मतगणनामा धाँधली गरेको भन्दै कांग्रेस बाराकाे पार्टी कार्यालयमा तालाबन्दी

 चैत १८, २०७८ शुक्रबार २०:२७:४३ | जयनारायण यादव
unn.prixa.net

बारा – जिल्ला कार्यसमितिका सदस्यहरूको मतगणनामा धाँधली गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले नेपाली कांग्रेस बाराको पार्टी कार्यालयमा आज शुक्रवार तालाबन्दी गरेका छन् । 

नवनिर्वाचित सभापति राजेश राय यादव समूहले हिजाे बिहीवार रातिको सयममा मतपत्र रहेको कोठाको ताल्चा फाेडेर आफू पक्षीय कार्यसमिति सदस्यहरूलाई विजयी घोषणा गराएको आरोप लगाउँदै निर्वतमान सभापति जयचन्द्र चौरसिया र नवनिर्वाचित उपसभापति मनोज भट्ट नेतृत्वको नेता, कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नेपाली कांग्रेस बाराको १४ औँ जिल्ला अधिवेशनमा पालिकातर्फका ४३ जना जिल्ला कार्यसमितिको मतगणना प्रक्रिया चलिरहँदा निर्वाचन क्षेत्र नम्बर ४ को चार वटा मतपेटिकामा चार सय ९१ मत पत्र खसेको मुचुल्का उठाइएकोमा तीन वटा मत पेटिकाको मत गन्दा चार सय ९३ मतपत्र भेटिएपछि सभापतिका उम्मेदवार शम्भु बुढाथोकी समूहले मतगणना  स्थगित गराएको थियो ।

निर्वाचन क्षेत्र नम्बर १, २, ३ को पालिकास्तरीय जिल्ला कार्यसमितिका सदस्यहरूको मतगणना सम्पन्न हुँदा जिल्ला सभापतिमा निर्वाचित यादव समूहबाट उम्मेदवार बनेकाहरू एक मतले पछाडि परेका थिए । खसेको मतभन्दा बढी मतपत्र भेटिएको निर्वाचन क्षेत्र नम्बर ४ को फेरि मतदान गराउन नवनिर्वाचित उपसभापति भट्टले पत्रकार सम्मेलनमार्फत माग गर्नुभयो  । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया