अहिलेको सङ्कट क्षणिक हो, बिजुली खेर जान नदिन खपत बढाउनुको विकल्प छैन : कुलमान घिसिङ

 चैत ११, २०७८ शुक्रबार १२:४०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल विद्युत् प्राधिकरणले भारतबाट ३८ रुपैयाँ प्रतियुनिटको दरले बिजुली आयात गर्न थालेको छ । भारतबाट बिजुली नआउँदा नेपालका उद्योगमा समस्या परेको भन्दै प्राधिकरणले महँगो भए पनि भारतबाट बिजुली किनेको हो ।

भारतले कोइलाबाट उत्पादित बिजुली मात्रै निर्यात गर्छ, अहिले रुस–युक्रेन युद्धका कारण कोइलाको भाउ उच्च हुँदा भारतमा बिजुलीको भाउ आकासिएको छ, यसको असर नेपालमा परेको हो । अहिले भारत, पाकिस्तान, श्रीलङ्का, युरोपका विभिन्न देशसहित संसारका धेरै देशमा ऊर्जा सङ्कट बढेको र अरु देशको तुलनामा नेपालमा खासै समस्या नआएको प्राधिकरणको दाबी छ ।

नेपाल विद्युत् प्राधिकरणले हिजो बिहान उद्योगी व्यवसायीलाई बोलाएर विद्युत् कम खपत गरिदिन वा भारतबाट किनेको मूल्य अनुसार महसुल तिर्न आग्रह गरेको थियो । उद्योगीहरुले प्राधिकरणको प्रस्ताव अस्वीकार गरे । तर उद्योगीसँगको छलफल लगत्तै भएको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट ३८ रुपैयाँमा किने पनि नेपालका उद्योगीलाई पुरानै शुल्कमा बिजुली दिने बताउनुभयो ।

उद्योगीहरुले कुलमान घिसिङले आफूहरुसँग एउटा कुरा गरेको र सञ्चारमाध्यमसँग अर्कै कुरा गरेको आरोप लगाएका छन् । यिनै विषयमा अर्जुन पोख्रेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग गरेको संक्षिप्त कुराकानी :

उद्योगीहरुसँगको छलफलमा कि खपत घटाउ होइन भने महसुल बढाउनुपर्छ भनेर प्रस्ताव राख्नुभएछ । तर सञ्चारमाध्यममा त भारतबाट महँगैमा किनेर भए पनि मनग्य बिजुली दिने भन्नुभयो । दोहोरो कुरा गरेको आरोप लाग्यो नि?

महँगोमै किनेर भए पनि हामीले उद्योगीलाई बिजुली दिने हो, दिइरहेका छौँ । मैले उहाँहरुसँगको छलफलमा पनि यही विषय भनेको हो, पत्रकार सम्मेलनमा पनि उहाँहरुसँग भएकै कुरा मैले राखेको हो । दोहोरो कुरा कतै गरेको छैन । अहिलेको सङ्कटको बेला तपाईँहरुले कुरा बुझिदिनुपर्योसम्म भनेको हो । बाहिर कसरी यस्ता कुरा आए मलाई थाहा छैन ।

परल मूल्य नतिर्ने हो भने बिजुली दिन सकिन्न भन्नुभएको हो ?

मैले त्यस्तो भनेको होइन । बरु यो समस्या धेरै लामो समय जाँदैन, छोटो समयको लागि आएको क्षणिक सङ्कटलाई मिलेर पार लगाउनुपर्छ । तपाईँहरुले सक्नेजति सहयोग गर्नुहोस्, सक्नुहुन्छ भने महसुल बढाउन पनि सकिन्छ भने प्रस्ताव गरेको हो । यस्तै तपाईँहरुले सक्ने ठाउँमा खपत कम गर्दा राम्रो हुन्छ भनेको हो ।

महसुल बढाउने प्रस्ताव उहाँहरुले मान्नुभएन, उद्योगीको सहमतिविना हामीले बढाउन हुन्न, अहिले दबाब दिएको पनि छैन । उहाँहरुले सहमति जनाउनुभयो वा समझदारीका कुरा गर्नुभयो भने सोच्न सकिन्छ, अहिले हामीले अहिले बढाउने होइन । हामीले गरेको आग्रहलाई बाहिर विभिन्न ढङ्गले मिडियामा सम्प्रेषण भएछ । अर्को कुरा उद्योगी व्यवसायीलाई सित्तैमा बिजुली दिए पनि उहाँहरुले चित्त बुझाउनुहुन्न । 

उद्योगीहरुले बढी मूल्य नतिर्ने बताइसके, तपाईँहरुले बिजुली काट्नुहुन्छ कि महँगोमै किनेर भए पनि दिइरहनुहुन्छ ?

अहिलेको हिसाब अनुसार हामीले दिनमा २२ देखि २५ करोड रुपैयाँसम्म घाटा बेहोर्नुपर्ने देखिन्छ । यसको लागि सरकारलाई पनि हामीले भनिसकेका छौँ । तर यो सङ्कट क्षणिक हो । वैशाख लागेपछि हिउँ पग्लिन थाल्छ, खोलाहरुमा पानी बढ्छ, जेठमा त हाम्रै उत्पादनले पुग्छ । अहिले त अचानक आएको समस्या हो, चाँडै समाधान भइहाल्छ । तर यसलाई गलत हिसाबले विश्लेषण गर्ने काम भइरहेको छ ।

हामीले एक महिनासम्म भारतबाट महँगोमा किने उद्योगीलाई एक महिनासम्म अहिलेकै दरमा बिजुली दिँदा पनि पाँच/७ अर्ब रुपैयाँ घाटा लाग्ला । हामी सरकार हो, सङ्कटका बेला सरकारले नाफा हेर्नु हुँदैन, हामीले बिजुली निरन्तर उपलब्ध गराउँछौँ । 

तपाईँले पटक-पटक यो क्षणिक सङ्कट भएकाले धेरै समस्या पर्दैन भन्नुभएको छ, तर नागरिक चाँहि लोडसेडिङको डरमा छन्, लोडसेडिङ हुँदैन भनेर के आधारमा ढुक्क हुने ?

मैले अघि नै भनेँ जेठदेखि हामीलाई पुग्ने बिजुली नेपालमै उत्पादन हुन्छ । हाम्रो विद्युत् उत्पादन क्षमता दुई हजार मेगावाट पुग्न थालेको छ, तर खडेरीका बेला उत्पादन आधासम्म घट्छ । अहिले हाम्रो माग १६ सय मेगावाट छ, आउँदो बर्खामा २२ सय मेगावाटसम्म बिजुली उत्पादन हुन्छ । अहिले आयात गरिरहेका छौँ, बर्खामा निर्यात गछौँ ।

मेरो वाचा हो नागरिक अब लोडसेडिङमा बस्नु पर्दैन, बाहिर हल्ला जे भए पनि हामी लोडसेडिङ हुन दिन्नौँ । उद्योगमा त लोडसेडिङ नगरेको अवस्थामा साधारण उपभोक्तालाई लोडसेडिङ गर्ने कुरा धेरै परको हो । 

बर्खामा बिजुली खेर जाने, हिउँदमा नपुग्ने भइरहेको छ । हिउँदमा पनि नेपालमै उत्पादित बिजुलीले पुग्ने र भारतको भर पर्ने अवस्था कहिले अन्त्य हुन्छ ? 

बर्खामा हामीले गएकाे वर्षदेखि नै भारतलाई बिजुली बेचिरहेका छौँ । आठ महिना नेपालमा आफ्नै बिजुलीले माग धानिरहेको छ । चार महिनाको लागि भारतबाट आयात गर्नुपरेको छ । २०८० सालको हिउँदमा भारतबाट बिजुली किन्न पर्दैन । आउँदो हिउँदमा जम्मा २ सय मेगावाट किने पुग्ने हाम्रो अनुमान  रहेको छ । 

नेपालमा विद्युत् उत्पादनबारे पाँच वर्षअघिको र अहिलेको तथ्याङ्क हेर्नुहोस् त कति फरक छ । उत्पादनको काम रातारात हुने होइन, ६ हजार मेगावाट क्षमताका आयोजना बनिरहेका छन्, रातारात बनिरहेका होइनन्, हामीले सयौँ अवरोध छिचोलेर काम गरिरहेका छौँ । अबको पाँच वर्षमा विद्युतको क्षेत्रमा कायापलट हुन्छ । 

विद्युत् खपत बढाउन आग्रह गर्नुहुन्छ, खेर जाने भयो भनेर चिन्ता व्यक्त गर्नुहुन्छ तर भारतबाट बिजुली किनेर माग धान्नुपर्ने अवस्था रहेछ । नागरिकले निकै आलोचना गरिरहेका छन् नि ?

अहिले पनि म भन्छु नेपालमा विद्युत् खपतलाई अभियानकै रुपमा अघि बढाउनुपर्छ । अहिले आएको सानो समस्यालाई देखाएर अनेक आरोप लगाउनेहरुलाई मेरो भन्नु केही पनि छैन । खपत बढाउने कुरा अहिलेको अहिल्यै पूरा हुने होइन । आउँदो २ वर्षपछि बिजुली खपत बढाउन अहिलेदेखि नै तयारी थाल्नुपर्छ । ६ हजार मेगावाट क्षमताका आयोजना बनिरहेका छन्, ती आयोजना सम्पन्न भएपछि तत्कालै खपत बढाउ भनेर बढ्दैन, त्यसको लागि अहिलेदेखि नै आधार बनाउनुपर्छ । 

अर्को कुरा घरायसी उपभोक्तालाई अहिले पनि सक्दो विद्युत् उपयोग गर्नुहोस् भनिरहेका छौँ । घरायसी उपकरण जति चलाए पनि पुग्दो विद्युत् दिइरहेका छौँ । उद्योगलाई केही समस्या हो, त्यो पनि हामीले समाधान गरिरहेका छौँ । अहिले पनि भन्छु, विद्युतीय गाडी किन्न सक्नेले गाडी किन्नुहोस्, इन्डक्सन चुल्होमै खाना पकाउनुहोस्, जतिसक्यो धेरै ठाउँमा पेट्रोल, डिजल र एलपी ग्यासको सट्टा विद्युतकै प्रयोग गर्नुहोस् ।  

अहिलेको क्षणिक अभावलाई हेरेर खपत बढाउन आग्रह गरेको कुरालाई आलोचना गर्नु गलत हो । हामीले विद्युतको क्षेत्रमा बर्सेनि प्रगति गरिरहेका छौँ, सबै उपभोक्ताले यो कुरा बुझ्नुपर्छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

1 Comments

  • Bharat Pudasaini

    March 25, 2022, 1:24 p.m.

    १. विद्युत प्राधिकरणद्धारा इन्डक्सन चुलो किनेर भए पनि हरेक विद्युत उपभोक्ता लाई सस्तो मा बेच्नु पर्यो। २. राजमार्गका कम से कम हरेक १०० कि.मी. मा विद्युत गाडी को लागि फास्ट चार्जरको व्यवस्था गर्नु पर्यो। यी दुइ काम मात्र गरे बिजुली खेर गयो भन्ने गुनासो गर्नु पर्दैन।

  •  0 Reply

तपाईको प्रतिक्रिया