ‘दर्शन, शिक्षा र आचरण’ नामको पुस्तक २०७८ साल माघदेखि बजारमा आएको छ ।

बरालका यसअघि पनि शिक्षासम्बन्धी थुप्रै पुस्तक प्रकाशित छन् । यसअघि दर्शन, शिक्षा र आचरण (२०७८), ‘सिकाइ र सहयोग’ (२०७६), ‘शिक्षाको दर्शन, नीति र व्यवहार’ (२०७५), ‘सिकाउने शैली’ (२०७५), ‘शिक्षा र सिकाइः सन्दर्भ विदेशको प्रसङ्ग नेपालको’ (२०७४), ‘शैक्षिक दृष्टार्थ’ (२०७३), ‘केही शैक्षिक प्रबन्ध’ (२०७१), ‘शैक्षिक विमर्श वर्तमान अवस्था र सुधारका लागि मार्गचित्र’ (२०६९), ‘केही शैक्षिक मुद्दाहरू’ (२०६८), ‘शिक्षा विकासका नवीन आयामहरू’ (२०६७) जस्ता पुस्तक प्रकाशित छन् ।

‘दर्शन, शिक्षा र आचरण’ पुस्तकमा दुई खण्ड रहेका छन् । पहिलो खण्ड दर्शन र आचरणसँग सम्बन्धित छ । यस खण्डमा पूर्वीय दर्शन र आचरण, सदाचार र सुशासनमा वैदिक पुराणको सन्दर्भ, प्रकृति, संस्कृति र संस्कार र दर्शन, आचरण र राष्ट्रसेवकगरी चार ओटा अनुसन्धानमूलक लेख रहेका छन् ।

दोस्रो खण्ड प्राचीन र अर्वाचीन शिक्षासँग सम्बन्धित छ । यस खण्डमा वैदिक तथा पौराणिक गुुरुकुल शिक्षा, आर्ष महाकाव्य र उत्तरवर्ती साहित्यमा गुरुकुल, गुरुकुल र गुरुकुलको दिनचर्या, प्राचीन विश्वविद्यालय लगायत केही दृष्टान्त लेख समेटिएका छन् । 

यस्तै बालबालिकाले गर्ने गल्ती र सजायका वैकल्पिक उपायहरू, विद्यालय तहमा दिवा खाजा कार्यक्रम कार्यान्वयनः एक नयाँ नमुना, महामारी र शिक्षा, कोभिड १९ र विद्यालय शिक्षा र विद्यालय शिक्षाको शैक्षिक सत्रको क्षतिलाई जोगाउने तरिका गरी १४ ओटा अनुसन्धानमा आधारित लेखहरू छन् ।

शिक्षामा चासो राख्ने, शिक्षा क्षेत्रमा अनुसन्धान गर्न चाहने, विश्वविद्यालयका विद्यार्थी तथा शिक्षक र प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन चाहने सबैका लागि यो पुस्तक उपयोगी देखिन्छ । कुल २२८ पृष्ठको यो पुस्तकका मूल्य ३६० रुपैयाँ रहेको छ । यो पुस्तक भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । नेपालभरि पुस्तक पसलमा यो पुस्तक उपलब्ध भएको भुँडीपुराण प्रकाशनले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया