नेपालमा सगरमाथा छ भनेर कति पटक भन्ने ? अन्य कुराहरूकाे पनि प्रचार गर्न सक्नुपर्‍याे : सीईओ रेग्मी

 चैत १४, २०७८ सोमबार १४:४४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पर्यटकीय गन्तव्यका लागि नेपाल उत्कृष्ट मानिन्छ । यहाँका हिमशृङ्खला, प्रकृतिक बनावट र सौन्दर्यताले पर्यटकहरूलाई नेपाल आउन आकर्षण गर्छ । तर सन् २०१९ को डिसेम्बरमा नेपालसहित विश्वभर कोरोना महामारी फैलियो । योसँगै नेपालका हरेक क्षेत्रमा कोरोना महामारीको असर पर्‍याे । पर्यटन व्यवसाय पनि त्यसबाट टाढा रहन सकेन । एक वर्षसम्म त देश लकडाउनमै गयाे । जसका कारण कुनै पनि व्यवसाय सञ्चालन हुन सकेनन् । यस्तो अवस्थामा अब नेपाल पर्यटन बोर्डले कोरोना महामारीपछि पर्यटन प्रवर्द्धन गर्नका लागि के काम गरिरहेकाे छ ? अब नेपालको पर्यटन व्यवसायलाई उकास्न बाेर्ड के गर्दैछ ? यिनै विषयमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीसँग गरेको कुराकानीको सम्पादित अंश–   

कोरोना महामारीपछि नेपालको पर्यटन व्यवसाय चलायमान हुँदै गएको भन्ने छ, कस्तो छ अहिलेको अवस्था ?

पर्यटन व्यवसायको तुलना गर्ने हो भने सन् २०१९ सँग गर्नुपर्ने हुन्छ । २०१९ काे फेब्रुअरीसम्ममा एक लाख पर्यटक आएका थिए । यो वर्ष फेब्रुअरीमा २० हजार पर्यटक पुगेका छन् । जनवरीमा याे सङ्ख्या १६ हजार रहेको थियो । अहिले पर्यटककाे सङ्ख्या बढिरहेकाे छ । पर्यटन क्षेत्र २० प्रतिशत कभर (समेटिसकेको) भइसकेको छ । यो मार्च महिनामा अझ उत्साहजनक तथ्याङ्क आइरहेको छ । प्रत्येक महिनाको अन्तिममा मात्रै तथ्याङ्क प्रकाशन गर्ने भएकाले केही दिनपछि त्याे पनि थाहा हुन्छ । अहिले ३० प्रतिशत कभर हुने देखिएको छ । यो डाटाले सकारात्मक सङ्केत आएको छ । अहिले पर्यटन क्षेत्र खुला भएको केही समय मात्रै भएको छ । नेपाल घुम्न आउने पर्यटहरूले अनुमति लिने क्रम बढिरहेकाे छ । त्यसले सकारात्मक सङ्केत देखाएको छ । अब बिस्तारै पर्यटकको सङ बढ्दै जान्छ ।

कोरोनाको बीचमा नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि के–के गर्‍याे ?

हामीले समयअनुसार रणनीतिहरू परिर्वतन गर्नुपर्‍याे । कोभिडको बेलामा पहिला विश्वलाई हेर्ने भन्ने हुन्थ्यो । त्यसपछि त्यसलाई सीमित गरेर होइन सजिलै दुई/तीन घण्टामा पुग्न सकिने अथवा पाँच घण्टाका फ्लाइट हुन सक्ने सीमा गन्तव्यमा प्राथमिकता गरौँ । तर अब यसरी रणनीति बनाएर पर्यटन प्रवर्द्धनकाे प्रचार गरेर पर्यटक आउने अवस्था कम देखियो । युरोपमा धेरै प्राथमिकता दिने कि नदिने भन्ने प्रश्न उठेको छ । कतिपय देशले विदेश जानका लागि रोक लगाइरहेका छन् । यो वर्ष सीमित बजेट भएकाले पनि सबैभन्दा बढी प्रभावकारी र तत्काल परिणाम लिन सक्ने बजारमा लक्षित गरौँ । त्यो भनेको भारतको बजारलाई गराैँ । भारतका व्यक्तिहरूलाई नेपाल ल्याउन मेहनत गरियो भने त्यसले तत्कालै परिणाम दिन्छ । भारतीय पर्यटकलाई नेपाल घुमाउन सजिलो पनि छ । दुई देशकाे सीमा नाका जाेडिएकाे छ । नेपालको सीमासँगै भारतले विमानस्थलहरू बनाएको छ । जुन भारतका विभिन्न प्रदेशसँग जोडिएको छ । यदि नेपालमा कोही घुम्न आउन चाहन्छ भने दिल्ली भएर काठमाण्डाै नै आउनुपर्छ भन्ने होइन । एक/डेढ घण्टामा नेपाल आउन सकिन्छ । नेपालको तराई क्षेत्रमा पनि पर्यटनका क्षेत्रमा विकास भएकाे छ । नेपालले अन्य देशहरूले जस्तै साहसिक गतिविधिहरू सञ्चालन गर्न सक्ने भएकाे छ । नेपालमा खुला सामाजिक वातावरण छ । महिलाहरूलाई घुम्न सहज छ । खानपानमा पनि सबै खुला रहेको छ । नेपालमा तराईमा आएर तराईमा नै बस्नुपर्छ भन्ने छैन । तत्काल नै एक/दुई घण्टामा नयाँ मौसम, नयाँ प्राकृतिक मनमोहक ठाउँमा पुग्न सकिन्छ । हामीले यी कुरा छन् भनेर सबैलाई म्यासेज (सूचना)  दिन नसकेको मात्रै हो । अहिले हामीले भारतीय सीमालाई प्राथमिकता दिएर कार्यक्रम अगाडि बढाएका छौँ । भारतको उत्तराखण्डसम्मलाई समेत जोडेर भित्री सहरहरूमा समेत कभर गर्न सकिन्छ । त्यस्तै अहिले भारतपछि सबैभन्दा बढी पर्यटक आउने देश बङ्गलादेश भएको छ ।

पहिले र अहिले काम गर्ने तरिका फरक भएको छ, यसलाई कसरी हेर्नुहुन्छ, विभिन्न स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ, लागत पनि बढ्दै गएको छ, यो हिसाबले रणनीतिक रूपमा कसरी परिवर्तन हुन्छ ?

अहिले अन्तर्राष्ट्रिय ट्राभलमा सर्भिस शुल्क परिर्वतन गरिएकाे छ । नेपालमा पनि सर्भिस शुल्क लिन सुरु भएको छ । यसै पनि नेपालको ट्राभल महँगो भनिन्छ । त्यसबाट कर बढ्दै जान्छ । अन्तर्राष्ट्रिय बजारमा नै इन्धनको मूल्य बढेर गएको छ । यसले अब मानिसहरू लामो गन्तव्यभन्दा छोटो दुरी नै खोज्छ । अहिले सबै देशको नीति आफ्ना नागरिक देश छाडेर धेरै विदेश नजाऊन् भन्ने छ । यस्तो अवस्थामा युरोपेली देशहरूमा जति नै प्रचार गरे पनि धेरै पर्यटक ल्याउन गाह्रो छ । कोरोनाका कारण दुई वर्षको आर्थिक अभाव प्रत्येक व्यक्तिलाई पनि परेको छ र इन्धनको मूल्य वृद्धि हुँदा हवाई उडान पनि महँगो भएको छ । त्यसैले नेपालको नीति भारतीय पर्यटक नेपाल बढी ल्याउने हो । अहिले युरोप युद्धमा छ तर भारतीयहरू घुम्नका लागि आतुर छन् । याे अवस्थामा हामीले फाइदा लिन सक्नुपर्छ । देशले विदेशी मुद्रा कम साट्न पाउने नीति लिएको छ । तर भारतको मुद्रा नेपालमा चल्छ । नेपालले भारतीय पर्यटक ल्याएर फाइदा लिने समय पनि यही हो । रणनितिक रूपमा अन्य कुरा परिवर्तन होइन । घुम्ने गन्तव्य परिवर्तन गरेका छौँ । खुल्दै जाँदा अरू पनि गन्तव्य बनाउँछौँ । हाम्रा ट्राभल कम्पनीहरूले भनेजस्तो प्याकेज बनाउन सकेनन् । भारतको कुन सहरबाट कस्तो कनेक्टिभिटी छ, हवाई उडान के छ, नयाँ एअरलाइन्स कुन सुरु भएको छ ? भनेर उनीहरूसँग समन्वय गरेर नेपालले बेच्न सक्यो भने राम्रो हुन्छ । पहिलेको जस्तो मसँग पोखरा, काठमाण्डाैकाे टिकट छ भनेर पोखरा लगेर छोडिदिन्छु भनेर भएन । भारतबाट प्रकृतिको विषयमा अध्ययन गर्नका लागि ल्याउन सकिन्छ । नेपाल जत्तिकाे उपयुक्त ठाउँ कहाँ छ ? अब नेपाललाई शिक्षा लाइबेरीको रूपमा अगाडि बढाउनुपर्छ ।

पछिल्लो समय बङ्गलादेशबाट पर्यटक बढ्दै गएको भन्नुभयो, किन बढ्दै छन् पर्यटक ?

बङ्गलादेशीलाई ल्याउन धेरै सजिलो छ । किनकि हाम्रो प्राकृतिक सौन्दर्य नै वातावरण हो । नेपालमा र्‍याफ्टिङ, प्याराग्लाइडिङ, स्काई ड्राइभिङमा लगाव बढेको छ । बङ्गलादेशी सारै धार्मिक पनि छन् । उनीहरूलाई शक्तिपीठहरूमा ठूलो विश्वास रहेको छ । बङ्गलादेशबाट तत्काल पर्यटक बढाउन सक्छौँ । तर एउटा समस्या छ । हवाई भाडा महँगो छ । २५ किलोमिटर छ । गाडीमा आउन सक्ने अवस्था छ । सरकारले भारतसँग मिलेर बङ्गलादेश र नेपालमा बस चलाउन सुरु गर्नुपर्छ । त्यस्तो भएन भने पनि विराटनगर विमानस्थलबाट बङ्गलादेशको उत्तरी भागमा भएको विमानस्थलमा हवाई उडान गर्न सक्यौँ भने सजिलो हुन्छ । उनीहरूले नेपाल सरकारलाई चिठी पठाएका छन् । यसलाई हामीले स्वीकृत गर्न सक्यौँ भने दैनिक १० जना मात्रै बोक्ने हवाई उडान गर्न सक्छौँ । सरकारले आर्थिक रूपमा बलियाे हुनका लागि नीतिगत व्यवस्था गर्नुपर्छ । सिधा उडाउने हो भने भारतले नदिन सक्छ । त्यसमा भारतसँग छलफल गरियो भने हवाई उडान गर्न सकिन्छ ।

पर्यटन बोर्डले धेरै काम गर्दै गयो तर पर्यटन व्यवसायीहरूले बोर्डले केही सहयोग गरेन भन्ने आरोप छ, अब पर्यटन व्यवसायलाई कसरी अगाडि बढाउने, अर्को डीटीआरसीमा जुन तरिकाले सहयोग गर्नुपर्ने त्यो पनि भएन भन्ने छ, के तपाईँले काम गर्न नसकेको हो वा तपाईँलाई काम गर्न नदिएको ?

अरूलाई आरोप लगाउनेभन्दा पनि म आफैँले लिनुपर्ने हुन्छ । हरेक कामको जिम्मेवारी म आफैँ पनि लिन्छु । यहाँ पर्यटन व्यवसायीहरूको चाहना फरक छ । दिनमा ५० वटा फाइल आउँछ । प्रायजसो पैसा माग्ने प्रपोजल आउँछ । विगतमा बोर्डसँग डेढ अर्ब रुपैयाँको बजेट थियो । तर गएकाे वर्ष बोर्डलाई आठ करोड रुपैयाँ आम्दानी भयो । आठ करोडकाे बजेटमा मैले सबैको इच्छा पूरा गर्न सक्दिनँ । दिए मात्रै खुसी हुने र नदिएसम्म दुःखी हुने समस्या छ । राज्यका सबै निकायले पर्यटन बोर्डको सीईओले भनेकै मान्दैन भन्छन् । मागेको कुरा दिएर मान्ने हो ? नयाँ योजनाका कुरा ल्याए भनेको कुरा दिन्छु, केही कुरा अध्ययन गर्नुपर्छ म गरिदिन्छु । तर पैसा माग्दा दिन नसक्ने हो । दिनलाई हुनुपर्‍याे नि त । पर्यटन बोर्डले महामारीको बेलामा ६ हजार जनालाई रोजगारी दियाे । आठ करोडकाे बजेटमा ६ करोड रुपैयाँ बराबरको रोजगारी दियौँ । यसरी केही रूपमा सहयोग गरेका छौँ । विभिन्न संस्थाहरूसँग सहकार्य गरेर गरेका हौँ । पहिला भएको बजेट खुरुखुरु खर्च गर्ने थियो । अहिले बजेट जुटाएर पर्यटन उद्योगलाई माथि उठाउने काम गरिएको छ । पर्यटन बोर्ड समस्या समाधान गर्ने निकाय होइन । समस्याको अनुसन्धान गर्ने त्यसको समाधान के हुनुपर्छ भनेर भन्ने निकाय हो । नेपालमा तीन किसिमका पर्यटन व्यवसायी रहेका छन् । जसमा एउटा आफ्नै सम्पत्तिमा पर्यटन उद्योग चलाएका छन् । अर्को अर्काको सम्पत्तिमा रेन्ट आउट गरेर त्यसमा जिन्दगीभरको लगानी गरेका छन् । तेस्रो पहिलो र दाेस्रोमा काम गरेर रोजीरोटी गरिरहेका छन् । कोरोना महामारीमा तीन वटै क्षेत्रमा समस्या पर्‍याे । तर पहिलोलाई सरकारले एक अर्ब रुपैयाँको सहुलियत ल्यायो । ५० अर्ब रुपैयाँको कर्जा उपलब्ध गरायो । तर मैले तीन वटाका लागि छुट्टाछुटै कार्यविधि बनाउनुपर्छ भनेको थिएँ । पर्यटन बोर्डका सबै निकायहरूलाई हेर्नुपर्ने हुन्छ । अहिले पर्यटन मन्त्रालयमा नयाँ पर्यटन पुनर्उत्थान कमिटी बनाएर काम गरिरहेको छ । परिणाम आउने एउटै हो । अहिले कमिटी बनाएर रिपोर्ट बनाइराख्ने समय होइन । समस्याको समाधान गर्ने समय हो ।

योजनाअनुसार धेरै काम पनि भए, अहिले बिस्तारै उद्योग चलायमान हुँदै गएको छ, चालु आर्थिक वर्षको पनि अन्त्यतिर छ, तर नीति बनाउने, पर्यटन प्रवर्द्धन गर्ने विषयमा योजना बनाउने बेलामा पर्यटन बोर्ड र मन्त्रालय फरक–फरक बाटोमा हिँडेको छ । पर्यटन मन्त्रीसँग तपाईँको त्यति धेरै कुरा मिल्दैन भन्ने सुनिन्छ, एकै ठाउँमा बसेर काम गर्नुपर्ने बेला बोलचाल नै बन्द गरेर कसरी काम गर्नुहुन्छ ?

पर्यटन बोर्डको अध्यक्ष पर्यटन सचिव हुनुहुन्छ । बोर्डको सहकार्य सचिवसँग हो र सचिवसँग हाम्रो कुरा भइरहेको छ । अब पर्यटन प्रवर्द्धन गरी पर्यटन विकास गर्ने विषयमा छलफल भइरहेको छ । पर्यटन मन्त्रीले बोर्डबाट यस्तो गर्नुपर्छ भन्ने कुरामा मन्त्रीले सचिवलाई निर्देशन दिने र सचिवबाट हामीलाई निर्देशन दिने कुरा भएको छ । जुन हिसाबले पर्यटन मन्त्री, पर्यटन बोर्डको कार्यकारी प्रमुख बसेर नजिकबाट काम गरिन्थ्यो । केही असमझदारी हाेला । तर मबाट भएको छैन । मन्त्रीको मातहतको एउटा निकायको कार्यकारी प्रमुख हौँ । उहाँको अन्डरमा यस्था संस्था ६०/७० वटा छन् । त्यो मध्येमा मन्त्रीलाई केही सहज बनाउनुपर्ने निकाय पर्यटन बोर्ड हो र बोर्डले समग्र नीति क्षेत्रलाई प्रतिनिधित्व गर्ने हुनाले बोर्डसँग सुमधुर सम्बन्ध भएर जानुपर्ने हो । तर मन्त्रीले कसैका केही कुरा सुन्नु भयो होला । म त्यता जान चाहन्नँ । तर म एउटा स्वीकार के गर्छु भने राज्यको यो निकायमा बस्दा यो खालको मनमुटावले राज्यलाई घाटा हुन्छ भन्ने मनन गरेको छु । मैले भएको बजेटमा बोर्डले बनाएका योजनाहरू बोर्डबाट अनुमति लिएर अगाडि बढाएको छु । मन्त्रीको निर्देशन सिधा नभएर पनि घुमाउरो पारले भएका छन् । त्यो निर्देशन पनि पालना भएका छन् । यो विषयमा सजक छु ।

अब बोर्ड पर्यटन विकासका लागि कसरी अगाडि बढ्छ ?

नेपालको पहिचान नै गलत तरिकाले गरियो । नेपाल भनेपछि सगरमाथा भन्ने गरियो । नेपालको पहिचान बदल्नुपर्छ । यो सगरमाथा कति पटक भन्छौँ ? जम्मा दुई पटक भन्छौँ । दुई वटा सिजनमा मात्रै नेपालको पर्यटन चलाउने हो भने चल्दैन । अब नेपालमा सगरमाथा मात्रै छ भन्ने होइन, हामीसँग ६० मिटरको कम उचाइकाे भूमि छ, विश्वको अग्लो स्थान पनि छ । नेपालमा सगरमाथा मात्रै नभएर अन्य कुराहरू पनि छ भनेर प्रचार गर्नसक्नुपर्‍याे । यस्तो प्रचारले एउटा निश्चित उमेर समूहका मानिसहरू मात्रै नेपाल घुम्न आए । विदेशीहरू समुद्रमा गएर बस्न रुचाउँछन् । तर हामीले कहिल्यै नेपालमा सी (समुद्र) स्यान्ड (बालुवा) र सन (घाम) को अनुभव लिन सकिन्छ भनेर प्रचार गर्न सकेनाैँ, अब त्यसरी प्रचार गर्नुपर्छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया