खप्तड गोल्डकप : नव जनजागृति युवा क्लबलाई हराउँदै हिमालयन शेर्पा क्वाटर फाइनलमा प्रवेश

 फागुन २१, २०७८ शनिबार २०:८:५८ | सीताराम ओझा
unn.prixa.net

काठमाण्डाै - हिमालयन शेर्पा क्लबले पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढी रङ्गशालामा आज भएको खेलमा नव जनजागृति युवा क्लब सिमरालाई ४–० ले हराउँदै हिमालयनले विजयी सुरुवात गरेको हो ।

जितसँगै हिमालयन शेर्पा क्वाटर फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि शेर्पाले अब आयोजक सुदूरपश्चिम ११ स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल सोमवार धनगढी रङ्गशालामा हुनेछ ।

हिमालयनले ३१औँ मिनेटमा विकास मेराग्लियाको गोलबाट अग्रता बनायो । उनले डेब्यु खेलमै हिमालयनका लागि गोल गरेका हुन् ।

इटलीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका विकासले च्यासल युथ क्लबबाट 'ए' डिभिजन लिग खेलेका थिए । मोफसलका लागि उनी हिमालयनमा आबद्ध भएका हुन् । लिगमा गोल गर्न नसकेका विकासले नेपालमा पहिलो गोल पनि खप्तड गोल्डकपमा गरेका छन् । 

खेलको ४३औँ मिनेटमा उल्रिच सिवेले गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए । ५५औँ मिनेटमा उल्रिचले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन ३–० ले अघि रह्यो । त्यसपछि खेलको ८१ औँ मिनेटमा पूर्णबहादुर गुरुङले गोल गर्दै हिमालयनलाई ४–० को जित दिलाए । खेलको म्यान अफ द म्याच उल्रिच सिव भए । उनले नगद १० हजार पाए । 

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख भने पाउनेछन् । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया