म्याग्दीकाे बेलढुङ्गाबाट देखिन्छन् १८ वटा हिमाल

 फागुन २१, २०७८ शनिबार १२:३:१६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पहाडको टुप्पोमा बेलको जस्तो आकारमा एउटा ढुङ्गा छ । दायाँ बायाँ भिरालो जमिन । सिरसिर बतास चलिरहन्छ । चिरबिर–चिरबिर चराचुरुङ्गीको आवाज सुन्न पाइने । टुप्पोमा पुगेर चारैतिरको मनोरम दृश्य नियाल्न सकिने । 

एकाबिहानैको सूर्योदय अनि बेलुकाको सूर्यास्त देखिन्छ । तलतिर बेसीका फाँट र ग्रामीण सौन्दर्यताको आकर्षक दृश्य । आँखै अगाडि दन्ते लहर जस्तै देखिने हिमालको दृश्यले मनलाई थप रोमाञ्चक बनाउँछ । जहाँ पुगेपछि घण्टौँसम्म बसिरहन मन लाग्छ । साथीभाइ मिलेर त्यहाँ घुम्न जाँदा रमाइलोको सीमा नै हुँदैन। 

म्याग्दी र बाग्लुङका लेकाली बस्तीको ग्रामीण सौन्दर्यतासँगै मनोरम दृश्यावलोकन गर्न पाइने ठाउँ भकिम्लीको बेलढुङ्गा । जहाँबाट देखिन्छन्, मनोरम हिमश्रृङ्खलासहितको दृश्य । रमणीय ठाउँ बेलढुङ्गाले पर्यटकहरुलाई पर्खिरहेको छ ।  बेलढुङ्गाको बारेमा शब्दमा वर्णन गर्नुभन्दा एकपटक घुम्न जाने पो हो कि ?

हिमाली जिल्ला म्याग्दी आफैँमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । यहाँका प्रायजसाे डाँडापाखा, कुनाकन्दरा र भन्ज्याङ, चौतारी पर्यटकहरुका लागि आकर्षक गन्तव्यका रुपमा छन्। जुनसुकै डाँडामा पुगे पनि हिमालको दृश्य मज्जाले हेर्न पाइन्छ । यस्तैमध्येको एउटा ठाउँ म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको गाउँभन्दा माथि म्याग्दी र बाग्लुङको सिमानामा बेलढुङ्गा पर्दछ । वरिपरिबाट सप्तरङ्गी डाँडाकाँडाले घेरिएको बेलढुङ्गाबाट मनोरम हिमश्रृङ्खलासहित धित मरुन्जेल दृश्यावलोकन गर्न पाइन्छ ।

समुद्री सतहदेखि २ हजार ७ सय मिटरको उचाइमा अवस्थित बेलढुङ्गाबाट संसारको सातौँ अग्लो चुचुरो धौलागिरि तथा मानापाथी, निलगिरि, दशौंँ अग्लो चुचुरो अन्नपूर्ण, माछापुच्छ्रे, गूर्जा, चुरेन, बेहुला–बेहुली नामाकरण गरिएका हिमालहरु प्रत्यक्ष देखिन्छन् ।

धौलागिरि हिमालमा मात्रै विभिन्न ६ ओटा चुचुराहरु रहेका छन भने अन्नपूर्णमा प्रथम, दोस्रो, उत्तर र दक्षिण गरी चारवटा चुचुराहरु पर्दछन् । बेलको जस्तो आकारको रुप लिएर बसेको हुँदा बेलढुङ्गाबाट धौलागिरि र अन्नपूर्ण रेन्जका सबै हिमश्रृङ्खलाहरु स्पष्टसँग देखिन्छन् । यस ठाउँबाट डेढ दर्जन भन्दाबढी हिमालहरुको अवलोकन गर्न सकिन्छ । 

बेलढुङ्गाबाट बाग्लुङकै काठेखोला गाउँपालिकाको धम्जा तथा घुम्टेको लेक, गाजाको धुरी र म्याग्दीको प्रायजसाे भू–भागहरु देखिन्छन् । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको बेलढुङ्गाबाट साविकको धौलागिरि अञ्चलका चार ओटा जिल्लासहित गुल्मी, अर्घाखाँची, पाल्पाको डाँडाकाँडा समेत देखिन्छ । 

भकिम्ली गाउँको सिरानमा रहेको बेलढुङ्गा र आसपासको ठाउँबाट म्याग्दीको सदरमुकाम बेनीबजार, गलेश्वर, पुलहाश्रम, केभहिल, जगन्नाथधाम, डढेकोट, टोड्के, मालिका धुरी, सोलेडाँडासहित धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्न पाइन्छ । भकिम्ली गाउँमा कार्यक्रम लिएर जानेहरु र भ्रमणमा जाने पर्यटक स्वर्गाश्रम तथा बेलढुङ्गाको भ्रमणमा पुग्छन् ।  

म्याग्दी सदरमुकामदेखि ३ कोष टाढा दक्षिणमा रहेको भकिम्ली गाउँदेखि १ घण्टाको दूरीमा अवस्थित बेलढुङ्गाले पर्यटकहरुलाई बोलाइरहन्छ, लोभ्याइरहन्छ र पछ्याइरहन्छ । सदरमुकाम बेनीबाट गाडीमार्फत १ घण्टा ३० मिनेट र १० मिनेटको पैदलयात्रा गरेपछि सजिलै पुग्न सकिने बेलढुङ्गाबाट विभिन्न दृश्यहरु आकर्षक र मनमोहक देखिन्छन् ।

बेलढुङ्गादेखि केही तल स्वर्गाश्रम पर्दछ । प्राकृतिक हिसाबले आफैँमा सुन्दर रहेको बेलढुङ्गाको प्रचारप्रसार, विकास र प्रवर्द्धन गर्नसके गाउँमा पर्यटन प्रवर्द्धन हुने भकिम्लीका वडा सदस्य रत्नबहादुर जिसीको भनाइ छ ।

सयौँ वर्ष पुरानो स्वर्गाश्रम

धार्मिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिने म्याग्दीको बेनपा–३, भकिम्लीमा सयौँ वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम समेत रहेको छ । समुद्री सतहदेखि झण्डै २ हजार ५ सय मिटरको उचाइमा अवस्थित स्वर्गाश्रम कालीगण्डकी, धौलागिरि, मुक्तिनाथ, जगन्नाथ, पुलहाश्रमलगायत विभिन्न सप्तक्रषि डाँडाकाँडाहरुले घेरिएको छ ।

स्वर्गाश्रममा गणेशको मन्दिर, पौवा, सत्तल आदी छन् । स्वर्गाश्रममा विभिन्न समयमा देशका विभिन्न ठाउँबाट गुरु तथा माताहरु आएर तपस्या गर्ने गर्दछन् । परापूर्वकालमा खरले छाएको सानो झुपडी रहेको स्वर्गाश्रमलाई अहिले बेनी नगरपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा ढुङ्गामाटोको प्रयोगले स्वर्गाश्रमको भवन निर्माण गरिएको छ । आश्रममा हरेक वर्ष वैशाख १ गते रथयात्रासहित विशेष पूजाआजा हुँदै आएको छ । 

मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकन

धार्मिक तथा पर्यटकीयस्थल स्वर्गाश्रमको डिलबाट पनि मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरि, मानापाथी, गुर्जा, चुरेन, बेहुलाबेहुलीसहित दर्जनौँ सेताम्य हिमालहरु दन्ते लहर जस्तै देखिन्छन् । त्यस ठाउँबाट हिमालको साथै म्याग्दीको सदरमुकाम बेनीबजारसहित प्रायजसाे भू–भागको साथै पर्वतको उत्तरी जलजला गाउँपालिकाको भू–भाग समेत देखिन्छ । स्वर्गाश्रम क्षेत्रले धार्मिक तथा ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको छ । 

लालीगुराँस र जडीबुटी

बेलढुङ्गा र स्वर्गाश्रम आसपासको वनजङ्गलमा रातो, सेता, गुलाबीसहित विभिन्न ७ प्रकारका लालीगुराँसहरु पाइन्छन् ।

स्थानीयवासीले तिनै लालीगुराँसका फूल टिपेर ल्याउँछन् र गाउँमा हुने सामाजिक तथा धार्मिक कार्यमा फूलमाला, तोरण र उपहारका लागि प्रयोग गर्ने गरेका छन् । उनीहरुले गाउँमा आउने पर्यटकहरुलाई लालीगुराँसको फूल दिएर स्वागत गर्ने गर्दछन् । यसैगरी जङ्गलमा स्वास्थ्यवर्द्धक जडीबुटीहरु जस्तैः सतुवा, चिराइतो, पाखनवेद, लौठेसल्ला, चरचरे, जटामसीलगायत पाइन्छन्। 

तपस्या गर्नका लागि ओढार

स्वर्गाश्रमको नजिकै सप्तऋषि तथा माताहरुले तपस्या गर्ने गरेको ओढार रहेको छ । यो ओढारमा २०४३ सालदेखि ५५ सालसम्म इन्दिरा माताले तपस्या गरेको गुफा ओढार रहेको स्थानीयवासी  वडा सदस्य जिसीले जानकारी दिनुभयो ।

भकिम्लीको स्वर्गाश्रममा सन् १९४८ मा छविनन्दप्रसाद गुरुले तपस्या गर्नुभएको थियो भने २०१७ सालमा बाग्लुङको बिहुँबाट प्रमानन्द गुरु (बालतपसी) पनि आएर तपस्या गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

अहिले पनि विभिन्न समयमा म्याग्दीसहित पर्वत, बाग्लुङ र चितवन लगायतका जिल्लाबाट आएर जप तथा ध्यान गर्ने गरेका छन् । आश्रममा विभिन्न मूर्तिकला तथा सप्तऋषि डाँडा किंवदन्ती पनि रहेको छ ।

बाग्लुङ जान म्याग्दीको बाटो

बेलढुङ्गा र स्वर्गाश्रमको बाटो भएर छिमेकी जिल्ला बाग्लुङको धम्जावासीहरु आफ्नो गृह जिल्लाको सदरमुकाम बाग्लुङ जान स्वर्गाआश्रमको बाटोको प्रयोग गर्ने गरेका छन् । उनीहरुले सदरमुकाम पुग्न भकिम्लीको स्वर्गाश्रम भएर जाँदा छोटो दूरीका साथै समयमै पुगिने हुँदा यो बाटो प्रयोग गर्दै आइरहेका छन् ।

बाग्लुङको भू–भाग ठूलो र बाग्लुङ भएर सदरमुकाम जानका लागि धेरै समय लाग्ने हुँदा बाग्लुङका पश्चिमेली नागरिकहरु म्याग्दी जिल्लाको भूगोल भएर आवतजावत गर्ने गर्दछन् । 

बेलढुङ्गामा पूर्वाधार थपिँदै

पर्यटकीयस्थल बेलढुङ्गामा पछिल्लोपटक भौतिक पूर्वाधार निर्माण भएको छ । बेलढुङ्गासम्म पुग्नका लागि बाग्लुङको काठेखोला गाउँपालिका र म्याग्दीको बेनी नगरपालिकाले आ–आफ्नो सिमानासम्म सडक निर्माण गर्नुका साथै यसअघि ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएका छन् । अहिले काठेखोला गाउँपालिकाले पदमार्गमा टायल (स्लेट) ढुङ्गा बिच्छ्याएको छ भने व्यक्तिगत लगानीको गेट निर्माण भइरहेको छ ।

पर्यटन प्रवर्द्धन र बेलढुङ्गाको प्रचारप्रसारका लागि गाउँमा होमस्टेको व्यवस्था गरिएको छ । बेलढुङ्गा पुग्नका लागि म्याग्दीको भकिम्ली र बाग्लुङको धम्जाबाट सडकमार्ग भएर पुग्न सकिन्छ भने पदयात्रामार्फत पुग्न सकिन्छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया