एकै पटकमा ‘हजारौँ’ फोन नम्बरमा एउटै सूचना दिन सकिने प्रणाली सार्वजनिक

 चैत १६, २०७८ बुधबार २०:२९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा अधारित नयाँ सञ्चार सेवा 'भ्वाइस ब्रोडकास्टिङ सिस्टम' सार्वजनिक गरेको छ । भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा सञ्चालित रहेको यो सेवाको नेपालमै पहिलो व्यावसायिक सुरुवात गरिएको रिङ्गेजका अध्यक्ष दिपेश रेग्मीले बताउनुभयाे । 

सामान्य भाषामा बुझ्दा एकै समयमा हजारौँ फोन नम्बरमा एउटै रेकर्डेड सन्देश प्रसारण गर्ने प्रविधि नै 'भ्वाइस ब्रोडकास्टिङ सिस्टम' रहेको रेग्मी बताउनुहुन्छ । प्रचलनमा रहेको बल्क एसएमएस सिस्टमको परिस्कृत संस्करण भ्वाइस कलिङ सिस्टमका रूपमा यो सेवा आएको रेग्मीको भनाइ छ । यसलाई भ्वाइस एसमएस पनि भनिन्छ ।

केही महिना अगाडि भएका राजनीतिक पार्टीका महाधिवेशनमा यो सेवाको प्रभावकारी परीक्षण गरिएको रेग्मीले जानकारी दिनुभयाे । महाधिवेशनमा उमेदवारले प्रतिनिधिहरुूसँग भोट माग्न यो सेवा प्रयोग गरेका थिए ।

चुनावमा भोट माग्न मात्र नभइ कुनै पनि कम्पनी वा संस्थाको उत्पादन, सेवा तथा गतिविधिको जानकारी दिन, बैंकिङ सेवाहरूको सूचना प्रवाह गर्न र पूजा तथा भोज कार्यक्रममा निम्ता दिनका लागि समेत यो सेवा निकै प्रभावकारी हुने रेग्मी बताउनहुन्छ । 

‘यो सेवामा कुनै पनि भाषामा आवाज रेकर्ड गरी वेब एप्लिकेशनमा अपलोड गरिन्छ’, उहाँ भन्नुहुन्छ, ‘निम्तो तथा जानकारी दिन चाहनेले आफ्नै आवाजमा सन्देश प्रवाह गर्न सक्छन् । फोन नउठेका नम्बरमा कलहरू पुनः डायल हुन्छ । अन्त्यमा त्यसकाे प्रभावकारिता रिपोर्ट वेब एपमै उपलब्ध समेत हुने भएकाले यो सिस्टम निकै प्रभावकारी छ ।’

कम्पनी स्थापनाको एक वर्ष झन्डै पाँच सय जना सेवाग्राहीलाई सेवा दिएर सिस्टमको सफल परीक्षण गरेको रेग्मी बताउनुहुन्छ । 

टेलिकमको शुल्क र कम्पनीको सिस्टमको शुल्क गरेर करसहित एउटा कलको साढे तीन रुपैयाँ खर्च लाग्ने बताइएको छ । आउँदा दिनमा टेलिकमले आफ्नो शुल्क घटाएमा त्याेअनुसार मूल्य समायोजन गरिने रेग्मीले जानकारी दिनुभयाे । 

यसै प्रविधिको प्रयोग गरी विभिन्न अनुसन्धान, पोलिङ, ग्राहकको गुनासो तथा प्रतिक्रिया सङ्कलन गर्न सकिने सेवासमेत सुरु गरिएको छ । 

यो सेवा अटोमेटेड भ्वाइससँग सम्बन्धित भएकाले अन्तर्राष्ट्रियस्तरमा समेत सेवा प्रवाह गर्ने कम्पनीको योजना रहेको छ । यसअघि कम्पनीले कोरोना महामारीकाे समयमा विभिन्न संस्थासँगको समन्वयमा सार्वजनिक सन्देश ब्रोडकास्टिङ गरिसकेको छ । एक पटकमा एकभन्दा बढी व्यक्तिहरूक‍ो पहुँचमा तत्काल पुग्नुपर्ने सूचनाको पहुँच पुर्‍याउनका लागि कम्पनीले यस्तो कदम अघि सारेको हो । 

रिङ्गेजले टेलिकम कम्पनीहरूको सहकार्यमा सेवा सञ्चालनमा ल्याएको छ । सन् २०२१ मा स्थापित कम्पनीले अहिलेसम्म ७० भन्दा बढी जिल्लामा पहुँच बनाइसकेको छ । जसमा ९२ दशमलव ७६ प्रतिशत सहभागितामा ९९ दशमलव ५६ प्रतिशत ग्राहकहरू ब्रोडकास्टमा जोडिएका छन् । 

‘भ्वाइस ब्रोडकास्टिङ सिस्टमको सेवाका लागि भूगोल र मोबाइल फोनको प्रकृतिले फरक पार्दैन । नेपालको सन्दर्भमा साक्षरता, भाषा र प्रविधिको प्रयोग चुनौतीपूर्ण छ’, भ्वाइस ब्रोडकास्टिङ सिस्टमको निर्माता कम्पनी भक्सक्रोका अध्यक्ष सुसान्त राई भन्नुहुन्छ, ‘यस्तोमा सम्बन्धित संस्था तथा सङ्गठनले सर्वसाधारणलाई उपयुक्त हुने भाषा र शैलीको प्रयोग गरी सूचना सम्प्रेषण गर्न सक्छन् । जुनसुकै किसिमका मोबाइल फोन प्रयोगकर्ताका लागि समान रूपमा उपलब्ध छ । यसो हुँदा सूचनाको पहूँच सिधा र सरल हुन्छ ।’

यो सेवाको बारेमा थप जानकारी कम्पनीको आधिकारिक वेबसाइट www.ringaze.com बाट र ९८८०५५५१११ मा फाेन गरेर लिन सकिने जनाइएकाे छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया