प्रकाश सपुतको नयाँ गीत ‘पिर’ चर्चामा, गीतबारे बाबुराम भट्टराईको टिप्पणी–'जनयुद्धको विरोध गरेको छैन'

 फागुन २९, २०७८ आइतबार ९:३३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ एकाएक चर्चित भएको छ । शनिवार युट्युबमा गीत सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा यसले चर्चा पाएको छ । जनयुद्धको विरोध गरेको भन्दै माओवादीका एकथरी नेता कार्यकर्ताले आलोचना गरेका छन् । अर्काथरीले भने गीतले वास्तविक अवस्था झल्काएको भन्दै प्रशंसा गरेका छन् । 

१६ मिनेट लामो गीतले माओवादीको सशस्त्र द्वन्द्व र त्यसपछिको अवस्थालाई झल्काएको छ । समाज परिवर्तनको सपना लिएर युद्ध लडेकाहरुको सपना पूरा नभएको र उनीहरु बिचल्लीमा परेको कुरा गीतमा देखाइएको छ । सशस्त्र द्वन्द्वपछि टाठाबाठा नेताहरु सत्तामा पुगेर हालीमुहाली गरेको तर सोझासाझाले सास्ती भोग्नुपरेको कथा गीतले समेटेको छ । 

तर सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति माओवादी नेता कार्यकर्ताहरुले विरोध गरेका छन् । गीतको भिडिओमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्तको अभिनय छ । आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुत र सम्झना भण्डारीको स्वर छ ।

यसअघि पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’को पनि यसैगरी विरोध भएको थियाे । २०७५ सालमा शर्माले ल्याएको यो गीतविरुद्ध एमालेका कार्यकर्ताले विरोध जनाएका थिए । विरोध चर्किएपछि शर्माले युट्युबबाट गीत हटाएर केही महिनापछि परिमार्जनसहित फेरि युट्युबमा पोस्ट भएको थियो ।

प्रकाशको गीतमा आपत्ति मान्नुपर्ने कुरा छैन : बाबुराम भट्टराई

जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रकाश सपुतको नयाँ गीत ‘पिर’मा आपत्ति मान्नुपर्ने कुरा नभएको बताउनुभएको छ । आफू जनयुद्धको अगुवा हुनुको नाताले गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको भट्टराईले उल्लेख गर्नुभएको छ ।

‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु – त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन, गीतले जनयुद्धको विरोध गरेको छैन,’ सामाजिक सञ्जालमा भट्टराईले लेख्नुभएको छ । 

गीत :

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया